अन्तर्राष्ट्रिय धान सम्मेलनमा नार्क सहभागी

फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सुरु भएको छ। सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई सहभागी भएका छन्।

१६ देखि १९ अक्टोबरसम्म चल्ने सो अन्तर्राष्ट्रिय धान सम्मेलनमा नेपाल, भारत, चीनसहितका विभिन्न देशका १७ सयभन्दा बढी अनुसन्धानकर्ताहरु र ९७ जना मुख्य वक्ताहरु सहभागी भएका छन्।

सो सम्मेलनमा धान उत्पादनको अनुसन्धानमा लामो समय काम गरेका वैज्ञानिक एवं धान विज्ञ, नीति निर्माताका साथै निजी क्षेत्रको समेत सहभागी रहेको छ। सम्मेलनमा विश्वमा धानको उत्पादनमा वृद्धि, वर्तमान विश्वमा धान खेतीमा आइपरेका समस्या र तिनका समाधानका बारेमा अनुसन्धानकर्ताहरुले कार्यपत्र पेश गरिहेका छन्।

उक्त सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले नेपाललाई कसरी धानमा आत्मनिर्भर बनाउन सकिन्छ, यसको लागि समस्या के छन् र अन्तर्राष्ट्रिय समूहको सहयोग किन आवश्यक छ भन्नेबारे कार्यपत्र प्रस्तुत गरेका छन्।

यसका साथै सम्मेलनमा विभिन्न चरणको छलफलमा सहभागी हुँदै नेपाललाई धानमा आत्मनिर्भर बनाउन धानसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरुसँग हुने सहकार्यको बारेमा समेत विशेष छलफल जारी रहेको छ।

सम्मेलनमा धानका विविध विषयका ४२ वटा प्लेनरी सेसनमा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफलपश्चात् विश्वको धान उत्पादनमा आवश्यक अनुसन्धानका प्राथमिकताहरु तोक्ने काम हुनेछ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार विश्वको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानले एसिया र अफ्रिकी मुलुकहरुमा रहेको खाद्यसंकट टार्न यो सम्मेलन सार्थक हुने आशा गर्न सकिन्छ।

उनले नेपालमा पनि मुख्य बालीको रुपमा रहेको धानमा विश्वका विभिन्न अनुसन्धानकर्ताहरुले विकास गरेका प्रविधिलाई अवलम्बन गरी फाइदा लिन सकिने बताए।

नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र अन्य अनुसन्धान केन्द्रहरुबाट उत्पादनशील प्रविधिहरु विकास गरिएको तर तिनलाई किसानसम्म पुर्याउने बलियो संयन्त्र नहुँदा अनुसन्धानका कतिपय उपलब्धिहरु उपयोगमा आउन नसकेको पनि उनले बताए।

प्रकाशित मिति: : 2023-10-18 15:01:00

प्रतिकृया दिनुहोस्