मुवाब्जा नपाएपछि जग्गाधनीले गरे पुल अवरुद्ध

जुम्ला सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका–६ देखि १० नम्बर वडा जोड्ने कारागारस्थित तिला नदीमाथिको पुल अवरुद्ध गरिएको छ। 

पुल निर्माण गर्दा छोडेको जग्गाको मुवाब्जा नपाएको भन्दै पुलनेर गहिरो खनि अवरुद्ध गरिएको हो।

जग्गा धनीहरु मदनमोहन देवकोटा, गोरीकला सार्की र कुइरो सार्कीले सडक अवरुद्ध गरेका हुन्। 

पुल निर्माणको क्रममा सडकले प्रयोग गरेको जग्गाको मुवाब्जा दिने र बाँकी रहेको जग्गा प्रयोग गर्न मिल्ने गरि सहमति गरिएको भएपनि निर्माण कार्य सकिएको वर्षौं बित्दा पनि वास्ता नगरिएको जग्गा धनीहरुको गुनासो छ।

‘त्यहीँ नदी पारीका धनीहरुलाई मुवाब्जा दिइएको छ। तर हाम्रो पहुँच नभएकोले कुनै सुनुवाइ नै भएको छैन,’ चन्द्र देवकोटाले भने, ‘बाध्य भएर आन्दोलन गर्नु परेको हो।’ चन्द्र जग्गा धनी मदनमोहन देवकोटाका छोरा हुन्। 

पुल निर्माणको क्रममा खनेर गहिरो गरिएको जग्गा पछि पुरेर जस्ताको तस्तै गरिदिने र त्यतिन्जेल ठेकेदारले जग्गा धनीलाई चामल उपलब्ध गराउने सहमति भएको अर्की जग्गा धनी गोरीकला सार्कीले बताइन्।

‘एक दुई पल्ट पच्चीस किलाका दुई–तीन बोरा चामल पनि पायौं। पुल बनेपछि न चामल पायौं न बचेको जग्गा,’ उनले भनिन्, ‘अहिले हाम्रो भनेको कोही सुन्दैनन्। न सडक कार्यालय सुन्छ न ठेकेदार।’

त्यसबेला पुल निर्माणको जिम्मा हालको चन्दननाथ नगरपलिका–६ का वडा अध्यक्ष रवि थापाले लिएका थिए। उनकाअनुसार सडकले नै जग्गा बनाइदिने बचन दिएपछि जग्गाधनीसँग बनाउने बाचा गरिएको थियो। त्यसबेलाका इन्जिनियरको सरुवा भएपछि जग्गा जस्ताको तस्तै बनाउने काम रोकिएको हो।

पुल निर्माणको बेला ठेकेदारसँग भएको सम्झौता कार्यान्वयन गराउनलाई पहल गर्ने डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र विष्टले बताए।

उनले भने, ‘त्यसबेला के भएको थियो? सम्झौता के थियो म बुझ्दैछु। तर मौखिक सहमति हो भने केही गर्न सकिँदैन। ठेकेदारबाट पेटी ठेकेदारले लिएको काम र पेटी ठेकेदारले भनेको कुरालाई हामीले बैधानिक भन्न मिल्दैन। सडक अवरोध गर्न पाउने कानुनी प्रावधान छैन। यो खुलाउनुपर्छ।’

अवरुद्ध सडक खुलाउनका लागि बुधबार सर्बदलीय बैठक बोलाइएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।

यो विषयमा पटक पटक विवाद हुने गरेको छ। जसका कारण सडक अवरुद्ध हुने लगायत समस्या देखा परिरहेका छन्। समस्याको दीर्घकालीन समाधान नहुँदा आवतजावतमा प्रभाव परेको छ।

प्रकाशित मिति: : 2023-10-31 18:14:00

प्रतिकृया दिनुहोस्