हाम्रो राज्य राजनीति विचारले अनि बैचारिक हिसाबले पतन र आर्थिकरुपले तन्नम भएकोले जनतामा चरम नैरास्यता छ।
नेतामा इमान्दारिता र असल राजनीतिक अभ्यासको चरम खडेरी छ। देशको नेतृत्व गर्ने जिम्मेवार पार्टीका नेता होस् या मन्त्री प्रधानमन्त्री। के बोल्ने, कति बोल्ने, कुन कुरा बोल्ने भन्ने कुरासम्म हेक्का नराखी दुई/चार जना आफ्ना कार्यकर्ताले ताली पड्काइदिए उत्तेजित हुने गलत अभ्यास स्थापित नै भएको छ।
जनतामा राजनीतिप्रति र ब्युरोक्रेसिप्रति देखिएको चरम नैरास्यता सामाजिक सञ्जालमा छताछुल्ल देख्न पाइन्छ।
राजनीतिप्रति जनतामा यति वितृष्णा छ कि त्यो हेर्न बालेन साह, हर्क साम्पाङ, रवि लामिछानेहरूलाई गरिएको देवत्व कारण हेरे पुग्छ। एउटा गरीबलाई अलि धनी मान्छेले मीठो बोलिदिए तै पनि केही दिइहाल्छ कि भन्ने आश लागेजस्तै। तर, धनीले केही मात्र दिन्छ त्योभन्दा धेरै दिँदैन मेरो आवश्यकता धेरै हो, केहीले समाधान हुन्न भन्ने कुरा जनताले बुझेका छैनन्।
अहिलेको बुद्धिजीवी र पढेले/खेको युवा पनि पुराना स्थापित दलका नेतालाई गाली दिनु र केही अराजक मानिस जो धमिलो पानीमा माछा मार्न सिपालु छन्, तिनैको पछि लागेर उग्र हुनुभन्दा नयाँ विचार मिसन केही ल्याउन सकेका छैनन्। यसको मतलब अवस्था र व्यवस्थालाई धक्का दिने योजना बुद्धिजीवी युवामा पनि देखिएको छैन।
सामान्य जनताका आधारभूत तत्कालीन आवश्यकता र दीर्घकालीन समस्या समाधानको सोच न युवामा नै छ न त जान्न सुन्न नै चाहन्छन्।
पासपोर्ट बोकेर देश छोड्नु भन्दा युवाले अर्को कुनै विकल्प नै देखेको छैन। नेतालाई गाली दिनु मात्र समस्यको समाधान होला र? बेवारिसे बटुवाजस्तै हुन थालेको छ, समाज जन्ती आए नाच्दै हिन्ने र मलामी आए रुँदै जाने प्रवृत्तिबाट समाजको गन्तब्य पत्ता लाग्नेवाला छैन।
को अलि पावर र पैसा भएको छ, तिनैसँग मिलेर आफू पावरमा पुग्ने र अर्कोलाई सक्ने खेल नै अहिलेको राजनीति र सामाजिक नीति भएको छ।
नेताले भाषण गर्ने हरेक फोरमहरुमा आयोजना २०औँ वर्षसम्म नसक्किएका बारेमा बहस हुँदैन, एक/आधा घण्टाको भाषण, एक पार्टीले अर्कोलाई गाली दिने र एक नेताले अर्को नेतालाई गाली दिएर सक्ने काम भएको छ। वास्तविक समस्यमा कुनै पनि नेताले राम्रो परिणाम निकाल्ने गरी बहस, तर्क गरेको विषय वस्तुमा गहन छलफल गरेको पाइन्न।
देशका प्रधानमन्त्रीदेखि मन्त्री, प्रशासनका हाकिमहरु नै गर्नुपर्छ, गरिनेछ र कोसिस गर्नेछौं, कोसिस गरिरहेका छौं भन्ने अभिव्यक्ति दिई हिँडेको देख्दा झन आमनागरिकमा आशाहरू मरेर जाने अवस्था छ।
देशको जिम्मेवार पदमा बसेको नीति नियम, ऐन कानुन बनाउने ठाउँमा बसेको मान्छेले यति समयभित्र यो हुन्छ, गर्छु भनेर समय अवधि किटान गरेर त्यसलाई फलो गर्नुपर्ने होइन? तर त्यो हुन सकेको छैन।
कर्मचारीतन्त्र भ्रष्ट छ। बिना सेटिङ काम नै हुँदैन भन्दा पनि हुन्छ। कसलाई, कुन नेतालाई थाहा छैन होला देश सेटिङमा चलेको छ, हरेक सरकारी कार्यलयमा घुस चल्छ भनेर। कि त नेतृत्वले हामीले भ्रष्टाचार गरेका हौँ भनेर जिम्मा लिनुपर्छ, कि त रोक्नुपर्छ। चरम बेथिति देखेर पनि नदेखे जस्तो गर्ने अवस्थामा कि न हुँदैछ? देशमा कानुन छ। नियम छ, त्यो किन कार्यान्वयन हुन सक्दैन। कारण पनि सबैलाई थाहा छ तर समाधान किन हुन सक्दैन?
