मान्छे जब वैवाहिक जीवनको सुरुवात गर्छन् तब योजना बनाउने गर्दछन्। हाम्रो बच्चालाई यो बनाउने त्यो बनाउने। यस्तो गर्ने, उस्तो गर्ने। अझ यो भन्दा अघि यस्तो नाम राख्ने भनेर पनि निर्णय नै गरिहाल्छन्। भविष्यको योजना एउटा घरको कोठामा रहेको बिस्तारामा बसेर यति मजाले श्रीमान-श्रीमतीले बच्चाको भविष्यको रुपरेखा कोरिसकेका हुन्छन्।
समयअनुसार जब बच्चा जन्मिन्छ, तब तिनीहरुको वास्तविक परीक्षा सुरु हुन्छ। योजना अनुरुप कार्यको थालनी गर्छन् या गर्दैनन् त्यो कतिको हकमा लागू हुन्छ, कतिको हकमा लागू हुँदैन।
बालबालिकाको सिर्जनशीलताको हत्याको क्रम उनीहरुले गर्ने काममा जब हामी अंकुश लगाउँछौं तब त्यहिँबाट सुरु हुन्छ। हरेक बालबालिकाको सिर्जनशीलताको हत्या हुन थाल्छ। केही हत्या त्यस्ता हुन्छन् जुन कानूनी दायरामा आउँदैनन्। यस्ता हत्या कानुनको नजरमा दोषी देखिँदैन। हो, बाल सिर्जनशीलताको हत्या यसै अनुरुपको हत्यामा पर्दछ।
यस्ता हत्या हाम्रो घर अनि विद्यालयमा व्यापक रुपमा हुने गरेको पाइन्छ। यी त्यस्ता दुई ठाँउ हुन् जहाँ बालबालिकाको सिर्जनशीलताको स्वभाविकरुपमा विकास हुन्छ। तर, यी दुई ठाँउमा नै उनीहरुको सिर्जनशीलतालाई रोक्ने, विकृत गर्ने, अनि निर्मुल गर्ने गर्ने काम हुन्छ।
धुलोमा अक्षर लेखिरहेको बालबालिका, हिलोको लड्डु बनाइरहेको बालबालिका, माटोको रोटी बनाइरहेको बालबालिका, माटोको घर बनाइरहेको, झ्याल ढोका बनाइरहेको, सडक छेउमा आफैँले बनाएको गाडी गुडाइरहेको, भुँइमा पोखिएको पानी होस् या दुधमा औंला चोपेर चित्र बनाइरहेको बालबालिका, पिठोले लतपतिएको पञ्जाको छाप भित्तामा छोपिरहेको बालबालिका, कोइलाले भित्तामा बाङ्गाटिङ्गा रेखा हाली कार्टुन चित्र बनाइरहेको बालबालिका, हातमा कैँची लिएर आफ्ना वा अर्काको कपाल काटिरहेका, सँगै कागज वा कपडा काटेर थरीथरीका ज्यामितीय आकार बनाइरहेका बाल सिर्जनशीलता हुन्। जसलाई उदाहरणका रुपमा लिन सकिन्छ।
यदि हाम्रो ध्यान बालबालिकासामु पुगेको छ भने बालबालिकाले ताली बजाएको, नाचेको, गीत गाएको, कुदेको, घरमा भाँडा मिलाएको, फूल सजाएको, किताब मिलाएको, घरमा आएका पाँहुनाको जुत्ता-चप्पल मिलाएको, आफ्नै छायाको नक्कल गरिरहेको बालबालिका देखेका छौं।
हामीले ध्यान दिएर हेर्यौँ भने बालबालिकाले भाँडा खसाल्दा त्यसको आवाज ठम्याइरहेको, घण्टी बजाएर टेबुल ठटाएर, त्यसको संगीत सुन्ने कोसिस गरेको देख्छौं। बालबालिका यी तमाम कार्यहरु बाल सिर्जनाका व्यक्त वा अव्यक्त स्पष्ट वा अस्पष्ट तर सुन्दर नमुना हुन। यसमा कहिँ संगीत छ त कतै साहित्य छ। कतै कला छ, त कहिँ इन्जिनियरिङ नै छ।
समग्रमा STEAM छ।
भन्नुको तात्पर्य S=Science, T=Technology, E=Engineering, A=Arts र M=Mathematic यति कुरा बालबालिकाले अति शुक्ष्म तरिकाले गर्दै गइरहेको हुन्छन्। जसको पत्तो न अभिभावकले, न घरले न त विद्यालयले नै पाएको हुन्छ।
एकपटक आफ्नै घरलाई हेरौं अनि यस कुरामा छानबिन गरौं त। त्यहाँ बाल सिर्जनशीलताको अवस्था कस्तो छ? तपाईं जुनसुकै परिवारमा गएर हेर्नुहोस्, यस्तो सुन्नु हुन्छ, तैँले यी पिठोको मुसा किन बनाइस्? कति भाँडामात्र बजाउँछस्? कति गीत गुनुगुनाइरहेको छस्? मेरो त कानै फुटिसक्यो। खुब गायक बन्ने भइस्, गधा! हत्तेरी यो केटाले कोइलाले लेखेर भित्तानै कालो बनायो। पख पछि तेरो बाबालाई भन्दिन्छु!
आम्मा यो केटाले कति धुलो खेलेको, यता मर! आउँछस कि भोलि मास्टरलाई भन्दिउला? पढ्ने भए पढ् नत्र मर। ल यो किताब!
हरे यो केटाले बाबाको कपडा र जुत्ता लगायो। पख न पख तेरो ढाड भाँचेपछि ठिक हुन्छस्। आदि आदि क्रियाकलाप हामी, तपाईंको घरमा हुने गर्दछन्।
अब एक चोटी विद्यालयतिर जाऔँ। जहाँ बालबालिकाको सिर्जनात्मक क्षमताको हत्या कसरी हुन्छ? घरको तुलनामा विद्यालय बाल सिर्जनाको हत्या गरिने अझ ठुलो वधशाला हो भने पनि न्याय होला। घरमा बालबालिकालाई स्वतन्त्रता मिल्छ तर विद्यालयमा स्वतन्त्रता भन्ने कुराको थोरै पनि गुञ्जायस हुँदैन।
विद्यालयले भन्छ 'मात्र पढ् लेख, होमवर्क गर, रट पूरै विषय रट।' यसमा सिर्जनशीलता कहाँ छ? जहाँ कुनै अर्थ बिना, कुनै रुचि बिना, कुनै अनुभव बिना सुगा रटाइमात्र लगाइन्छ। जब बालबालिका आफ्नो घरको अनुभव विद्यालयको कक्षाकोठामा यसरी बाँड्न थाल्छन् जसले गुरुलाई सही नसक्नु हुन्छ। उनी भन्न थाल्छन् म भन्छु तँ लेख। अनि गुरु भन्न थाल्छन क...कमल, ख...खरायो, ग...गमला,....घ......च.....छ...शिक्षक कविता रटाउन थाल्छ।
विद्यार्थी कक्षाकोठाको चार भित्ताभित्र कैद हुन्छ। दुर्भाग्यवश खोलिएका झ्याल पनि गुरुले बन्द गरिदिन्छन्, पढाइमा ध्यान जाँदैन भनेर। जुन विद्यालयमा बालबालिकाका लागि पर्याप्त बस्ने डेस्क/बेञ्च छैनन्। बस्नका लागि ठेलमठेल गरिरहेका हुन्छन्। भाँचिएका कुर्ची टेवल असरल्ल पल्टेको कालोपाटी थोत्रो डस्टर, धुलाम्य कक्षाकोठा आदिले त झन् त्यहाँको वातावरण नै कुरुप पारेको हुन्छ। त्यस्तो विद्यालयमा संगीत तथा शिल्पकारिताको विकास सम्भव हुन्छ? अनि त्यहाँ नवीन सिर्जना कसरी हुन्छ?
तसर्थ, सिर्जनशीलता न पाठ्यक्रममा छ न त यसको कुनै पावन्दीमा। यदि यस्ता विविध प्रकारका बाल सिर्जनामा अभिभावक र विद्यालयले ध्यान नदिने हो भने यो चक्र निरन्तर रुपमा चलिरहनेमा कुनै शंका नै रहँदैन। यसरी हालसम्म कयौँ बालबालिकाहरुको सिर्जनशीलता घर तथा विद्यालयबाटै हत्या हुँदै आइरहेको छ। जसले गर्दा बदलिँदो समयअनुसारको असर शिक्षामा पनि परेको देखिन्छ।
(लेखक हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनले नेतृत्व गरेको स्कुलमा बालमैत्री वातावरणमा अध्यापन भइरहेको छ।)