घाइते शरीरसँग जोडिएका छन् मृत्युका अनेकौँ कथाहरू । र, मृत्युकथासँगै जोडिएको छ दस वर्षसम्म चलेको 'जनयुद्ध' । यही 'जनयुद्ध'ले दुई वर्ग जन्माएको छ- भोकै बस्ने, एक छाक खान तथा उपचारका लागि तड्पिरहेको वर्ग र सत्तामा बसेर मोज गरिरहेको वर्ग ।
यात्रासँगै थियो, सपना समान थिए र चाहना पनि समानै थिए । तर, समयको बदलावसँगै उनीहरूका सपना, चाहना फरक फरक भए । यो सबै भएको त्यही दस वर्षे 'जनयुद्ध'ले हो । यही 'जनयुद्ध'मा खुट्टामा गोली लागेर घाइते जीवन बाँचिरहेका दैलेखका नरवीर दमाईको जीवन अहिले आफैँलाई बिझाइरहेको छ ।
२०५७ सालमा पहिलोपटक बाँकेको कुसुममा दमाई घाइते भए । गोली दायाँ खुट्टामा लाग्यो । गोलीले खुट्टा वारपार गरेर आफ्नो बाटो लाग्यो । उनी पनि के कम त्यही गोली लागेको खुट्टा लिएर उपचार गर्न आफैँ पुगे । माओवादी युद्धमा घाइते भएका लडाकुको उपचार आफैँ गर्थे ।
उनका त्यो लडाइँका कमाण्डर पछि अर्को लडाइँमा शहीद भए । कमिसार कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री बने ।
दोस्रोपटक भण्डारी २०५७ साल चैत २४ गते दैलेखको नौमुलेमा घाइते भए । योपटक बायाँ खुट्टामा गोली लाग्यो । योपटक पनि उनलाई खासै अप्ठेरो भएन- नयाँ राज्यव्यवस्था ल्याउने चाह जो थियो, त्यो पनि बन्दुकको नालबाट ।तेस्रोपटक दाङको सतबरीयामा पनि गोलीसँग भेट भयो उनकाे । सामान्य उपचार भयो र सन्चो भए ।