युवाहरू समाजका वास्तविक समस्या न त बुझ्न चाहन्छन्, नसुन्न नै। सामाजिक सञ्जालमा देखेको भरमा केही वाककला भएको मान्छेले बहकाइदिएको भरमा पछिपछि कुद्नु पनि अहिलेको समस्याको जड मान्न सकिन्छ।
कानुन नियम तोडेर खुलेआम हिँड्नेलाई पनि सरकारले कारबाही गर्न सक्दैन। अनावश्यक मानव अधिकारको चर्को रटान दिएर केही युवा रोडमा पसारिने बित्तिकै वार्ताको नाममा जस्तोसुकै माग पनि पूरा गरिदिन सरकार तयार हुन्छ। जुनसुकै, जोसुकैको सरकार आए पनि यो परम्परा नै बनेको छ। जसले समाज एकातिर अराजकतातर्फ जाँदैछ भने अर्कोतिर विधिको शासन कायम गर्न जटिलता हुँदैछ।
केही मान्छे पैसाको बलमा कानुन नै मान्दिनँ भन्दै भीड बोकेर हिँड्न सक्नेलाई सम्म युवा खुलेआम समर्थन गर्दै मौसमी नारा लगाउँदै हिँड्छ भने कि ऊ बेरोजगारी छ कि उसमा चेतना छैन। होइन भने चेतनशील युवाले के सही के गतल छुट्याएर देश समाजको बारेमा केही सोच्न सक्नुपर्दछ।
देशबाट विदेश जानु, देशमा बस्न मन नलाग्नु कसैको व्यक्तिगत कुरा हो। ८० लाख मान्छेमा सबै बाध्यताले विदेश गएका होइनन्। २१औँ शताब्दीको विश्वमा कुनै मान्छे एकै ठाउँमा बस्न रुचाउँदैन पनि। कसैलाई के कुराले तानेको होला, कसैलाई केले धकेलेको होला, त्यो व्यक्तिको कुरा भयो। तर, राज्य चरम निरीहको भ्रष्ट नेतृत्व र नेताको लुटतन्त्रको सिकार बन्नु हाम्रो बाध्यता बनेको छ।
जनताको आधारभूत आवश्यकता पूरा गर्दा हेर्दै बाहिरिनु समान्य कुरा हो। आधारभूत आवश्यकताको लागि बाध्यताले बाहिरिनु देश असफल हुनु हो, यसमा सबैले ध्यान दिन जरुरी छ।
युवा कामलाई ठुलो सानो भनेर सेवाको काम गर्नको लागि विदेशिने गरेको छन् र भन्छन्, देशमा केही छैन। उसले देशमा गर्न खोजेर कोसिस गरेको भने केही हुँदैन। कमाउँदै गरेकाहरुको तर्क चाहिँ कमाइ त हुन्छ, बच्दैन। बचाउनु, सक्काउनु त आफ्नो हातको कुरा होइन र?
समय सान्दर्भिक लेख सारै चित्त बुझ्यो