उर्लाबारीमा चासोक तङ्नामको तयारी सुरु 

तेजन खड्का

उर्लाबारी

मोरङको उर्लाबारीमा लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको तयारी सुरु भएकाे छ।

प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन। यसपटक पुस १० गते चासोक पर्व परेको छ। चासोक पर्वको अवसरमा उर्लाबारीस्थित आम्बारीमा पाँच दिने सांस्कृतिक कार्यक्रमसहित महोत्सवको आयोजना गरिने किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताए।

खेती प्रणालीको विकाससँगै लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ।

चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ। सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्यलाई पुजिन्छ। चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो।

लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता)नै मान्दै आएका छन। चासोक तङ्नाम पैँयु फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम दक्षिणायणको न्वागी पर्व चासोक तङ्नाम पर्वका रुपमा मानउने गर्दछन्। लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी)लाई अर्पण गर्नु भन्ने हुन्छ। तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ। ‘तङ्नाम’ले पर्व चार्ड अर्थात् उत्सव जनाउँछ।

लिम्बू मुन्धुम शास्त्रअनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो। यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे। यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी)लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ। प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला)ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन्।

आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। त्यसपछि मानिसले स्वास्थ्यर्द्धक खाद्यान्न पाउन थाले। यसपछि प्रकृतिसहित खाद्यान्नको बिउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई स-धन्यवाद आफूले नखाइ चोखो अन्न अर्पण गर्न थालियो। यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बू समुदायमा रहिआएको छ।

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ। चासोक पूजा आ-आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्ने गरिन्छ। फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन्। खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ। फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ।

चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ। यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ। यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ। ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा आयोजना गरिन्छ।

मंसिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ। यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ। विशेष गरी राई, लिम्बू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ।

प्रकाशित मिति: : 2023-12-12 13:09:00

प्रतिकृया दिनुहोस्