राजधानीमा ‘दुर्गा प्रसाईंहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दरबार फर्काउने’ आन्दोलन चर्काइरहँदा पञ्चायतकालका हस्ती बालाराम घर्तीमगर ललितपुरस्थित सातदोबाटोमै थिए।
उनी बैंकको ऋणले टाट पल्टिँनै लागेका ‘मेडिकल व्यापारी प्रसाईं’ र सीमित राजावादीहरूको ‘बल्खु रबैया’ नियालिरहेका थिए।
जीवनको एउटा कालखण्डमा तत्कालीन ‘राजा महेन्द्र र वीरेन्द्रको दया–माया’ पाउँदा पटकपटक सिंहदरबार छिरेका बालारामलाई राजा फर्काउने अभियान मन परेपनि हिजोआज सडकमा निस्किएका राजावादीहरूको शैली उग्र लागेको छ।
राजसंस्था फर्कियोस् भन्ने चाहना आफूमा पनि भएको बताउँदै ‘ढुङ्गा हानाहान गरे राजा फर्काउन नसकिने’ उनको तर्क छ। ‘ज्ञानेन्द्र शाह प्रखर बुद्धिजीवी हुन्, उनीसित राजा हुनुपर्ने गुण छ,’ उनले भने, ‘ज्ञानेन्द्र साच्चिकै भाग्यमानी रहेछन्। दुईपटक राजा बने।’
आजको पूर्वराजाको गुणगान गाउँदैगर्दा पनि विगत बिर्सिएका छैनन् बालाराम। ०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कदमलाई असंवैधानिक र अराजनीतिक मान्छन्, उनी। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने तर्क गर्छन्, पूर्वमन्त्री बालाराम।
‘शान्तिपूर्ण आन्दोलनमार्फत् ज्ञानेन्द्रलाई राजा बनाउन सकिन्छ। उनी सरल स्वभावका व्यक्ति हुन्, पञ्चायत कालमा तत्कालीन राजा वीरेन्द्र विभिन्न स्थानमा पुग्दा ज्ञानेन्द्र पनि सँगै पुगेका हुन्थे। भेटघाट र कुराकानी भइरहन्थ्यो,’ उनले भने।
२०४६ सालको आन्दोलनताका बालारामले ज्ञानेन्द्रसँग औपचारिक रूपमा भेट गरेका थिए। सम्बन्ध आजपनि उनीसँग राम्रै छ। ज्ञानेन्द्र राजा घोषणा हुँदा राजपरिषद्का सदस्य थिए, बालाराम। २०५९ तिर राजा बाँके भ्रमणमा निस्किँदा उनी पनि सँगै हिँडे।
बालारामको नजरमा ज्ञानेन्द्र– भाग्यमा भएको भोग्नैपर्छ भन्ने कुरामा म विश्वास गर्दछु। ज्ञानेन्द्र सरकारलाई २००७ सालमा बुबा र दाजु राजा हुनभन्दा पहिले श्री ५ बन्ने अवसर प्राप्त भएको थियो। २००७ कार्तिक २१ गते त्रिभूवन सरकारसहित राजपरिवार भारतीय राजदूताबासतर्फ प्रस्थान गर्दा राणाहरूलाई ठूलो समस्या परेको थियो।
ज्ञानेन्द्र सरकार मामा घरमा छुटेको थाहा पाएपछि उहाँलाई राणाले २००७ साल कार्तिक २२ गते श्री ५ घोषणा गरेका थिए। उहाँ २००७ फाल्गुन ४ गते त्रिभुवन सरकार भारतबाट फर्केर नआएसम्म नेपालको राजा हुनुभएको थियो। यसपछि राणा र जनताका समान सहभागी भएको सरकार निर्माण भयो। प्रधानमन्त्री मोहन शम्शेर नै हुनुभएको थियो।
२००८ साल कार्तिक २६ गते मोहन शम्शेरको मन्त्रीमण्डल पनि विघटन भयो र सदाका लागि राणाहरूको जहानीया शासन अन्त्य भयो। नेपालले कैयौं यस्ता घटना भोगेको छ, जुन कुरा सुन्दा नै आश्चर्य लाग्दछ। म काठमाडौं आएदेखि नै ज्ञानेन्द्र सरकारको चिन्जानमै थिएँ। महेन्द्र सरकारको शासनकालमा कुराकानी गर्ने मौका नमिले पनि देखभेट भइरहन्थ्यो।
महेन्द्र सरकारको देहान्तपछि भेटघाटको क्रम बढ्यो। समय समयमा विभिन्न विषयमा बुझ्नका लागि सरकारले बोलाउनुहुन्थ्यो। यस क्रमले पनि सान्निध्यता बढ्नु स्वाभाविकै हो। नेपालको इतिहासमा धेरै राजाको चारित्रिक प्रश्न उठ्ने गर्दछ। ज्ञानेन्द्र सरकार योभन्दा धेरै टाढा रहनुभएको छ।