फुटबल : इलामले झापालाई हरायो

स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित दर्ता गराएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैंदानमा सम्पन्न खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।

विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो। उनले खेलको ८७औँ मिनेटमा गोल गरेका हुन्।

त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो। तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए। तर अमाथको प्रहार पोस्टभन्दा  माथिबाट बाहिर गयो।

दुई खेल खेलको इलामको यो पहिलो जित हो। यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो। भोलि फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स फुटबल क्लबबीच खेल हुनेछ। उक्त खेल साँझ ५ः३० बजे हुनेछ।

प्रकाशित मिति: : 2023-11-27 21:42:00

प्रतिकृया दिनुहोस्