माननीयज्यूहरु, चुनाव जितेर गएपछि जुम्लीका सपनाहरु बिर्सिएकाे हाे?

Breaknlinks
Breaknlinks

नियमित काम सकेर फेसबुक खाेलेकाे थिएँ। देखिहालेँ- जनताले जनप्रतिनिधिहरुमाथि उठाएका प्रश्न, गुनासा र आक्राेशहरु। ती प्रश्न गर्नेहरु अरु काेही थिएनन्, म निर्वाचन लडेकाे जुम्ला प्रदेश निर्वाचन क्षेत्र नं. (क)का युवाहरु थिए। खुसी लाग्याे, जे हाेस् जनता जागेछन्, आफ्नाे ठाउँकाे समृद्धि, भाग्य र भविष्यकाे लागि। ती प्रश्न गर्ने युवाहरुलाई धन्यवाद।

निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ। गत वर्ष ठिक यतिबेला (मंसिर)मा हामी उम्मेदवाहरु गाउँ-गाउँमा समृद्धिका नयाँ आशा र सपनाहरु बाँडिरहेका थियाैँ। जनताले पनि नयाँ आशा र अपेक्षा गरिरहेकाे महसुस मैले गरेकाे थिएँ।

निर्वाचनकाे समयमा जति पनि गाउँमा पुगेँ। जति पनि समुदाय, वर्ग, तह र तप्काका मानिसहरुसँग भेटेँ। उम्मेदवारको तर्फबाट र पार्टीको तर्फबाट घोषणापत्र अनुसारका कुराहरु जनताको बिचमा राख्दै गर्दा जनतालाई ठुला-ठुला कुरा केही चाहिएको थिएन, बस उहाँहरुलाई दैनिक जीवनसँग जोडिएका कुराहरु छिटोछरितो र सहज ढङ्गले आपूर्ति, व्यवस्थापन स्थानीयस्तरमै भएको हेर्न चाहेको कुरा सजिलै बुझ्न सकिन्थ्यो।

भने, अर्कोतर्फ विगतका प्रतिनिधिहरुले चुनावताका बोलेका वाचाहरु पूरा नगरेर धोका पाएका जनताले माथिहरुमाथि पनि श‌ंका व्यक्त गरिरहेका थिए। उनीहरुकाे अनुहारमा हामीलाई प्रश्न र खबरदारी गरिरहेका दृश्यहरु देखिन्थे। ती अनुहारहरुकाे याद अहिले झलझली आइरहेकाे छ।

जनताले मंसिर ४ मा मत दिँदै गर्दा आफ्नो भाग्य र भविष्य देख्दै थिए। भने, अर्कोतिर देशको समृद्धि पनि। सँगसँगै उही पुरानै शंका, फेरि पनि धाेका हुने त हाेइन?

अहिले हामी निर्वाचन सकिएको एक वर्ष पार गर्दै अर्को वर्षमा प्रवेश गरिसकेका छौं। यो एक वर्षेमा हामी जनतासँग कति नजिक भयौँ? जनताको आवाजलाई सदनमा कति राख्यौँ? त्यसको सुनुवाइ के कति भयो? जनतामाझ गरेका विगतका वाचा कति पूरा गर्न सकियो र कति प्रक्रियामा छन्? र, प्रक्रियाको कुन चरणसम्म पुगेका छन्? सँगसँगै पूर्वप्रतिनिधिहरुले अपुरा छोडेका आयोजनाहरुलाई कहाँसम्म पुर्‍याइयो? हामीले घोषणापत्रहरु पनि सार्वजनिक गरेका थियौं, ती रङ्गिन सपना बाँडेका घोषणापत्रका बुँदाहरु कार्यान्वयनका लागि कहाँसम्म पुगे? यी र यस्तै कुराको समीक्षा गर्ने बेला भएनर? मलाई लाग्छ भयो। समीक्षा गम्भिरतापूर्वक गर्नुपर्छ।

हिजो मैले पनि जनताकाे बिचमा थुप्रै कबुल गरेको थिएँ। सडक, यातायात, खानेपानी, बिजुली, सञ्चार, शिक्षा, स्वास्थ्य, पर्यटन, जडिबुटी, जनताका दैनिक आइपर्ने समस्याहरु, जिल्ला र सीमाना जोडिएका जिल्लाबीचको सम्बन्ध तथा सडक सञ्जालमा सामूहिकतालगायतका कुराहरु जनताका बिचमा राखेको थिएँ। स्थानीय सरकार, जिल्ला समन्वयलगायतका तत् तत् सम्बन्धित सबै निकायहरूसँग जिल्लाको विकास र समृद्धिका लागि पहलकदमी गर्ने कुरा राखेको थिएँ। सामाजिक सांस्कृतिक कुराहरु, साइकलिङ् मार्गको कुरा आफ्नो घोषणापत्रमा प्रस्तुत गरेको थिएँ।

