अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध दर्ता भएको बर्खास्तीको प्रस्ताव अस्विकृति भएको छ।
बिहीबार मकवानपुरको हेटौडामा भएको संघको विशेष साधारण सभाले उक्त प्रस्ताव अस्विकृति गरेको हो। एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवविरुद्ध एन्फामा बर्खास्तीको प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्तावमाथि बिहीबार भएको मतदानमा अध्यक्ष नेम्वाङको पक्षमा ५२ मत खसेको छ।
कुल मतदानमा ८७ मध्ये ५३ मत खसेकोमा १ मत बदर भएको थियो। तर, बर्खास्तीको पक्षमा भने एक मत पनि परेन। जसकारण नेम्वाङको अध्यक्ष पद जोगिएको छ। एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने विधानको व्यवस्था छ।
गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए।