अमेरिकामा नयाँ सिरिजका एप्पल वाच जनवरी १० सम्म उपलब्ध

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज-६, सिरिज-९ र अल्ट्रा-२ माथि लगाइएको प्रतिबन्ध जनवरी १० सम्मका लागि हटेको छ। प्रतिबन्धविरूद्ध एप्पलले गरेको पुनरावेदन स्वीकार गर्दै अदालतले अस्थायी रूपमा आदेश निलम्बन गरेको हो।

अमेरिकाको अन्तर्राष्ट्रिय ट्रेड कमिशनले एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ को आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको थियो।

एप्पलले सन् २०२० पछि उत्पादन गरेका  सिरिज ६, सिरिज ९ र अल्ट्रा २ मा मासिमो कम्पनीको पेटेन्ट राइट भएको रगतमा अक्सिजन मापन गर्ने प्रविधि जडान गरेको थियो। बिना अनुमति पल्स अक्सिमिट्री जडान गरेको भन्दै मासिमोले एप्पलविरूद्ध अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनमा उजुरी गरेको थियो। त्यही उजुरीको सुनुवाइपछि कमिशनले एप्पललाई दण्डित गरेको हो। 

कमिशनको आदेशमा अमेरिकी राष्ट्रपतिले ६० दिनमा भिटो लगाउने सक्ने भए पनि  राष्ट्रपति बाइडेनले भिटो लगाउन आवश्यक ठानेनन्। भिटो लगाउने म्याद सोमबार सकिएकाले मंगलबारदेखि एप्पलका यी घडीको आयात तथा बिक्रीमाथि प्रतिबन्ध लागेको हो।

एप्पलजस्तो प्रतिष्ठित ब्राण्डका लागि नैतिक तथा आर्थिक रूपमा यो ठूलो क्षति हो। यसबाट उसको करोडौँ नोक्सान भएको छ भने चोरीको प्रविधि प्रयोग गर्दा ब्राण्डको शाखमा पनि ठूलो क्षति भएको छ।

एप्पलले क्रिसमस तथा नयाँ वर्षको उपहारका रूपमा राष्ट्रपति बाइडेनको भिटो उपहार अपेक्षा गरेको थियो। तर, बाइडेनले त्यसो नगरेर एप्पललाई पुरस्कृत गर्न आवश्यक ठानेनन्। ह्वाइट हाउसका एक अधिकारीले भने, 'त्यसो गर्नु मासिमोको प्रविधि चोरीलाई पुरस्कृत गर्नु थियो। अमेरिका त्यसो गर्न सक्दैन।'

एप्पलले गतसाता नै आफ्नो वेभसाइट एप्पलका यी उत्पादनहरूको विज्ञापन र अनलाइन तथा स्टोरबाट बिक्री वितरण गर्न छोडेको थियो। 

एप्पलले यसअघि यी उत्पादन खरिद गरिसकेका उपभोक्तालाई भने बिक्रीपछिको सुविधा उपलब्ध गराउने जनाएको छ। उसले केही समयपछि नै यो प्रविधिको सोधभर्ना गरिने पनि जनाएको छ। 

प्रकाशित मिति: : 2024-01-02 02:35:00

प्रतिकृया दिनुहोस्