यस वर्षको शैक्षिकसत्रको दोस्रो त्रैमासिक परीक्षालगतै कतिपय हिमाली जिल्लामा जाडो बिदाको रौनक छाइसकेको छ। यसै बिचमा मेरो विद्यालयमा पनि दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यक्रम आयोजना भएको थियो।
विद्यार्थीहरु नतिजाभन्दा पनि अलि बढी ‘बिदा हुने भयो’ भनेर फुरुङ्ग थिए। उता अभिभावकमा ‘अब बिदा हुने भयो’ भनेर झन्झटसँगै टाउको दुखाइको विषय मानिरहेको अवस्था देखिन्थ्यो। हरेक अभिभावकको एकै स्वर थियो कि- ‘अब यी बालबालिका घरमा उपद्रोबाहेक अरु केही गर्ने छैनन्?’
यसो विचार गर्दा हरेक अभिभावकले लामो बिदालाई झन्झटको रुपमामात्र लिएको देखियो। के यसरी झन्झटको रुपमा लिनु ठिक हो त? बिदाका फाइदा केही पनि छैनन्? बिदाले सधैं नोक्सानीमात्र गर्दछ?
आफ्ना बालबालिकाको खुसीलाई अभिभावकले झन्झटका रुपमा नलिई एक अवसरका रुपमा लिन उपयुक्त हुन्छ। सधैं आफ्ना बालबालिका विद्यालयको घेराभित्र राखी अभिभावक खुसी हुँदा बालबालिका त्यहाँ बसेर कति दु:खी भएको हुन्छ कहिले ख्याल गर्नु भएको छ?
अब तपाईंले यति अनुमान गर्नुहोस् कि बालबालिकालाई कहिले विद्यालय नपठाई कतै घुमाउन लग्दा ऊ त्यो दिन कति खुसी हुन्छ? तसर्थ, लामो बिदा चिन्ताको विषय नै होइन। यसलाई हरेक अभिभावकले अवसरका रुपमा लिई बालबालिकाको रुची र इच्छालाई समयअनुसार बुझेर सदुपयोग गरिदिनाले उनीहरु चाँडै स्वावलम्बी र आत्मबलयुक्त हुन सक्दछन्।
बालबालिकाकाे यो लामो बिदा कसरी सार्थक बनाउने? योजना बनाउन पर्छ। यसो गर्दा बिदालाई उपलब्धिपूर्ण बनाउन सकिन्छ। तपाईंका बालबालिकाका लागि बिदालाई सदुपयोग गर्ने यी उपाय अपनाउन सकिन्छः
विज्ञानसँग सम्बन्धित क्रियाकलाप गराउनुहोस्
सुन्दा अचम्म लाग्ला अभिभावकले पनि विज्ञानका क्रियाकलाप गर्लान् र? भनेर तर अचम्म मान्नु पर्देन, अब हरेक अभिभावकले विज्ञानसँग सम्बन्धित क्रियाकलाप गर्न सक्दछन्। जस्तै, चिसो मौसम छ बालबालिकालाई पानीको अवस्थाबारे प्रयोगात्मक तरिकाले देखाइदिनुस्। हाम्रो वरिपरि पानीका तीनै अवस्था पाइने समय हो।
पहिला तताएर देखाइदिनुहोस्, बरफलाई पानी, पानीलाई वाफ। त्यसैगरी चिस्याएर पनि देखाइदिनु, वाफलाई पानी, पानीलाई बरफ हुन्छ भनि। त्यसैगरी कित्लीमा पानी उमालेर वाफको शक्तिबारे छलफल गरिदिनुहोस्।
तापका स्रोतहरु आगो र घाम तथा प्रकाशका स्रोतहरु टर्च, सूर्यजस्ता कुराहरुबारे बालबालिकासँग बसेर छलफल गर्नुहोस्। विद्युत शक्तिको उपयोगबारे घरमै प्रयोग गरिरहेका विभिन्न साधनसँग परिचय गराई दिनुहोस्।
यसरी अन्य थुप्रै विज्ञानसँग सम्बन्धित क्रियाकलापमा आफूसँगै आफ्ना बालबालिकालाई सहभागी गराउँदा बिदामात्र बिदा होइन अवसर पनि हुन सक्छ।
खेतबारीमा काम गर्दा बालबालिकालाई सँगै लैजानुहोस्
अधिकांश अभिभावक खेतबारीमा काम गर्न जाने गर्दछन्। आफूसँगै बालबालिकालाई पनि लैजानुहोस्। उसलाई त्यहाँ हरेक क्रियाकलाप प्रत्यक्षरुपमा अवलोकन गर्न दिनुहोस्। उसले जीवन्त सिकाइ सिक्नेछ।
हलो जोत्दा कति गहिरो जोत्ने सेन्टिमिटरमा भन्दिनुहोस्। जोत्दा गोरु दाँया/बाँया भन्दिनुहोस्, जसले गर्दा बालबालिकाले दाँया/बाँया सिक्नेछन्। बिउ कसरी छर्ने? माटो कस्तो खालको छ? मल कसरी हाल्ने? खेती गर्दा चाहिने सामाग्री के-के हुन्? बताइदिनुहाेस्।
स्याउका बिरुवा काटछाँट गर्ने सिजन आएको छ। त्यहाँ पनि बालबालिकालाई सँगै लिनुहोस्। यी सबै कुरा आफू गर्दै र आफूसँगै बालबालिकालाई सिकाउँदै लैजानुहोस्। यसो गर्दा पाठ्यक्रममा पढेका कतिपय कुराहरु प्रयोग गरेर अनुभव गर्न पाउँछन्।
यति गर्दा विद्यालय खुलेपछि बालबालिकाहरु आफ्ना साथीहरुसँग ‘मैले त यो काम गरेँ, मलाई अब यति काम गर्ने आउँछ’ भनेर गर्व गर्दछन्।
रमाइला सामाग्री पढाउने
बालबालिकालाई बिदाको समयमा कम्तिमा पनि १०-१५ मिनेट जति किताब पढ्न लगाउनुहोस्। अझ सकिन्छ भने पहिला आफू वाचन गर्ने र बालबालिकालाई सुन्न लगाउने अनि पछि उनीहरुलाई नै पढ्न लगाउने गर्नुहोस्।
यसरी दैनिक १०-१५ मिनेट पठन क्रियाकलाप गर्दा पठन र सुनाइ सीपको विकास हुने गर्दछ। यसो गर्दा बालबालिकामा एकछिन् भएपनि किताब पढ्ने बानीको विकास हुन्छ। जसले गर्दा विद्यालय खुलेपछि शिक्षकले कसले राम्रोसँग पढ्न सक्छ भन्दा बालबालिका निर्धक्करुपमा हात उठाएर ‘म पढ्न सक्छु सर’ भन्नेछन्।
गीत-कथा सुन्न र गाउन लगाउनुहोस्
तपाईंलाई थाहा छ, बालबालिका कथा भनेपछि हुरुक्कै हुन्छन्। त्यसैले अरुबेला नभए पनि बेलुका खाना खाइसकेपछि बालबालिकालाई रमाइला गीत-कथा सुनाउनुहोस्। जसले उनीहरुलाई मनोरञ्जन दिन सक्छ साथै आफूले भनेको कथा वा गीत उनीहरुलाई सुन्न लगाउनुहोस्। सुनिसकेपछि बालबालिकालाई भन्न र गाउन लगाउनुहोस्।
यसले गर्दा बालबालिकाको सुनाइ र बोलाइ सीपको विकास हुने गर्दछ। हाम्रा विद्यालयमा हाल कार्यान्वयनमा रहेको स्थानीय पाठ्यक्रमलाई समेत यसले ठुलो सहयोग पुग्नेछ।
भान्सामा आफ्नो सहयोगीका रुपमा राख्नुहोस्
सधैंजसो बालबालिकालाई पढ्ने लेख्नेमात्र काम दिँदा उनीहरु दिक्क मान्छन्। उनीहरुको उमेरअनुसारको सक्दो काम पनि सिकाउनु पर्दछ। यसो गर्दा उनीहरुलाई रमाइलो पनि हुन्छ र धेरै किसिमका काम पनि सिक्दछन्।
तसर्थ, बालबालिकालाई आफूसँगै भान्सामा राख्नु पर्दछ। भान्सा कोठामा धेरै सिकाइका विषयवस्तुहरु हुन्छन्। जस्तै, भान्सामा प्रयोग हुने भाँडाहरुका नाम, विभिन्न परिकाहरु बनाउने विधि, भान्सा कोठा सफा गर्ने तरिका आदि थुप्रै कुराहरु आफ्ना बालबालिकालाई सिकाउन सकिन्छ।
