‘यसपालि चौरासी लागेँ। आँखा थोक्कै बसेका छन्। स्मरण शक्तिमा असर छैन। तर, कहिलेकाहीँ भुल्छु। सम्झिन उस्तो सक्दिनँ। कान सुन्छु। बजार आएको बेला तिमीलाई नभेटी फर्किन मन लाग्दैन।’
भेट हुने बित्तिकै, ‘घरमा के कसो छ?’ भनेर सोध्दै आफ्नाे बारेमा यति सुनाए।
मंसिर ७ गते बिहान तुङ्गनाथ उपाध्यायको फोन आयो। उनले आफू बजार आएको खबर सुनाए। हामी व्यस्त थियौं। म व्यस्तताबाट उम्किन सकेँ। उनीसँग मौकाले भेट हुने हो। मलाई सिंजा लुड्कुसम्म जाने मेसो मिल्दैन। बजारसम्म आउन बूढो मान्छेलाई अनेक कष्ट छन्।
त्यसमाथि लाग्दै हिउँद उनी जुम्ला छोड्छन्। स्वास्थ्यको राम्राे ख्याल गर्न सकेका कारण उनी जिउँदा छन्। उनी जिउँदा भएकै कारण इतिहास जिउँदो छ। बिर्सना लागेको सिंजाको इतिहासको पुन: लेखाजोखा हुन थाल्छ। उनी सम्पत्ति हुन हाम्रा।
सिंजाका पुराना कुरा बेलाबखत उनकै मुखबाट सुन्न पाइन्छ। बेलामौकामा भेट हुनलाई संयोग जुरिरहने हुनाले होला उनी सुनाउन उत्सुक देखिन्छन्। उनको दिमाग हालसम्म अलिखित कयौं दस्तावेजहरुको संग्रह हो। म सुन्नलाई समय मिलाउने कोसिस गर्छु। कास यो संग्रह बाहिर निकाल्न पाए!
अग्लो कद, अग्लाे नाक, गोरो वर्ण, मिजासिलाे स्वभाव, रसिला कुरा गर्ने हुनाले तुङ्गनाथ उपाध्यायसँग भेट भइरहोस भन्ने लाग्छ। भेटमा केही सुनाइदिए जस्तो लाग्छ। कहिलेकाहीँ फोनबाट पनि केही कुरा सुन्न पाए हुन्थ्यो जस्तो लाग्छ।
कहिलेकाहीँ फोन गर्छु। आवश्यक परेको जान्नलाई सोध्छु। सम्झेको उतिबेलै सुनाउँछन्। बिर्सेका रहेछन् भने सम्झेपछि आफैँ फोन गरेर सुनाइदिन्छन्। गुन लगाउन सक्ने विशाल हृदयका उनीले बदलामा केही खोज्दैनन्।
एउटा पछुतो उनको मनमा सधैंलाई छ, त्यो हो यति धेरै जानकारी भइकन पनि आफ्नो नामको एउटा पुस्तक प्रकाशन गर्न सकिएन। त्यसैले उनी बेलाबेला भनिरहन्छन्, ‘म त पलाँसको फुल भइगएँ। जसको बासना ने हुँदैन।’ तर, उनी समाजका लागि मगमगाउँदा फूल हुन्। जसको सुवास उनी नहुँदा पनि आइरहन्छ।
असिम आत्मिएता प्रदर्शन गर्ने सक्ने खुबी छ, उनमा। त्यसैले होला हामी असाध्यै निकट छौं। भेट नहुँदा पनि हामी सकेको सम्बाद गर्छौं। रुखै भएपनि उनका कुरा रसिला लाग्छन्। उसै पनि कसैलाई रुखो व्यवहार देखाउने मान्छे होइनन्। बरु समाजलाई बाटो देखाउने मान्छे हुन्। नयाँ पुस्तालाई बाटो देखाउने सोच राख्छन्। त्यसैले होला, पचास वर्ष बढी उमेर अन्तर भएका हामी दुई साथी जस्ता छौं।
उनी जवानीमा खेल्न गएको कुरा खुलेर सुनाउँछन्। माया, प्रीति बसेको सम्झिन्छन्। भावुक हुन्छन्। पिरतीको रस सम्झिन्। गोठमा खेल्दा खेल्दै लाएको पिरती सम्झिन्छन्। प्रेमिका सम्झिन्छन्। त्यतिबेला हालेका गीत सम्झिन्छन्।
पाटनका पल्ला छोड, भेडीले भ्या गर्यो।
हित्त मिल्याे, चित्त बुझ्यो, जातले क्या गर्यो??
