जाजरकोटमा चिसोले थप एक भूकम्पपीडितको मृत्यु

अत्यधिक चिसोका कारण जाजरकोट नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ। 

भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आज आइतबार बिहान मृत्यु भएको हो। उनी हाल त्रिपासको साहरामा बस्दै आएकी थिइन्। आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए। 

यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो। 

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र बृद्धबृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र बृद्धबृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। चिसोका कारण पछिल्ले एक सातामा सात जना बृद्धबृद्धाको ज्यान गइसकेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भइ गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ।

प्रकाशित मिति: : 2023-11-19 22:14:00

प्रतिकृया दिनुहोस्