कुरा वि.सं. २०५४ सालतिरको हो। हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा केही भूमिगत माओवादी आएर विद्यार्थीका हक अधिकारका कुरा गरे। सुरु-सुरुमा माओवादीहरु मान्छे मार्छन्, काट्छन्, वृद्धवृद्धालाई घरमा बस्न दिँदैनन् लगायतका अपुष्ट कुरा सुनेर कहिल्यै भेट नहोस् लाग्ने माओवादीसँग स्कुलमा भेट भयो। डराउँदा डराउँदै उनीहरुका कुरा सुन्नुपर्ने बाध्यता आइलाग्यो। तर, कुरा सुन्दासुन्दै डर भाग्यो।
माओवादीहरु जनताका सुविधा र अधिकारका कुरा गर्थे। सत्ताले चलाएको दमन चक्र र त्यसबाट मुक्ति पाउन युद्ध गरिएको बताउँथे। माओवादीका कुरा राम्ररी सुनेका जनताहरु आफ्नै ठान्थे। उनीहरुलाई सहयोग गर्थे।
माओवादीहरु विद्यार्थीमाझ पुग्दा उच्च तहको शिक्षा पनि नि:शुल्क पाउनुपर्ने भनेर वकालत गर्थे। विद्यार्थीहरुलाई माओवादी कार्यकर्ताका कुरा साह्रै रसिला लाग्थे। कुरा ठिक मान्नेहरु उनीहरुले स्कुलमा बनाउने समितिमा बस्थे। समितिमार्फत् नै आफ्नो अधिकारको पैरवी गर्थे। हिमशिखर मा.वि.मा माओवादीका कुरा ठिक ठानेर समितिको सचिव बसेकी थिइन्, गोमा गौतम कुँवर।
‘स्कुलमा को-को आएका थिए, थाह भएन। एकजना पृथ्वी रावत भएको कुरा सम्झनामा छ,’ उनले माओवादी आन्दोलनका सुरुवाती दिन सम्झिँदै भनिन्, ‘त्यसबेला राजनीति बुझेकाे भन्दा पनि विद्यार्थीको हक हितका लागि संगठित हुनुपर्छ भन्ने भयो। अखिल क्रान्तिकारीको सचिव भएँ।’
हल्लाले डर मात्रै बोकेर ल्याएको माओवादीप्रति उनको लागाव बढ्न थाल्यो। २०५४ सालकै कुरा हो, कमरेड आकाश(अहिले खाँडचक्रा नगरपालिकाका उपमेयर) आएर वाइसिएलको एरिया कमिटीको सचिव बनाए। स्कुलमा अखिल क्रान्तिकारीकी सचिव, गाउँमा वाइसिएल। माओवादीसँग उनको हेलमेल बड्दै गयो। डर घट्दै गयो। राज्यसत्ताप्रतिको घृणा बड्दै गयो।
चिनियाँ जनताका नेता माओका अनुसार शत्रुको शक्तिलाई कम आँक्नु हुँदैन भनेजस्तै राज्यसत्ता कमजोर थिएन। उनीहरु विभिन्न समितिमा बसेको कागजात प्रहरीले भेटायो। प्रहरीले कागजातमा भएका नामहरु खोजी गर्न थाल्यो। ‘माइनुट’मा नाम भएका मान्छे भेट्ने कोसिस गर्यो। मान्छे भेटाए मारिदिन्थ्यो।
प्रहरीमार्फत् गोमाको नाम एक्सपोज भयो। गिरफ्तार गर्न खोज्यो। उनी सानै थिइन्। संयोग भन्नुपर्छ उनको जस्तैः नाम मिल्ने भाउजु नाता लाग्ने एकजना अर्की महिला थिइन्। उनी डेलिभरी हुने भएको हुँदा गोमा जोगिइन्। धेरैले यस्ताे अवस्थाकी मान्छे कहाँ पार्टीमा लाग्छ त भन्दा गोमा गिरफ्तार हुनबाट बचिन्।
