शनिबार, १२ जुलाई २०२५

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-12-05 13:41:00
News Image
• • •

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो।

प्रतिनिधिमण्डलले सोमबार क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तरराष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो।

महानिर्देशक अधिकारीले सो ज्ञापनपत्र बुझ्दै सो विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताएका थिए।

यसैबीच यसअघि नाट्टाको टोलीले सोमबार काठमाडौँस्थित एशियाली विकास बैंकका नेपाल निर्देशकलाई समेत भेटेर यस विषयमा कुरा राखेको थियो।

नाट्टाको लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडिबीको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान नियमित गराउन एडिबीको पनि सहयोग आवश्यक रहेकामा जोड दिएका थिए।

यसअघि नाट्टा लुम्बिनी टिमले गौतमबुद्ध विमानस्थलमा अन्तरराष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो।

यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि भैरहवा तथा लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले अबौँ रुपैयाँ लगानी गरेका र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा पर्यटन पूर्वाधारको लगानी खेर गएको बताएका छन्।

त्यसैले यहाँका व्यवसायीले सरकारसँग यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दैआएका छन्। लुम्बिनी क्षेत्रका पर्यटन तथा अन्य सङ्घ संस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म सडक आन्दोलन गर्ने घोषणासमेत गरेका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?