वारि लुड्कु पारी लाहर्ज, माजको दियार।
शाहीको मेरो भेट भयो, सप्रिजा खियार।।
प्रेम हिजो पनि जात हेर्दैनथ्यो, आज पनि हेर्दैन। तर समाज हिजोदेखि आजसम्म जात हेरिरहेको छ। सत्ता आज पनि प्रेमको विरोधी छ। समाज र सत्ता प्रेमका लागि अवरोध खडा गर्ने ग्रेटवाल हुन्। तर प्रेमको कद ग्रेटवाल भन्दा कयौं गुणा अग्लो छ। त्यसैले तुङ्गनाथ भन्छन्, ‘कहाँ प्रेम, कहाँ समाज र सत्ता? तुलनै हुन सक्दैन।’
एउटा प्रेमीले आफ्नी प्रेमिका र एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई राति खेल्न बेलाउँदा साइत सप्रिने थलाेमा बोलाउँछ। खियार सप्रियोस भनेर मनाेकामना गर्छ। देवी देउता सम्झिन्छ। यसरी स्थापित भएको सम्बन्ध युगौं युग टिक्छ। देउडा गीतमा गरिने सावाल, जवाफ, प्रेमलाई युगौं टिकाउन प्रयोग गर्ने विम्ब, प्रतीक र अतिरञ्जना अनि तीनको प्रभाव। यी सबैलाई दिमागमा राख्न सक्ने तुङ्गनाथले यतिबेला बजार आउँदा पोको पारेर इतिहासका दस्तावेज ल्याएका थिएनन्। तर, केही नल्याई पनि आएका थिएनन्।
जस्ताे बेलामा पनि यौवन सम्झिन सक्ने उनले भेट्दा भेट्दै केही उखान सुनाए, आफूले आफैँलाई घृणा गर्ने खालका। एउटा साहित्यकार, कवि, कलाकार जब आफूले आफैँलाई घृणा गर्न सक्छ, तब उसको चेतना बलियो बन्दै जान्छ। त्यसमा उनी संसारकै सबैभन्दा बलियो साहित्य देउडामा सवाल जवाफ गर्न सक्ने खरा साहित्यकार हुन्।
फारसी सभ्यताबाट भित्रिएको थियो गजल। आफैँमा सम्पन्न सभ्यता। जहाँ सुख, सयल र यस आराम थियो। त्यसैले महिनौं आनन्दसँग रमाउँदै, हास्दै, खेल्दै एउटा शेर लेख्न सकिन्छ। एउटा गजललाई थाक मार्दै पूर्णता दिन सकिन्छ। देउडा कहाँ त्यस्तो छ र?
देउडामा त तत्काल जवाफ दिनुपर्छ। त्यो पनि उत्कृष्ट र चोटिलो देउडा। सवाल जवाफ गर्दा गर्दै रात जान्छ। रात पनि छोटाे लाग्छ। त्यसैले त यस्ता देउडाको रचना हुन्छ।
झमक्क तरकारी होइजा, चम्डेइलो भात होइजा।।
तिम्रो, मेरो भुटु होइजा, पुसको रात होइजा।
देउडामा गफिन सक्ने तुङ्गनाथकाे नाम पछाडि जोडिएर आउने थर उनलाई साह्रै लाेभी लाग्छ त्यसैले भेटिने बित्तिकै भनेका थिए उखान, ‘बाहुनको पेट, सुतको थैलाै। जहाँ केरा, हुँइ बाहुनको डेरा। जहाँ दही, बाहुनको बास भई।’
यी बाहेक उनले मस्टो परम्पराका केही नयाँ कथाहरु सुनाए। जसलाई पछि लिपिबद्ध गरिनेछ। तर, मष्टो अगाडि कि गाउँ अगाडि? यो प्रश्नको रोचक उत्तर दिए उनले, ‘अधिकांश मष्टोको नाम गाउँका नामबाट आउँछ। त्यसैले ती गाउँले मष्टो ल्याएका हुन्। त्यसैले मष्टो भन्दा अगाडि गाउँ हो।’
जस्तो कि उखाडी गाउँमा उखाडी मष्टो, थार्प गाउँमा थार्प मष्टो, बाबिरा गाउँमा बाबिरा मष्टो, सुनार गाउँमा सुनार गाउँ मष्टो, बुडु गाउँमा बुडाे मष्टो। अर्थात्, गउँपिच्छे मष्टो। गाउँलेले ल्याएको मष्टो।