यसरी हरेकपल्ट प्रहरीको आँखामा छारो हाल्न सम्भव थिएन। गाउँमा बसिरहनु र स्कुलमा पढिरहनु असुरक्षित देखेपछि जंगल लाग्नुपर्ने बाध्यता आइलाग्यो। स्कुले झोला, कापी, कलम, आकशे रंगको सर्ट र निलाे मिड्डी कुनामा मिल्काएर बारुदसँग साइनो लगाउँछु भन्दै जंगल हिँडिन, परिवर्तनको विगुल फुक्न।
उमेर १६ वर्ष पुगेको थियो। ९ पास गरेर १० कक्षामा पढ्दै गरेकी उनी टेस्ट परीक्षा छोडेर ०५६ साल कात्तिक ६ गते औपचारिक रुपमा भूमिगत भइन्। मंसिरको टेस्ट परीक्षा, चैतको एसएससीलगायतका औपचारिक शिक्षा र योग्यताहरुभन्दा माओवादी युद्धको डिग्री प्यारो लाग्यो।
काल, परिवेशले उनलाई माओवादी युद्धमा सामेल गरायो। त्यसबेला उनी एक्लै थिइनन्। चारजना सँगै भूमिगत भएका थिए। उनीहरु भूमिगत भएको घटना गाउँ र माओवादी युद्धका लागि त्यो नौलो रेकर्ड थियो, किनकि त्यसबेलासम्म यति धेरैको संख्यामा माओवादीमा लागेकै थिएन।
सँगै भूमिगत भएकामध्ये उनी र दीपक गौतम जिवित छन्। हिमाल गौतम ०५८ साल कात्तिक २६ गते सहिद भए। मनिकेश गौतम (कमरेड पर्वत) केही वर्ष अगाडि दुर्घटनामा परेर बिते।
त्यतिबेला जनयुद्धमा लागेका कार्यकर्तालाई टिकाउन एकदम गाह्रो थियो। झन् कर्णालीमा चुनौतीको पहाड नै बनेको थियो। महिलाहरु माओवादी आन्दोलनमा एकदम कम थिए। कालीकोटमा केही महिलाहरु थिए। जुम्लामा थिएनन्। उनी एक्ली थिइन्। उनले पार्टी छोडेको खण्डमा आन्दोलनमा अरु महिला सरिक हुने सम्भावना सकिन्थ्यो। त्यसैले कार्यकर्ता टिकाइराख्न पार्टीले कार्यकर्ताबीच विवाह गराउने उपाय अवलम्बन गरेको थियो। उनी विवाह गर्न इच्छुक थिइनन्। तर, पार्टीका लागि ज्यान दिन युद्धमा होमिइसकेपछि निर्णय मान्दिनँ भन्न पनि नमिल्ने थियो।
वीरबहादुर कुँवर उर्फ कमरेड सुरेश पहाडी त्यतिबेला छापामार कमान्डर थिए। जुम्लाको पहिलो छापामार। कमरेड विप्लव, कुलप्रसाद केसी, परानबहादुर धराला लगायतको प्रस्तावमा गोमाको वीर बहादुरसँग बिहे भयो। तत्कालीन घोडेमहादेव र मालिका ठाँटा गाविसका विकट बस्तीहरु माओवादी आधार इलाकाहरु थिए। सेनाको तालिम र प्रशिक्षण हुने ठाउँमा जिन्दगीको कठिन गोरेटाेमा सँगै यात्रा गर्ने कसम खाए।
