६० को दशकमा चर्चित ‘हिप्पी कल्चर’- युरोपबाट सुरु भएर काठमाडौँ थियो अन्तिम गन्तव्य

getty image
getty image

युवाहरूको एक हुल। नशामा लठ्ठ। कोही एकअर्कोसँग प्रेम साट्नमा मस्त, कोही चुरोट र चिलिम तान्न व्यस्त। त्यही भीडबाट नशाले लठ्ठिएकी एक युवती ‘दम मारो दम…’ भन्दै गीत गाउन थाल्छिन्।

र, सबै युवाहरू त्यही गीतमा झुम्न थाल्छन्, चिलिमसँगै।

सन् १९७१ सालमा रिलिज भएको फिल्म थियो, ‘हरे रामा हरे कृष्णा’। त्यही फिल्मको चर्चित गीत थियो, ‘दम मारो दम…।’ जसमा ‘आशा भोस्ले’ले स्वर दिएकी छन्। देव आनन्दले निर्देशन गरेको फिल्ममा अभिनेत्री मुमताज र जीनत अमानको अभिनय रहेको छ। जसले आफूलाई ‘हिप्पी’को रुपमा प्रस्ततु गरेका छन्।

अमेरिकी मिडियाले सन् १९६० को दशकका युवाहरूलाई दिएको नाम थियो, ‘हिप्पी’ (भौतिक जगतबाट विस्मृतितिर फर्केर शान्तिको खोजीमा विभिन्न देशमा घुम्ने वा बस्ने गोरा घुमन्ते समुदाय) जसलाई भौतिक विरोधी ‘बिटनिक’को विकसित रुप मानिन्छ।

सन् १९५० र सन् १९६० को दशकमा अमेरिकी संस्कृतिलाई बिगार्दै बिटनिकहरूले कविता, संगीत र चित्रकलाबाट आफूलाई संसारभर चिनाए। ती युवाहरूले भियतनाम युद्ध र भर्तीको विरोध गर्दै धुम्रपान, चरस, खुला यौन-सम्बन्ध र कपाल नकाट्नेजस्ता हर्कत गर्न थाले।

पुरूषहरू लामा–लामा कपाल र दाह्री-जुँगा पाल्थे। महिला–पुरूष दुवै चप्पलमा हिँड्थे। माला भिर्थे र रंगीबिरंगी पोशाक लगाउँथे। उनीहरू सामूहिक रूपमा हिँडडुल गर्थे। बस्थे र शाहाकारी भोजन खान्थे।

आफूलाई फूलका सन्तान (फ्लावर चिल्ड्रेन) ठान्ने उनीहरू लडाइँ होइन, प्रेम गर भन्ने सन्देश दिन चाहन्थे।

उनीहरू पूर्वीय दर्शन (हिन्दू र वौद्ध धर्म)तिर आकर्षित थिए। ज्योतिषशास्त्रमा विश्वाश राख्ने उनीहरू नशामा डुब्ने, लोक र रक संगीतमा झुम्न मन पराउँथे। प्रेम र यौनमा उदार देखिन्थे।

फक्कड विद्रोहीहरूको ‘हिप्पी ट्रेल’

सन् १९६५ र १९८० को दशकमा युरोपदेखि अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत र गोवासम्म लागुऔषधको खोजीमा रहेका सबै राष्ट्रियताका हिप्पीहरूका ओभरल्याण्ड यात्रालाई बेलायतमा ‘हिप्पी ट्रेल’ भनेर चिनिन्थ्यो। जसलाई अमेरिकी मिडियाले ‘हासिश ट्रेल’को उपनाम दियो।

सन् १९६७ को दशकसम्म ‘हिप्पी’ भन्ने शब्द सुरु भइसकेको थिएन।

सन् १९६८ मा रक ब्याण्ड ‘बिटल्स’ भारत भ्रमणमा पश्चिमी युरोपबाट आउने युवाहरूको संख्या उल्लेख्य रुपमा बढ्न थाल्यो। कोही त्यस्ता पनि थिए जो संसारलाई नियाल्न चाहन्थे।

हिप्पी ट्रेलका ती दिनहरूमा व्यक्तिले पैसा बोक्न प्रतिबन्ध थियो। त्यसैले हिप्पीहरू खल्तीमा एक पैसा नभए पनि महिनौं दिन बेपरवाह आनन्दसँग घुमिरहन्थे। हिप्पी ट्रेलका यात्रुहरूले आफूलाई ‘हिप्पी’भन्दा पनि ‘सन्की’ भन्न रुचाउँथे।

चरस र गाँजा हिप्पीहरूको जीवनको एक पक्ष थियो। आफ्नो पोसाक र व्यवहारमा स्वतन्त्र हिप्पीहरू आफ्नो सोचमा अडिग थिए। उनीहरू युद्धमा होइन, प्रेममा विश्वास गर्थे। हिप्पीहरू जहाँ गए आफ्नो छाप छाडे। इतिहास नै रचे।

उनीहरूका लागि मल र रसायनले सुरक्षित गरिएको खानालाई छुनु पाप थियो। र, कपाल काट्नु नराम्रो काम।

हिप्पीहरू एक किसिमको अनौठो ‘विद्रोही’ नै थिए। न उनीहरूको कुनै नेता थिए न त कुनै कार्यालय न त नियम नै। त्यो त पूर्ण रुपमा स्वतन्त्र र स्वेच्छिक विश्वव्यापी आन्दोलन थियो।

‘हिप्पी ट्रेल’का यात्रु अफगानिस्तानमा किन रोक्किन्थे?

