नेवारी भाषामा एउटा कथन छ, 'माक्क फुँइ' अर्थात् बाँदरको फुर्ती दिनभरि अर्थ न व्यर्थ, एता र उति गरिरहने बाँदरको कुनै घर हुँदैन तर सबैभन्दा सानो प्राणी कमिलाको पनि आफ्नो घर हुन्छ। यसको अर्थ बिनाकाम ठुलो-ठुलो कुरा गर्ने तर काम परेको बेला कुनै माखो मार्न नसक्नेलाई बाँदरे फुर्ती भनिन्छ।
यस्तै बाँदरे फुर्ती छ, एनआरएनए अर्थात् गैरआवासीय नेपाली संघको। भारतको एनआरआइबाट प्रभावित भएर सुरु गरिएको यो संघ मुठ्ठीभरका दुई/चार जनालाई फाइदा भएको होला तर अधिकांश तिनीहरुका पछि लागेका मात्र हुन्।
जहाँसम्म मेरो जानकारी छ– एनआरएनएको सुरुवात विदेशमा बसोबास गरिरहेका नेपालीहरुले नेपालभित्र लगानी गर्ने र देशलाई उन्नत बनाउने सोचअनुसार भएको थियो। आफूलाई धनाढ्य दाबी गर्ने केही व्यक्तिहरुले नेपालमा लगानी गरेका हुन् तर उत्पादनशील क्षेत्रमा भन्दा आफूलाई मात्र नाफा हुने क्षेत्र जस्तै बैंक, होटल आदिमा लगानी भित्रिएको छ। जसको कुनै ठुलो फाइदा छैन।
सानो टुक्रा जग्गामा झ्याल नभएको घर बनाएर भाडा खाने र क्यासिनोमा जुवा खेल्ने जुवाडेलाई ऋण दिने जस्ता कार्यलाई नै व्यापार मान्ने नेपाली मानसिकताको अगाडि बैंक र होटल पनि ठूलै उद्योग होला तर यस्ता प्रतिष्ठानहरुले देशको अर्थतन्त्रलाई खासै ठुलो टेवा दिँदैन।
मैले बुझेसम्म दसैँको ठिकअघि आयोजना हुने एनआरएनएको सम्मेलनको खासै अर्थ छैन। विभिन्न देशबाट प्रतिनिधि भएर नेपाल गएका प्राय:को योजना दसैँमा घर जानुहुन्छ। यस्ता सम्मेलन गरेर आजसम्म कति डलर, पाउण्ड, युरो र यान नेपाल भित्रियो, त्यो सम्बन्धित निकायलाई थाहा होला। तर एउटा सामान्य सर्वसाधारणको लागि यस्तो सम्मेलन ‘कागलाई बेल पाक्याे, हर्ष न बिस्मात’ जस्तै हो।
सम्मेलनमा सहभागीहरुले परिचयपत्र घाँटीमा झुण्ड्याएर फोटो खिच्ने र त्यो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर आत्मरतिमा रमाउने क्रियाकलाप जति हाँसो लाग्दो छ, त्यो त्यतिकै उपलब्धिविहीन पनि छ।
अरु देशको बारेमा मलाई थाहा भएन तर एनआरएन अमेरिकामा लागेका अधिकांश सदस्यहरु श्रीमतीलाई बेबीसिटर (बच्चा स्याहार्ने), नङ्गिनी (नङ घोट्ने काम), भुत्ली (भुत्ला थुत्ने काम), कान्छी (अरुको घरमा चुलाकोठा सफा गर्ने) इत्यादि काममा पठाएर आफू टाइसुटमा ठाँटिएर एनआरएनको फ्लायर फेसबुकभरि बाँडेर दिन बिताउँछन्।
कोही हप्ताको ६ दिन ‘अपान वायु’ फुत्किने गरी रेष्टुरेन्टमा चाङ प्लेट उठाएर, कोही हप्ताको ६ दिन दैनिक १२ घण्टा फिलोमा पसिना आउने गरी गाडी कुदाएर, कोही हप्ताको ७० घण्टा तिघ्रा थर्थरी कामुन्जेल उभिएर सेक्युरिटी गार्ड बन्दै, कोही ग्रोसेरी स्टोर वा पेट्रोल पम्पमा घुँडाको छाला जानेगरी सोडा-चिप्स मिलाएर, कोही नेपालको गाउँघरमा भएको जस्तै चिया–चुरोट–चमेना पाउने खुद्रा पसल थापेर। कोही ९/१० जना मिलेर रेष्टुरेन्ट खोलेर मालिक हुँ भन्ने आत्मरती लिँदै, कोही घरजग्गा-जागिर-अपार्टमेन्टको दलाली गर्दै, कोही ढाड कटक्क हुन्जेल एउटा सफ्टवेयरमा डाटा हाल्ने काम गरेर आफूलाई कम्प्युटर इन्जिनियर मान्दै, कोही ४२ दिन सीएनए पढेर म नर्स हुँ भन्दै, कोही फर्म भर्ने काम गरेर म वकिल हुँ भन्दै, कोही अनलाइन ब्लग चलाएर म पत्रकार हुँ भन्दै, कोही दुइटा गीत गाएर म कलाकार हुँ भन्दै नेपालमा भएका जोरीपारीलाई फेसबुकमार्फत कनिकुथी सान देखाउनलाई एनआरएन नामक संस्थामा होम्मिएका छन्।
अर्कोथरि नेपालमा रहँदा प्रहरी र सेनामा जागिर खाएका र सरकारले शान्ति मिसनमा खटाएको स्थानबाट भागेर अमेरिका छिरेर 'म आफ्नो देशमा बस्न नसक्ने भएँ' भन्दै नक्कली कागजपत्र पेश गरेर बसेकाहरुले कुन नैतिकताले एकपटकको नेपाली सधैँको नेपाली भन्दै छन्। त्यो पनि आठौँ आश्चर्य लाग्छ।
अधिकांश नेपालीमूलका अमेरिकीसँग जीवनयापन गर्न यथेष्ट धनसम्पत्ति होला, त्यो पनि नेपाली मापदण्डअनुसार। तर, देशमा लगानी गर्न सक्ने पैसा हुँदैन। अब तीज र तिहारमा दिदीबहिनीलाई पठाएको दक्षिणालाई पनि वैदेशिक लगानीमा गन्ने हो भने मेरो भन्नु केही छैन। जोसँग लगानी गर्ने पैसा छ, त्यसले नेपालमा किन लगानी गर्ने? जबकी मन्त्री र उसका धुपौरेहरुलाई पैसा नदिए हड्ताल र बन्द भनेर भएको लगानी पनि चौपट हुन्छ।
विदेशमा बस्ने नेपालीहरुमध्ये निकै थोरैसँग मात्र नेपालमा अर्बौँ लगानी गर्ने हैसियत छैन, अधिकांशको कमाइ अमेरिकी डलरलाई नेपाली रुपैयाँमा विनिमय गर्दा मात्र धेरै देखिएको हो, जो हास्यास्पद छ। यदि धेरै नै देखाउने हो भने नेपाली रुपैयाँमा किन जापानी येन र कोरियन वनमा विनिमय गर्यो भने झन् धेरै देखिन्छ। त्यसैले धेरैजसो एनआरएनका अभियन्ता भन्नेहरुको वैदेशिक लगानी गर्ने हैसियत छैन र एनआरएन भनेको केवल माक्क फुँइ मात्र हो।
अन्तमा दसैँअघि भएको एनआरएनको सम्मेलनमा आफूलाई सर्वज्ञाता ठान्ने दुई/चार मान्यबरले वाहियात ज्ञानले पेल्न खोज्दा समारोहमा सहभागी अथिति रामकुमारी झाँक्रीले मुखभरिको जवाफ दिएर त्यस्ता मान्यबरहरुको मुख राम्रैसँग बन्द गरिदिएको सबैलाई हेक्का हुनुपर्छ। तर त्यसको मतलब झाँक्री जस्ता नेताहरुले विदेशमा बस्ने नेपालीहरुसँग चन्दाको नाममा भिख माग्नु र अमेरिका आएको समय फोकटको भात खाने आशा गर्नु पनि हुँदैन।
@twitter#naviinr