यस वर्ष जुम्लामा कर्णाली कला केन्द्र तथा सांस्कृतिक मञ्चले घाेडा दाैड प्रतियोगिता गर्यो। अघिल्ला वर्षहरुमा कम उमेरका प्रतियोगीहरु चर्चामा हुन्थे भने याे वर्ष कम उमेरकी बालिका आकर्षणकाे केन्द्रबिन्दु बनिन्।
उनी हुन तातोपानी गाउँपालिका- ३ लिताकाेटकी १४ वर्षीया श्रृष्टी कार्की। हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा ८ कक्षामा पड्दै गरेकी उनले एक वर्ष अगाडि घाेडा चड्ने आँट गरेकी थिइन्। त्याे आँटले उनलाई प्रतियोगितामा सामेल गरायाे।
ठुलो जिउ, बेलगामा दाैडाइ र चर्काे खिल्खिलाइका कारण सितिमिति नजिक जान डर लाग्ने जनावर घाेडालाई सानाे जिउ गरेकी श्रृष्टीले सहजै नियन्त्रणमा लिएकाे देख्दा धेरैलाई आश्चर्य लागेकाे थियाे। त्यसकारण उनी आकर्षककाे केन्द्रमा थिइन्।
घाेडा, घाेडी मानव जीवनलाई सरल र सहज बनाउने जनावर हुन। जसलाई प्रयाेग गर्दा सुरक्षित भइने मान्यता छ।
परम्परागत यातायातका साधनहरुमध्ये उच्च घरनाकाे साैख बनेकाे जुम्ली घाेडाकाे चर्चा दक्षिण एसियाकाे भातर र चीनमा समेत हुन्छ।
यात्रालाई सरल र आरामदायी बनाउने घाेडाकाे व्यापार पछिल्लो समय घट्दाे छ। नयाँ-नयाँ यातायातका साधनहरुकाे विकास हुनुले घाेडा प्रयाेग पनि घट्दाे छ। तर, सडक सुविधा नभएका ठाउँका लागि आज पनि घाेडा महत्त्वपूर्ण यातायातकाे साधन हाे।
त्यसैले गाउँघरमा घाेडाघाेडी आक्कलझुक्कल देख्न सकिन्छ। तीनकाे संरक्षण र प्रवर्द्धनका लागि गरिने प्रतियोगिताहरुमा मात्रै धेरै मात्रामा घाेडाहरु देख्न पाइन्छ।
सवारी साधनकाे रुपमा घाेडालाई जाेसुकैले प्रयाेग गर्ने भए पनि महिलाकाे सवारी तुलनात्मक रुपमा कम देखिन्छ। प्रतियोगितामा महिला देखिनु त दुर्लभ दृश्य नै हाे।
यस्ताे अवस्थामा श्रृष्टीकाे आँटले सबकाे ध्यान खिच्न सफल भयाे। ‘रहर लागेर घाेडा चड्न थालेकी हुँ। एक वर्ष भयाे,’ उनले भनिन्, ‘गाउँमा घाेडा चडेकाे हुनाले प्रतियोगितामा आएँ।’
उनकाे घरमा बुबा, आमा, दाइ र उनी छन्। वर्षामा घाेडाघाेडी पाटनकाे चरन क्षेत्रमा छाेडिन्छ। हिउँद लाग्ने बेला घर ल्याइन्छ। यस्ताे काम उनका दाइ गर्छन्। घाेडा घर भएकाे बेला बाजेसँगै चडेर गाउँ डुल्छिन्। त्यसरी घाेडासँग उनकाे सामीप्यता बढ्याे।
आयाेजक समितिका केही सदस्यले १४ वर्षकी सानी-मान्छे प्रतियोगितामा भाग नलेउ पनि भनेका हुन्। तर, उनले मानिनन्। उनले घोडाको चाल र कदममा भाग लिएकी थिइन्।
प्रतियोगिताकाे क्रममा एकपल्ट लडिन पनि तर उनले हिम्मत हारिनन्। पुन: घाेडा नियन्त्रण गरिन्। सानाे भर्खरमात्रै चड्न सुरु गरेकाे घाेडा हुँदा उनले साेचे जसरी दाैडाउन पाइनन्।
उनी चडेको घोडा फाइनल चरणकाे दाैडका लागि छनोटमा पनि परेन। तथापि, उनलाई आयाेजकले सान्त्वना पुरस्कार प्रदान गर्यो।
‘यसपटक श्रृष्टीले प्रतियोगितामा सहभागीता जनाउँदा अत्यन्तै खुसी लागेको छ,’ कर्णाली कला केन्द्र तथा सांस्कृतिक मञ्चका अध्यक्ष आनन्द अधिकारीले भने, ‘कार्कीको सहभागिताले आगामी दिनमा अरु दिदी-बहिनीहरुलाई पनि घोडा दौडमा सहभागी हुन हौसला मिल्नेछ। याे उत्प्रेरणा पनि हाे।’
जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यका अनुसार पहिला जिल्ला पञ्चायत र पछि जिल्ला प्रशासनले नै घोडा दौडको आयोजना गर्ने गरेको थियो। त्यसकाे अभिष्ट सरकारी कार्यालयका लागि गतिला यातायातका साधन छनाेट गर्नु थियाे।
‘जिल्लाका सबै सरकारी कार्यालयका घोडा थिए। हाकिम र बडा हाकिमहरु त्यसैमा सवार हुन्थे,’ उनले भने, ‘अहिले लोप हुने स्थितिमा पुगेपछि प्रतियोगिता आयोजना गरेर जुम्ली घोडाको महत्त्व प्रवर्द्धन गर्न थालिएको छ।’
उनले महिलाकाे सहभागिता नगन्य मात्रामा हुने बेला श्रृष्टी अपवादकाे रुपमा देखिएकाे बताए।
दसैँको हर्ष बढाइँ गर्न घोडा प्रयाेग गरिने चलन परम्परादेखि नै चलिआएकाे इतिहास तथा संस्कृतिका जानकार कनकासुन्दरी- ३ का तुङनाथ उपाध्यायले बताए।
‘इतिहासमा घाेडा कुन र कस्ताे अवस्थामा प्रयाेग गरियाे ठ्याक्कै लाेखाजाेखा छैन,’ उनले भने, ‘जब दसैँ मान्ने चलन आयाे तब हरेक वर्ष फूलपातीका दिन जुम्लामा घोडा दौड गरिँदै आएकाे थियाे।’
पहिला-पहिला सरकारी तवरबाट घाेडा दाैड प्रतियोगिता हुन्थ्याे। यसकाे स्वार्थ भनेकाे सरकारी कामकाजमा यातायातकाे साधनकाे रुपमा उत्कृष्ट घाेडा प्राप्त गर्ने थियाे। पछिल्लो समय क्लब तथा संस्थाहरुले गर्दै आएका छन्। कारण जुम्ली घाेडाकाे संरक्षण र प्रवर्द्धन गर्न।