हिप्पी ट्रेल इस्तानबुलबाट सुरु हुन्छ जहाँ युरोपका सबै सडकहरू जोडिन्छ।

हिप्पी ट्रेलमा प्रसिद्ध भएका होटलहरू इस्तानबुलको गुल्हे, तेहरानको अमिर कबीर, काबुलको मुस्तफा, पेशावरको रेन्बो, लाहोरको एशिया होटल, दिल्लीको क्राउन र बम्बईको रेक्स एन्ड स्टिफल्स थियो।

इस्तानबुलको सुल्तान अहमदमा रहेको लेले रेस्टुरेन्टलाई विश्वभरका मानिसहरूले ‘द पुडिङ सप’ भनेर चिन्दथे। जुन होटेल सन् १९५७ मा सञ्चालन गरिएको थियो।

ब्लू मस्जिद र हाया सोफिया नजिकको त्यो ठाउँ आदर्श थियो। काठमाडौँ जाने यात्रुहरू इस्तानबुलबाट जान्थे र ओभरल्याण्ड भएका बसहरू नजिकैको सस्तो होटलहरू वा गल्लीहरूङ्मा रात गुजार्थे।

हिप्पी ट्रेलका यात्रुहरू कोही चरेस उत्पादन गर्ने देश लेबनान त कोही टर्की–इरान हुँदै अफगानिस्तान जान्थे। अफगानिस्तानका प्रमुख सहरहरूमा होटल, क्याफे र रेस्टुरेन्टहरू छन्, जसका ग्राहकहरू विशेषगरी ‘हिप्पी ट्रेल’ हरू नै थिए।

उत्कृष्ट चरेस पिउने यात्रुहरूले एक-अर्कालाई कथा सुनाउने र अर्को सहरमा कहाँ जाने भनेर सल्लाह दिने गर्थे।

त्यस्ता प्रत्येक ठाउँको एक विशेष विशेषता पुस्तकालय थियो, जसमा यात्रुहरूले पछाडि छोडेका धेरै भाषाहरूमा पेपरब्याकहरूको अन्तर्राष्ट्रिय संग्रह थियो।

हिप्पी ट्रेलमा हेरात पहिलो वास्तविक गन्तव्य थियो।

हिप्पी ट्रेलमा अर्को प्रसिद्ध रेस्टुरेन्ट एक जर्मन थियो, काबुलको सेगीको होटेल। जहाँ चामलको खीरसँगै हरियो चिया र चेस (बाघ चाल) पनि खेल्न पाइन्थ्यो। त्यसबेला त्यो एक रेस्टुरेन्ट थियो, जहाँ पश्चिमी शैलीको खाना पाइन्थ्यो।

अफगानिस्तानका होटल वरपर व्यापारीहरूले हातले बुनेको कपडा, छालाका सामानहरू र गलैंचाहरू बेच्थे र अधिकांश व्यापारीहरूले चरेस पनि राखेका हुन्थे, आफ्नो र अरूका लागि। 

सायद त्यही कारण थियो। केही मानिसहरू अफगानिस्तानबाट धेरै समय अडिन्थे।

तीर्थस्थल बन्यो ‘हिप्पीहरूको घर’

अफगानिस्तान पछि धेरै टर्निङ प्वाइन्टहरू थिए। पाकिस्तानमा छिरेपछि उतरतर्फ स्वात र चित्राल जान सकिन्थ्यो।

लेखक नदीम फारुक पराचाका अनुसार जब पाकिस्तान हिप्पी ट्रेलको बीचको गन्तव्य बन्यो– पेशावर, स्वात, लाहोर र कराँची हिप्पीहरूका लागि महत्त्वपूर्ण स्थान बन्यो। र, समुन्द्र किनार आनन्द लिने हिप्पीहरूको मुख्य ठाउँ भयो।

उनीहरूका लागि पाकिस्तानमा लोकप्रिय ठाउँ लाहोर, कराँचीका सूफीहरूको मन्दिर बन्यो। त्यसबेला मध्यम वर्गका युवाहरूले पनि पहिलेदेखि तीर्थहरू जान सुरु गरिसकेका थिए।

हिप्पीहरूले लगाउने पोसाक र व्यवहार पाकिस्तानीहरूमा पनि चर्चित हुन थाल्यो। ती युवा जसको कपाल ७० को दशकमको अन्तिममा पनि छोटो हुन्थ्यो। उनीहरूको कपाल ७० को दशकको सुरुआतमै लामो हुन थाल्यो।

