बूढानीलकण्ठको आँगनीमा रैथाने उपज

शनि शाक्य

काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा स्थानीय/रैथाने कृषि बजार मेला सुरु भएको छ। नगरपालिकाभित्र उत्पादित कृषि उपजको बिक्री/वितरण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित मेलाको आयोजना गरिएको हो।

मेलामा बूढानीलकण्ठका किसानले उत्पादन गरेको रैथाने कृषि उपज, दूग्धजन्य पदार्थ, कृषि औजार तथा रैथाने (विशेषगरी नेवारी) परिकारहरु बिक्री तथा प्रदर्शनको लागि राखिएको छ। मेलामार्फत् ४० भन्दा बढी स्टलबाट रैथाने सामाग्रीहरु बिक्री वितरण गरिएको कार्यक्रम संयोजक रैथाने एग्री प्रोडक्टस् नेपालका सदस्य गौतम पौडेलले जानकारी दिए।

मेलामा बूढानीलकण्ठ नगरपालिकामा उत्पादन भएका उपजसहित अन्य जिल्लामा उत्पादन भएका रैथाने वस्तुहरु पनि बिक्री तथा प्रदर्शनीको लागि राखिएको छ। किसान र उपभोक्तलाई सिधा सम्पर्क गराउने लक्ष्यअनुसार कृषि मेला आयोजना गरिएको उनकाे भनाइ छ।

बूढानीलकण्ठ नगरपालिकाले विगतमा पनि आफ्नै आँगनीमा कृषि मेला आयोजना गर्दै आएको थियो। अब भने कृषि मेला हरेक शनिबार चल्ने उपप्रमुख अनिता लामाले जानकारी दिइन्। मेलामार्फत् स्थानीय उत्पादनको बजारीकण गर्ने, रैथाने सीप र ज्ञानलाई व्यवसायीकरण गर्ने तथा रैथाने उत्पादनलाई पर्यटनसँग जोड्ने योजना रहेको उपप्रमुख लामाले बताइन्।

आफ्नै नगरमा उत्पादन भएका उपजहरु नगरपालिकाको आँगनीबाटै बेच्न पाएकोमा कृषिकहरु पनि खुसी भएका छन्। ‘नगरपालिकाले पहिलैदेखि यसरी व्यवस्था मिलाइदिएको भए राम्रो हुने थियो। ढिलै भए पनि गरेको छ, खुसी लागेको छ,’ व्यवसायी सानु श्रेष्ठले भनिन्, ‘यसरी बेच्न पाउँदा बैचौलियाले पनि खान पाएन, नगद पैसा पनि हातमा आउने भयो।’ आफ्ना उत्पादन सरल र सहजरुपले बिक्री गर्न  पाएकोमा उनले नगरपालिकालाई धन्यवाद दिइन्।

त्यस्तै पसलहरुमा भन्दा सस्तो मूल्यमा ताजा सामान किन्न पाएकोमा स्थानीयबासीहरु पनि खुसी भएका छन्। ‘खास त हामी फूलहरु किन आएका थियौँ। तर, तरकारीहरु देख्दा यो पनि किनौँ, त्यो पनि किनौँ भइरहेको छ,’ वडा नं. ७ की ललिता थापाले भनिन्, ‘बाहिर भन्दा यहाँ सस्तो पनि पाइने रहिछ। पोहोर त यति पैसामा एक झोला पनि आउँदैन थियो। अहिले त १७ सउकोले घरभरिलाई पुग्ने सामान आयो।’ उनले पिता पूर्खाले प्रयोग गरेका रैथाने सामानहरु किन्न र हेर्न पाएकोमा खुसी व्यक्त गरिन्।

मेलामा रायो प्रतिमुठा रु. ३०, काउली प्रतिकेजी रु. ८०, गोलभेँडा प्रतिकेजी रु. ६०, सयपत्री फूल प्रतिकेजी रु. ४ सयदेखि ५ सय, सयपत्री माला प्रतिमिटर रु. २०० मा गाजरप्रति केजी रु. ४०, बोडी प्रतिकेजी रु.७०, मुला प्रतिकेजी रु.४०, धिरौला प्रतिकेजी रु. ४० मा बिक्रीको लागि राखिएको छ। भने, अन्य रैथाने परिकार चाख्नको लागि नि:शुल्क उपलब्ध गराइएको थियो।

‘मोही ताजा तरकारी र खाद्यन्न, बनाऔँ किसानलाई सम्पन्न’ भन्ने नारासहित बूढानीकण्ठ नगरपालिकाको आयोजना र रैथाने एग्री प्रोडक्टस् नेपालको सहकार्यमा आयोजना गरिएको मेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी छन्।

तस्बिरहरु : 

प्रकाशित मिति: : 2023-11-11 11:50:00

प्रतिकृया दिनुहोस्