भूकम्पपछि खुला आकाशमुनी छ ‘दलित बस्ती’ तर, सोधपुछ गर्न कोही पुगेको छैन

गएको शुक्रबार राती आएको भूकम्पको विशेष गरेर जाजरकोट र रुकुम पश्चिममा क्षति पुगेपछि सरकारको अन्य जिल्लामा ध्यान पुगेको छैन। 

यस्तै सरकारको ध्यान नपुगेको एउटा बस्ती हो, जुम्लाको तातोपानी गाउँपालिका–३ तिलाकोटको दलित बस्ती। शुक्रबारको ६.४ रेक्टरको भूकम्प र त्यसपछि सोमबार साँझ ४ बजेतिर गएको ५.८ रेक्टरको अर्को भुकम्पले लिताकोटको दलित बस्तीमा क्षति गरेको छ। 

घर भत्काएपछि यहाँका नागरिक खुला आकाशमुनी बस्न बाध्य छन्। तर, राज्यले यहाँ राहत त के सोधपुछसमेत गरको छैन। 

०००

तातोपानी–३ का सर्जन सुनारको घर भत्किएपछि उनी बारीमा त्रिपाल टाँगेर बसेका छन्। उनले अहिलेसम्म राहत पाउन सकेको छैनन्। 

‘भूकम्पले घर भत्कायो। अहिले यही बारीमा बसेका छौँ,’ उनले भने, ‘हाम्रो १२ जनाको परिवार विचल्लीमा परेको छ।’

उनले सरकारका कोही मान्छे सोधपुचका लागि नआएको बताए। उनले भने, ‘आफन्तको बस्ने हो भने पनि उनीहरुको घर पनि भत्किएको छ। स्थानीय सरकार यतिबेला बेखबर छ।’

तिलाकोटका १५–२० घरमा भूकम्पले क्षति गरेको सर्जनले जानकारी दिए। उनकाअनुसार तिलाकोटमा केही घरका पर्खाल चर्किएका छन् भने केही घर भत्केर बस्नै नमिल्ने भएका छन्। 

‘यो कर्तिकको कठ्यांग्रिदो चिसोमा खुल्ला आकासमा बस्नु पर्दाको पीडा पिडितलाई मात्र थाहा छ,’ स्थानीय दिपक सुनारले भने, ‘नत कुनै गैरसरकारी संस्थाले हरेका छन्। नजिकको स्थानीय सरकारले वास्तानै गरेको छैन।’

उनले तिलाकोटका दलितको पीडाका विषयमा बोल्ने, वकालत गर्न नत सरकार रैछ नत पत्रकार रैछन् भनेर समेत सामाजिक सञ्जालमा आक्रोस पोखेका छन्। स्थानीय सरकारले केही राहत दिएको खण्डमा सहज हुने पीडितको आशा छ।

गत शुक्रबार सोमबार आएको भुकम्पलले जुम्लाको तातोपानी तिला, पातारासी, गुठीचौरका विभिन्न बस्तीका घरहरुमा आंशिक  क्षति भएको छ। 

तर जिल्ला प्रशासनले क्षतिको विवरणबारे तथ्यांक सार्वजानिक गरेको छैन।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पीडितहरुको तथ्यांक संकलन भइरहेकोले एकिन गरेर राहत दिइने बताए। 

प्रकाशित मिति: : 2023-11-08 22:10:00

प्रतिकृया दिनुहोस्