मुगु हत्याकाण्डकाे छ दिन: प्रहरीलाई हत्यारा पत्ता लगाउन सकस

शवकाे पाेष्टमार्टम हुन सकेन

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा एकै घरका चार जनाको बिभत्स हत्या भएको छ दिन वित्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाकाअनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ। घटना कात्तिक ८ गतेको भए पनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयबासीको सूचनापश्चात् थाहा पाएको थियो।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो। 

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍यायो। 

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएका मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि आजका दिनसम्म उनीहरुको शव परीक्षण हुन सकेको छैन।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ। 

घटना मृत्यु नभइ सामूहिक हत्या भएको आशंका गरी चार दिनदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोलिले तालिम प्राप्त कुकुरसहित अनुसन्धानलाई तीव्र बनाएको छ। 

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल घटनास्थलमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। 

‘अनुसन्धानलाई सघन बनाएर लगिएको छ। सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरिएको छ,’ उनले भने, ‘हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो पुग्ने आशामा छौं।’

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि हालसम्म खास तथ्य भने प्रहरीले भेट्टाउन सकेको छैन। प्रहरीले अनुसन्धानबाट कारणको नजिक पुगेको बताए पनि हत्यारा पत्ता लगाउन सकेको छैन।

प्रवक्ता भट्टराईकाअनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरुमा यसलाई प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन्। अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा समातेर सोधपुछ गरिएको छ।

अनुसन्धानमा प्रयोग गरिएको कुकुरले समेत घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेको छैन।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने मनसायले हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

ढोकामा नयाँ ताल्चा लगाइएको तर घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई उनकी श्रीमतीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँदछ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिको ठोस प्रमाण फेला पारिनसकेको बताएको छ। घटना अनुसन्धान कार्य जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दाबी गरेको छ। 

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले विविध कारणले शवपरीक्षणमा ढिलाइ भए पनि अब यो कार्य नरोकिने र अनुसन्धानलाई सूक्ष्म ढङ्गले अगाडि बढाइने जानकारी गराए।

प्रकाशित मिति: : 2023-10-30 17:09:00

प्रतिकृया दिनुहोस्