इजरायलमा फर्किंदैछ ‘हमासले खोसेको खुसी’

Photo - AFP
Photo - AFP

इजरायल र आतंकवादी समूह हमासबीच ‘युद्धबन्दी’ आदान–प्रदानसम्बन्धी शान्ति सम्झौता आजदेखि लागू भएको छ।

र, ४६ दिनदेखि आफ्ना प्रियजनलाई पर्खिरहेका इजरायलीहरूले उत्सुकता झन–झन् बढाइरहेका छन्। सम्झौताअनुसार हमासले आजदेखि दैनिक १०–१० जना इजरायली बन्दीलाई रिहा गर्नेछ।

मिडिया स्रोतकाअनुसार चार दिनमा करिब ५० जना कैदीबन्दीहरू हमासको पिँजडाबाट मुक्त हुनेछन्। अर्कोतर्फ यदि हमासले निरन्तर इजरायली बन्धकहरूलाई रिहा गर्ने क्रम जारी राख्यो भने ‘इजरायल–हमास’बीच शान्ति सम्झौता अगाडि बढ्न सक्ने सम्भावना छ।

यता, हमासले बन्धक बनाइएका २४० मध्ये विशेषगरी ५० वर्ष नाघेका महिला र बालबालिकालाई मात्र रिहा गर्ने बताएको छ। हमासले ५० वर्षभन्दा कम उमेरका महिलालाई इजरायली सैनिकका रुपमा लिने गरेको छ। इजरायल–हमास युद्धको मध्यस्थता गरिरहेका कतार र अमेरिकाबीचसमेत वार्ता जारी छ।

कतारी मिडिया अलजजिराले बताएअनुसार लेबनानी लडाकू समूह हिजबुल्लाहले इजरायल र हमासबीचको वार्तामा सहभागी नभए पनि चारदिने युद्धविराममा सहभागी हुने जनाएको छ।

स्रोतकाअनुसार इजरायलले युद्धविरामको पालना गरेमा हिजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायलमाथि गोलीबारी बन्द गर्नेछ।

प्रकाशित मिति: : 2023-11-23 11:29:00

प्रतिकृया दिनुहोस्