नेपालमा सम्पन्न आइसिसी टी–२० विश्वकप एसिया छनौट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। आइतबार भएको फाइनल खेलमा ओमानले नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो।
निर्धारित २० ओभरमा दुबै टोलीले १८४ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। ओमानका ओपनर कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो।
नेपालका लागि गुल्शन झाले विस्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक प्रहार गरे। उनले ५४ रन बनाए भने कप्तान रोहित पौडेल ५२ रनमा अविजित रहे। कुशल भुर्तेलले ३१ रन बनाए।
ओमानका लागि बिलाल खानले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए। त्यस्तै आकिब इलियासले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए। कप्तान जिशान मकसुदले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए।
दुबै टोली आगामी वर्ष हुने टी२० विश्वकपमा छनौट भइसकेका छन्।