आज म जनताको कुरा राख्ने सदनमा छैन। न त आफ्ना कबुलहरु पूरा गर्ने भूमिका छु। तर, यति भनेर पन्छिन खोजेको भने होइन। मैले जनताका दैनिकीसँग जोडेर आफूले गर्नुपर्ने कर्तव्यबाट विमुख भएको छैन। आज पनि जनताकै बिचमा छु। जनताका गतिविधिसँग साक्षत्कार छु। जनताका प्रश्न मेरा पनि प्रश्न हुन् र हुनुपर्छ।

मलाई खुसी लागेको छ, केही युवाले जुम्लाका विभिन्न ठाउँमा साइकलयात्रा गरेका तस्बिरहरु देख्दा। एकातिर साइकल मार्गको खाँचो र अर्कोतर्फ पर्यटनको प्रचार गरेको कुरा देख्दा। धन्यवाद छ, तपाईं युवाहरुलाई। हिजो मैले यही साइकलिङको कुरा घोषणापत्रमा राख्दा यस्तो पनि भन्नेहरुलाई तपाईंहरुले जवाफ दिनुभएकोमा। आभारी पनि छु।

तातोपानी गाउँपालिकाले पर्यटनको क्षेत्रमा गिडीदह चिनाउन जुन गतिविधि गर्दै आएको छ, त्याे सराहनीय छ। यसबाट अरुले पनि स्थानीय तहबाट पनि केही गर्न सकिन्छ भन्ने राम्रो उदाहरण लिन सकिन्छ। यस्ता थुप्रै काम अरु गाउँपालिकाहरुले पनि गरेका छन्।

तर, जनताले भनेकोजस्तो र हिजो हामीले बाँडेकोजस्तो सपनाका पुलिन्दाहरु हाम्रा माननीयहरुले के कति गरे वा गर्न सकेनन्? त्यो समीक्षा जनताले गर्नैपर्छ। एउटा आयोजना प्रक्रियागत ढंगले अगाडि बडेको छ, जो हुनेवाला छ। त्यस्तो काम मैले गरे भनेर सामाजिक सञ्चाल रङ्गाउने काम थुप्रै देखियो। खासमा कसले पहल गरेको हो भन्ने पनि रनभुल्ल हुनेगरी मैले-मैले भनेर डङ्कार फिजिएका दृश्यले त्यो पद र मर्यादाको खिल्ली उडेको छ। लज्जित तुल्याएको छ।

माननीयहरु जनताको काम गर्न भनी निर्वाचित भएका हुन्। जनताका काम गर्नु, जनताको कुरा सदनमा राख्नु, जनपक्षीय नीति/नियम बनाउनु, जनताका समस्याहरुको समाधानका लागि विभिन्न निकायसँग छलफल, परामर्श गर्नु र सहजीकरण गर्नु उनीहरुको कर्तव्य हो। यही काम गर्नकै लागि पठाएको हो। अब भन्नुहोस् ‘यो काम मैले गरेँ’ भनेर प्रचार गर्नुको कुनै तुक रहन्छ? अवश्य रहँदैन।

हिजो जिल्ला छोडेर, देशै छोडेर बाहिर गएका जनतालाई ‘जिल्लामा रोजगारीका चाङ’ दिन्छु भन्नेले आज दिनप्रतिदिन जिल्लामा युवा रित्तिँदै गएको कुरा स्मरण गर्नुभएको छ कि छैन? हिजो ‘जुम्लालाई कायापलट गर्न योग्य मबाहेक अर्को छैन’ भन्दै हिँड्ने मेरा माननीयज्यू आज नुनकाे लागि लाइन बसेकाे देख्नु भएकाे छ कि छैन? कालेपत्रो सडक र पक्कीपुलको त कुरै छोडौँ, जनताले जेनतेनले बनाएको काठे पुल भत्किएर आवतजावतमा समस्या भएको कुराले मन पोल्छ कि पोल्दैन? बसपार्क निर्माण भइसक्दा बसपार्कमा बस राखिँदैन, सधै‌ंको राजमार्गको स्तर वृद्धि उस्तै छ, चाडबाडको बेला हवाईजहाजको स्थिती उस्तै छ, भइरहेका विकासका कामहरुमा माननीयज्यूहरुको अनुगमन भएको देख्दा खुसी लागेको छ। तर, व्यवसायीहरुले काम सकिँदा पनि भुक्तानी पाउन सकेका छैनन्। कार्यलयहरुले बजेट निकासीमा समस्या झेल्नुपरेको छ। बजेट निकासाका लागि पहल भयो कि भएन?