महिलाहरूको पहिरन पनि छोट्टिदै गयो।

धेरैजसो हिप्पीहरू पाकिस्तान पार गरेर भारतमा प्रवेश गर्थे भने लागूपदार्थ खोज्नेहरू कश्मीरतिर भासिन्थे। हिप्पीहरूको लोकप्रिय ठाउँहरू कुल्लु र मनाली पनि थियो। जुन चरेस र अफिम खेतीका लागि प्रख्यात थियो।

जाडोयाममा धेरैजसो हिप्पीहरू गोवाको समुद्र तटहरूमा जान्थे, जहाँ चरेस सधैं उपलब्ध हुन्थ्यो। यद्यपि, त्यहाँ उत्पादन भने हुँदैन थियो।

बस्नका लागि सबैभन्दा महँगो सहर थियो, बम्बई। तर, भारतका केही हिप्पीहरू मन्दिरमा बस्थे, सित्तैमा खान र बस्नका लागि। 

काठमाडौं थियो अन्तिम गन्तव्य

शान्त र आधुनिकताले नछोएको हिमाली देश नेपाल पुग्दा उनीहरू स्वर्ग पुगेजस्तो अनुभूति गर्थे। स्वर्णिम हिप्पी युगमा उनीहरूका लागि नेपाल उपयुक्त स्थल थियो। तिनीहरूको मुख्य बासस्थान थियो काठमाडौंको झोँछे। अर्थात् काठमाडौंका साँघुरा गल्लीहरू।

यी विन्दास हिप्पीको समूह ओभरल्यान्ड यात्रामा महिनौं दिन लगाएर युरोपदेखि मेसिडोनिया, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आउँथे।

त्यसबेला नेपालमा पनि हिप्पीको स्वर्णिम युग थियो। तिनीहरूको मुख्य बासस्थान र पर्यटकीय केन्द्र थियो वसन्तपुरको झोँछे। खल्तीमा पैसा नभए पनि महिनौसम्म पर्यटक बेपरवाह नेपालमा बस्थे र  घुम्थे। कतिपय त रातभर मन्दिर, पाटी र गल्लीमै सुत्थे।

सन् १९७३ सालमा चरेस पाउन कुनै कठिन थिएन। त्योबेला कानूनी रूपमा धेरै चरेस पसलहरू चलिरहेकै थियो।

हिप्पीहरूले परम्परागत पर्यटकहरू भन्दा स्थानीयहरूसँग अन्तरक्रिया गर्न बढी समय बिताउँथे। हिप्पीलाई बस्नका लागि महङ्गो ठाउँमा कुनै चासो थिएन, चाहे उनी पैसा चुकाउन सक्थे या सक्दैन थिए।

सन् १९८६ मा फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज भारतको गोवामा समातिएका थिए।

सन् १९७५ मा काठमाडौंमा दुई पर्यटकको हत्या गरेको अभियोगमा शोभराजले १९ वर्ष नेपालको जेलमा बिताए पनि उनी सन् १९७० को दशकमा पर्यटक हत्याका अन्य घटनामा पनि संलग्न थिए।

उनले फ्रान्सेली पर्यटकलाई विष दिएर भारतमा २० वर्ष जेल पनि बिताएका थिए। सन् १९७२ र १९८२ को बीचमा उनी २० भन्दा बढी मृत्युको मुद्धामा जोडिए। तीमध्ये अधिकांश युवा पश्चिमी ब्याकप्याकरहरू थिए, जो भारत र थाइल्याण्डमा हिप्पी ट्रेलमा थिए।

हिप्पीहरूले अक्सर अरूलाई आफूहरूको पाइला पछ्याउन प्रेरित गर्थे। कतिपयले आफ्नो जीविकोपार्जनको साधन बनाएर स्थायी रूपमा भारतमा बस्न थाले।

हिप्पी ट्रेल कसरी समाप्त भयो?

हिप्पी ट्रेल सन् १९७९ को अन्तमा आएर बन्द भयो।

इस्लामिक विद्रोह।

रुस र इरानको अफगानस्तान प्रवेशसँगै यो रुट बन्द भएको हो।

यता, लेवनान पनि गृहयुद्धमा फँसिसकेको थियो। चित्राल र कश्मिरमा सीमा विवाद चर्किंदै गएको थियो।

यता नेपाल पनि आफ्नो स्थापित राजनीतिक मूल्य मान्यतासँग संघर्षरत थियो।

केही समयसम्म हिप्पीहरु हवाई मार्गबाट गोवा पसे।

तर, समय परिवर्तन भइसकेको थियो। बिस्तारै पर्यटकीय नगरीहरु व्यवस्थित बन्दै जान थाले। यही कारण हिप्पीहरुको स्वतन्त्रता र खुला यौन, प्रेममा बन्देज लाग्यो।

– ऐजेन्सीको सहयोगमा 

प्रकाशित मिति: : 2024-03-16 20:10:00

प्रतिकृया दिनुहोस्