निधारमा कफन बाँधी, काँधमा बन्दुक राखेर तय गरिएको हजार माइलको यात्रा सुमधुर हुँदै थियो। तर, यात्राको आयुको भने ठेगान थिएन। दुईमध्ये कसलाई अगाडि गोली लाग्छ र को अगाडि मर्नुपर्छ भन्ने ठेगान थिएन। युद्धमा लोग्ने स्वास्नी भेट्ने वा सँगै बस्ने वातावरण हुँदैनथ्यो। चिठीहरु आदानप्रदान हुन्थे। रगतले हस्ताक्षर गरेका चिठीले जोस बढाउँथ्याे। युद्ध र प्रेम पर्याय जस्तो बनाइदिन्थ्यो। जसले विचलित नभएर थप उत्साह बढाउँथ्यो। बरु ज्यानको आहुती दिन सहज थियो तर युद्धबाट पछाडि हट्न सम्भव थिएन। कसिलो सम्बन्धले युद्धमोर्चा बलियो हुँदै थियो।
त्यसबेला महिला कमिसारको रुपमा कार्यरत थिइन्, गोमा। कमिसारलाई कम्पनीसँग समायोजन गर्ने कुरा हुँदा सेनामा नगई पार्टीको आवश्यकताअनुसार जिम्मेवारी लिँदै गइन्। मतलब उनी सेना हुने र लडाइँ लडिरहने भूमिकामा भन्दा व्यवस्थापन गर्ने तथा पार्टी बढाउने भूमिकामा सक्रिय हुन थालिन्। उनी नेतृत्वको रुपमा स्थापित हुँदै गइन्।
माओवादी आन्दोलन जनप्रिय हुँदै थियो, सेना सक्रिय हुँदै थियो। त्यति नै बेला शाही सेनाले किलो सेरा टु र रोमियो अप्रेसन चलायो। तत्कालीन सत्तापक्षले माओवादी युद्धको प्रभाव कम गर्ने अनेकन शक्ति प्रयोग गर्यो। त्यसबेला आक्रमणमा पर्ने र मर्नेहरुको संख्या माओवादीको बढी हुन्थ्यो। त्यस्ता धेरै आक्रमणमा परेकी थिइन्, गोमा पनि।
उनका लागि ०५८ साल जेठ २८ गतेको घटना सम्झन लायक छ। सम्झिँदा पनि आङ सिरिङ्ग हुने खालको त्याे कुडारी दानिबाडाको घटना हो। ‘हामी गोरख बुढाको घरमा ११ जना माओवादी कार्यकर्ताको टिम बसिरहेका थियौं। उहाँको घर ओटालो नभएको भुँइतलाबाट छिरेर माथि जाने थियो। दुस्मनले गाउँ घेरा हालेछ। सबैतिरबाट घेरा हाले पनि त्रिवेणी साइडको सानो नाका खाली छाेडेको थियो। बाहिर निस्कँदा मात्रै दुस्मन आएको छ भन्ने थाहा भयो। हामी बसिरहेको घरको छतमा पुलिस थियो। त्यसको बाहिरी घेरामा सेना थियो।’
उनले थपिन्, ‘बाँच्ने चान्स थिएन। साथीहरु कसैलाई मल बोकाएर त कसैलाई घाँस बोकाएर बचाउने काम गरेँ। अन्तिममा उनी र चुलाकोटकी रञ्जनामात्रै बाँकी रहे। म निस्किँदा घरको छतमा पुलिस थियो। उनीहरुले देखिरहेका थिए। तथापि, फायर भएन। उनीहरुको कमान्डको कुरा थियो होला सायद। तर, जब म अलि अगाडिको धारानेर पुगेँ, त्यतिबेला मेरो नाम निकालेर फायर खोलियो। त्यसपछि अन्धाधुन्ध गोली चल्यो। भाग्दा भाग्दा कमरेड विष्णुबहादुर कठायत र मलाई छर्रा लाग्यो। रगत बगिरहेको थियो। छर्रा लागेको भन्न नसकेर महिनावरी भएको भनेँ। त्यो घटनामा हामी संयोगले बाँच्यौं। त्यसैले अहिले पनि सम्झना आइरहन्छ।’