पूर्वमाननीयले ल्याएका राम्रा कुरा जुम्ला र कर्णालीको हित अनुकुलका विधेयक सदनमा अलपत्र नै छन् कि कतै अगाडि बढाउने सोचमा हुनुहुन्छ? त्यस्तै जुम्लाको कराेडौं लगानी भएर निर्माण पूरा हुन नसकेका आयोजनाहरु अलपत्रै छोड्ने हो कि, त्यसलाई पुन:निर्माण गरेर, व्यवस्थापन गरेर प्रयोगमा ल्याउने हो? यस्ता थुप्रै अनुत्तरित प्रश्नहरु छन्, जसको उत्तर कहिले दिने?

अहिलेको परिवर्तन अथवा लोकतान्त्रिक गणतन्त्रको मुल मर्म भनेको जनताको दैनिकीलाई सहज बनाउन सक्नु हो। त्यसैले जति पनि व्यवस्थाका आन्दोलन वा क्रान्ति भएका थिए र नयाँ व्यवस्था प्राप्त गर्नु ठुलो कुरा होइन? व्यवस्थाले जनताको अनुभूतिमा परिवर्तन हुनुपर्छ। देश भनेजस्तै असाध्यै कमजोर दयनीय अवस्थामा गइसकेको छैन, अझै पनि देश चलेर जान सक्ने अवस्थामा छ। त्यसलाई कायमै राख्न सकिन्छ। अहिले हामीले प्राप्त गरेको व्यवस्था लोकतान्त्रिक व्यवस्था हो। संसारमा लोकतन्त्र जतिको उत्तम व्यवस्था अरु कोही हुनै सक्दैन र होइनन् पनि। तर, नेपालमा किन दिनानुदिन लोकतन्त्र विराेधी आवाजहरु उठिरहेका छन्?

यो एक वर्षमै हाम्रा माननीयहरुका गतिविधि, नेता र नेतृत्वहरुका गतिविधि तथा स्थानीय तहदेखि संघ सरकारसम्मका गतिविधिहरु, सरकार संचालन, पारदर्शीता जबाफदेहिता, विधिको शासन जनताको अनुभूतिको सरकार बन्न नसकेकोले जनतामा व्यापक नैरश्यता छ। यति छोटो अवधिमै हाम्रा गतिविधिले गर्दा जनता विकल्पको रूपमा खोजी गर्दैछन्।

युवाहरु देशमा छैनन्। वृद्ध र बच्चाहरुमात्रै देशमा छन्। देश अराजकताको अस्थिरताको चङ्गुलमा छ। र, म के कुरामा पनि विश्वस्त छु भने आमूल परिवर्तन हतारिएर हुने होइन वा कसैले फुक्दैमा हुने होइन। परिवर्तनको निम्ति जनतामाझ भिजिरहनुपर्छ। राजनीति गरिरहनुपर्छ। ठुलठुलो स्वरमा बोलेर, आकर्षक र उग्र कुरा फलाकेर परिवर्तन सम्भव छैन। अत: बहुमत जनताको पक्षमा सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ। जनतामा सुझबुझको खाँचो हुन्छ। अब जनता सचेत हुनैपर्छ।

तसर्थ, लोकतान्त्रिक व्यवस्थामा जनतालाई जनप्रतिनिधिहरुले ठग्न पाइँदैन। चुनावको बेलाका आफ्ना कबुलहरु कति पूरा भयो? कति प्रक्रियामा छ? कति हुन सकेन? प्रष्ट पार्नुपर्छ। हाम्रा चुनावी घोषणापत्र कहाँसम्म पुगे? आज जनताको जीवनस्तरमा पुग्न सक्यो कि सकेन वा कुन डस्टबिनमा कोचिएको छ? वा जाडो समय आउँदैछ न्यानोका लागि बालेर आगोको लागि प्रयोग हुने अवस्थामा छन् र त्यही आगोको मुस्लो सँगै धुवाँले उडाउने हो, त्यो हेर्न केही वर्ष अझ कुर्नै पर्छ। आशा छ, हाम्रा माननीयहरुले जनताको बिचमा गरेको वाचा भुल्ने छैनन्। जनता अझै आशावादी छन्।

प्रकाशित मिति: : 2023-12-17 19:15:00

प्रतिकृया दिनुहोस्