राजाजीलाई चिठी 

खोलो फर्कनु, मुर्दा जीवित हुनु र राजसंस्था नेपालमा फर्खनु उस्ता–उस्तै हो

नमस्कार!
तपाईंको एक शुभचिन्तक भएको नाताले सर्वप्रथम कुशलताको कामना गर्छु। प्रगति सम्बृद्वि दीर्घायुको कामना पनि चाहान्छु। तपाईंको र मेरो भेटघाट भएको पनि छैन। चिनजानको सवालमा  तपाईंसँग मेरो चिनाइ उहीँ ‘राजा चिनाइ’ हो। हामीले चिन्ने तपाईंले नचिन्ने। स्वभाविक पनि हो, तपाईं राजा हुनुहुन्थ्यो। तपाईंलाई सबैले चिन्नु आम कुरा हो।

माथिको शिर्षक पढ्दा तपाईंलाई अचम्म लाग्ला, यो लेख्ने को हो? यसको घर कहाँ हो? यसको नाता मसँग के छ? यो चिठीको खास उदेश्य के हो? जस्ता विविध प्रश्न, जिज्ञासा उत्पन्न हुनसक्छन्! सुरुमा यी प्रश्न, जिज्ञासाको समाधान गर्ने प्रयत्न गर्छु। त्यसपछि अन्य विषयमा प्रवेश गरौंला। 

नाम मेरो मिमबहादुर परियार, घर जुम्ला, हाल काठमाडौंमा मजदुरी गर्छु। नाताको सवालमा उहीँ राष्ट्रियताको आधारमा तपाईं र म दाजुभाइ हुन्छौं। कथित जातको आधारमा तपाईंका पुर्वजले  शाह र परियारलाई नमिल्ने बनाए। चिठीको खास उदेश्य पछि आउने अनुच्छेदले प्रकाश पार्ने छ। 

सुरुवात मै उल्लेख गरेको छु, शुभचिन्तक भनेर। एक शुभचिन्तकले सदैब भलो चाहान्छ। म पनि तपाईंको भलो चाहान्छु। मलाई लाग्छ, तपाईं राजा हुनुभएका मध्ये सबैभन्दा भाग्यमानी व्यक्ति हुनुहुन्छ। हाँसीखुसी बसिरहनु भएको छ। तपाईंका पार्टीका केही दृश्यले त्यसको पुष्टि गरेको छ। हामी नेपाली जनता चाहान्छौँ तपाईंको जीवन सुखमय रहोस्। 

तपाईंको व्यापार अपार रहोस्। देशका कुना–कुनामा ज्ञानेन्द्र शाहका उद्योग कलकारखाना हुन्। हजारौँ जनताले रोजगारी प्राप्त गरून्। राज्यले अर्बौँ राजस्व तपाईंका व्यापारिक संस्थाबाट संकलन गरोस्। तर, पछिल्लो समय केही समूह व्यक्तिले तपाईंलाई पुनः उचालेको देख्दा, ‘राजा आउ देश बचाउऊ’ ‘जय देश जय नरेश’का नारा सुन्दा अलिक नमिठो महसुस गरेको छु। तपाईंलाई केही स्वार्थी झुण्डले तपाईंको धन मास्ने, उकास्ने र भ्रामक सपना देखाउँने चेष्टा गरेका छन्। 

एक हिसाबले तपाईं जुकाबाट घेरिनु भएको छ जस्तो लाग्छ। जसको उदेश्य विशुद्ध दिनु भन्दा लिनु मात्रै देखिन्छ। हो तपाईंका वरिपरि भएका व्यक्तिले तपाईंलगायतका अरु राजा भएकाको जय–जयकार गरेर नै आफ्नो दुनु सोजाए। ती व्यक्तिहरुले हजुर जिउजिउ गरेकै आधारमा गाउँ बस्तीमा दादागिरी चल्थ्यो। प्रशासनलाई धम्क्याउने गर्थे। उनीहरू पुनः  त्यस्तै चाहन्छन्। 

उता तपाईंलाई पनि गजब थियो। मोज मस्ति सबै थियो। सर्वशक्तिमान हुनुहुन्थ्यो। देशको संविधान भन्दा माथि। तर, जनताको अवस्थाबारे अज्ञात हुनुहुन्थ्यो। जाजरकोटमा जीवनजल नपाएर नागरिक मर्दा, कर्णालीका जनताको भोकको चीत्कार, दलित, मधेसीमाथिको दमन, महिला अधिकारका सवालमा तपाईंको चेत कहाँ थियो?

यथार्थ के थियो भने तपाईंलाई जनताको कुनै मतलब थिएन। हकअधिकार, विकास, सुशासनसँग तपाईंको एकरत्ति ज्ञान थिएन। पोखरा काठमाडौंको विलासितामा हुर्केको तपाईंलाई  जुम्ला उहीँ तपाईंहरुले शासन गर्दाताकाको दरबारको कुनै एक कोठाको नाम हो भन्ने थाहा थियो होला।  

राणा, काजी, पण्डितले घेरिने तपाईंलाई दलितको पीडाको आभास कहाँ हुन्थ्यो होला। कन्टिनेन्टल खाना खाने तपाईंलाई कर्णालीको भोकको मर्म के थाहा हुन्थ्यो। तराईंका बस्तीका दुःख, देशभित्रै अनागरिक भएका धर्तीपुत्रको के चिन्ता लाग्थ्यो होला। यी यावत कारणले तपाईं असफल हुनुहुन्थ्यो। तपाईंको बहिर्गमन निश्चित थियो। 

हिजोआज पुनः तपाईं नजिकका जुका सलबलाउन थालेका छन्। तपाईंलाई फेरि मजाकको पात्र बनाउँदै छन्। स्मरण रहोस्, बगेको खोलो फर्किएको इतिहास छैन। मरेको मानिस जीवित भएको तथ्य छँदैछैन। खोलो फर्कनु, मुर्दा जीवित हुनु र राजसंस्था नेपालमा फर्खनु उस्ता–उस्तै हो।

त्यसकारण तपाईं अब सजग हुनुपर्छ। राजाको भ्रम पुरै मस्तिष्कबाट त्याग्नुपर्छ। बरु भएको  सम्पूर्ण समय व्यापार, परिवारलाई दिनुहोस्। फलिफाप हुनेछ, सम्बन्ध समधुर हुनेछ। मन छ भने तपाईंको धनको सानो अंश दान दिनुहोस्। अस्पताल, विद्यालय बनाउनुस्। म भन्छु, मन्दिर र  जुका पाल्न छोड्नुहोस्। यी त फगत सितका थोपा हुन्। एक ठाउँमा कहिल्यै टिक्दैनन्।

अन्तिममा, नेपाली जनतालाई जनताको शासन चाहिएको छ। भलै अहिलेको व्यवस्थामा केही समस्या देखिएका छन्। ती समस्या हामी सबैले चेतना र चेतावनीमार्फत सुधार्नुको विकल्प छैन। त्यसअर्थ लोकतन्त्र, गणतन्त्रको विकल्प लोकतन्त्र गणतन्त्र नै हो।  जातवादी, धर्मवादी, लिङ्गवादी, परिवारवादी संस्था नेपाली जनताको हुनै सक्दैन। 

धन्यवाद!

 


 

प्रकाशित मिति: : 2023-12-04 18:16:00

प्रतिकृया दिनुहोस्