उनकाअनुसार त्याे दिन भागेका केही कमरेडहरु गरिफ्तार परे। दुस्मनले तीनजनालाई बाँजा राउलामा मार्यो। भण्डारीबाडाका कमरेड एटमलाई कुडारी पुलमा मारियो। सँगै बसेका तीनजना कमरेडहरु सहिद भए। अन्त बसेका तीन जनालाई पनि सेनाले गरिफ्तार गरेर मार्यो।
त्यतिबेला जिल्लामा प्राय: केन्द्रीय लिडरहरु आइरहन्थे। उनीहरुले दिने प्रशिक्षण नै पार्टी स्कुलिङ थियो। तहगत कमिटीका प्रशिक्षणहरु हुन्थे। कहिलेकाहीँ जनादेश पनि आउँथ्यो। प्रशिक्षण र जनादेशको बलले माओवादी युद्धको जग बलियो बनाउँदै थियो। त्यतिबेला जनादेशको सम्पादक कृष्णसेन इच्छुक थिए।
सुडी र ढिपुतिर केही माओवादी कार्यकर्ता हतियार बनाउने काम गर्थे भने केही बिग्रेका हतियारहरु मर्मत गर्थे। बारुत बनाउने काम हुन्थ्यो भने सकेट बमसमेत बन्थ्यो।
आधार इलाकामा जनतासँग पारिवारिक सम्बन्ध थियो। गाउँलेहरु कामबाट आइसकेपछि आफैँ खाना पकाउनतिर लाग्ने, सहयोग गर्ने, सँगै खाने गर्थे। दाउरा तरकारीलगायत सामग्री जनताले नै दिने गर्थे। चामल दैलेख, कालीकोटबाट आउँथ्यो।
अहिलेको माओवादी र हिजोका माओवादीमा धेरै फरक छ। अहिले कार्यकर्ताले केही गर्नै पर्दैन। त्यतिबेला प्रत्येक शनिबार श्रमदान हुन्थ्यो। आलु, सिमी, मकै लगाउने काम भइरहेका थिए। गुठीको जग्गामा बाली लगाइएको थियो।
अहिले कुडारीमा अस्पताल बनिरहेको ठाउँमा उनको नेतृत्वमा त्यतिबेला पहिलोपल्ट बदाम खेती गरिएको थियो। गुठीचौरमा लसुन खेती गरिएको थियो। त्याे कालीकोट दैलेखसम्म निर्यात गरिएको, उनी सम्झिन्छिन्।
यसरी युद्धमा कम्युनिस्ट आचरणबाट टसमस नहल्लिएको माओवादी संसदीय राजनीतिमा आएपछि भएका चुनावहरुमा पहिलो शक्तिबाट खुम्चँदै गएर तेस्रो शक्ति भएको छ। लोकप्रियता घट्दो छ। तथापि, वर्तमान प्रचण्ड नेतृत्वको सरकारका सुरुवाती गतिविधिले आशा जगाएको थियो।
त्यही आशा लिएर उनी मुगु जिल्लाको गाउँगाउँमा पुगेकी थिइन्। पाँच महिना उनी मुगुमा बसिन्। समग्रमा त्यहाँ उनले सरकारको पछिल्लो गतिविधिप्रतिको सन्तुलित बुझाइ पाइन्। विकट बस्तीमा गरिबी र बेरोजगारी अत्यधिक छ।
सरकारलाई विकट बस्ती केन्द्रित गराउन र विकासको मूलधारमा ल्याउन मन्त्रीमण्डलमा समेत उचित स्थान हुनुपर्ने मागसहित उनी संसदीय निर्वाचनमा होमिएकी थिइन्। पराजय बेहोरे पनि उनी जनताको बिचमा जान छोडेकी छैनन्। जुम्ला र मुगुका जनताको घरघरमा पुगेर लामो समय बिताएकी उनलाई अहिले पनि सत्तामा विकट बस्तीको पहुँच नपुगेको लाग्छ। त्यसैले निकट भविष्यमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा पार्टीले योगदानमा आधारित मूल्यांकन गर्नेमा आशावादी छन्।