भूकम्प प्रभावित क्षेत्रमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिन थाल्यो

भूकम्पमा परी घरविहीन भएका भेरी नगरपालिका–१ मैदेका स्थानीयवासी त्रिपालमुनि। तस्बिरः हेमन्त केसी/रासस
भूकम्पमा परी घरविहीन भएका भेरी नगरपालिका–१ मैदेका स्थानीयवासी त्रिपालमुनि। तस्बिरः हेमन्त केसी/रासस

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकम पश्चिममा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिन थालेको छ। विशेष गरेर पालमा बसेका बालबालिका, गर्भवती, सुत्केरी, वृद्धाहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिन थालेको हो।

दूषित खानेपानी र खानपानमा बेमेल हुँदा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिएको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन्। स्वास्थ्यमा समस्या देखिन थालेपछि विशेष रुपमा हेरचाह गरिएको उपचारमा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मनिराज क्षेत्रीले बताए। 

‘पालमा बसेका भूकम्प पीडितहरुको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको छ। भूकम्प प्रभावितको उपचारका लागि हामी खटिरहेका छौँ। उपचारसँगै परामर्श दिने कार्य गरिरहेका छौँ,’ उनले भने। 

प्रतिष्ठानको चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार गर्न थालेपछि भूकम्प पीडितहरुले राहतको अनुभूति गरेको डा. क्षेत्रीको भनाइ छ। 

यस्तै अमेरिकन नेपाल मेडिकल फाउण्डेशनले प्रतिष्ठानको टोलीमार्फत सरसफाइ सामग्री उपलब्ध गराइरहेको पब्लिक हेल्थका उपप्राध्यापक डा. ओम काफ्लेले बताए। 

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्रीको नेतृत्वमा एसिस्टेन्ट प्रोफेसर डाक्टर ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्य, प्राविधिक सहयोगी सन्तोष रावल, पब्लिक हेल्थका विद्यार्थीहरु नरसिङ पुन र रुपेश गिरीसहितको टोलीले प्रभावितलाई सेवा दिइरहेको छ।

प्रतिष्ठानको जनस्वास्थ्य टिमले जाजरकोटका सबै पालिकामा भ्याएर रुकुम पश्चिममा भूकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गर्नुका साथै जनस्वास्थ्य र मनोसामाजिक परामर्श दिइरहको उपप्राध्यापक काफ्लेले बताए।


 

प्रकाशित मिति: : 2023-11-13 09:23:00

प्रतिकृया दिनुहोस्