छिमेकी कहाँ लैजानुहोस्
विद्यालय बिदा भएको बेला बालबालिकालाई पारिवारिक एवम् सामाजिक वातावरणमा घुलमिल गराउने अवसर पनि हो। टाढा-टाढा रहेका आफन्तसँग भेटघाट गराउनुहोस्। उनीहरुबीच अन्तरक्रिया गराउनुहोस्। जसले गर्दा बालबालिकाले आदर, सत्कारसँगै नाता-सम्बन्धसमेत सिक्ने अवसर प्राप्त गर्दछन्।
विद्यालयमा हाल कार्यान्वयनमा रहेको पाठ्यक्रममा पनि यस्ता पारिवारिक कुराहरु धेरै राखेको पाइन्छ। बाबा, हजुरआमा, काका, मामा आदि यससँग सम्बन्धित विषयवस्तु पनि राखिएका छन्। जुन कुरा व्यवहारिकरुपमा तपाईं यो बिदाको समयमा सिकाउन सक्नुहुन्छ। यसले गर्दा बालबालिकाले शिष्टाचार र परम्परागत रीतिरिवाज सिक्ने मौका बढी पाउँछन्।
बालबालिकालाई घुमाउन लैजानुहोस्
तपाईं हाम्रो गाउँ, सहरनजिक घुम्न लायक थुप्रै ठाँउहरु छन्। बालबालिकालाई पनि मिलाएर टाढा नभएपनि आफ्नै वरिपरिका ठाउँहरु घुमाउन लैजानुहोस्। बालबालिकालाई यसरी घुमाउँदा थुप्रै कुरा हेरेर देखेर नै सिक्न सक्दछन्। यसरी सिकेको कुरा बालबालिकाले दिगोरुपमा धारण गर्ने सक्ने हुन्छन्।
प्रकृतिसँगै साक्षात्कार गरिराइदिनुहोस्। बजारमा सामान खरिद गर्ने क्रममा बालबालिकालाई प्रयोग गर्नुहोस्। कुनै मठमन्दिरको भ्रमण गराइदिनुहोस्। सधैं आफूमात्र सामाजिक सञ्जालका लागि नघुमेर आफ्ना बालबालिकाको लागि यो बिदामा समय उपयोग गर्नुहोस्।
साथीसँग मिलेर खेल्न सिकाउनुहोस्
बिदामा बालबालिकालाई आफ्नो छिमेकमा रहेका उमेर मिल्दा साथीहरुसँग खेल्न सिकाउनुहोस्। यसरी मिलेर खेल्ने बानीले ठुलो हुँदा पनि सबैसँग मिलेर काम गर्न सक्दछन्। जसले गर्दा बालबालिकामा समूहमा मिलेर बस्ने, खाने र खेल्ने व्यवहारको सीप विकास हुने गर्दछ।
बेला-बेला यस्तो वातावरण मिलाइदिँदा उनीहरु विद्यालय समयमा पनि साथीहरुसँग मिलनसार व्यवहार गर्न थाल्छन्।
यसरी विद्यालयले बालबालिकालाई निश्चित पाठ्यक्रममा रहेर उनीहरुको समग्र व्यक्तित्व विकास गर्ने कोसिसमात्र गरिरहेको हुन्छ। अभिभावकले पनि त्यसका लागि आफ्नो तर्फबाट बालबालिकाको सीप तथा व्यवहार विकास गर्न सक्दो प्रयास गर्नु पर्दछ।
बिदालाई राम्ररी उपयोग गर्ने सकिने हो भने बालबालिकाले थोरै समयमा धेरै कुराको सीप आर्जन गर्न सक्छन्। तसर्थ, लामो बिदालाई झन्झटका रुपमा नलिई अवसरका रुपमा लिनु पर्दछ। मेरो सबै अभिभावकलाई यही आग्रह छ।
(लेखक हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनी नेतृत्वमा आएदेखि विद्यालय नमुनाको रुपमा परिचित छ। जहाँ विद्यार्थीले बालमैत्री वातावरणमा व्यवहारिक र पाठ्यक्रममा आधारित ज्ञान हासिल गरिरहेका छन्।)