म गाेरखाकाे गुरुङ गाउँमा जन्मिएकाे हाे। मेरा बुबा-आमा लुगा सिउने काम गर्नुहुन्थ्याे। जब दसैँ आउँथ्याे, मेरा बुबा-आमाले रात-दिन नभनी लुगा सिलाएर गाउँलेलाई चिरिच्याट्ट पार्नुहुन्थ्याे। अष्ठमीकाे दिन गुरुङ गाउँमा भैँसी काट्ने, भैँसी काटेपछि त्याे याेनीसहितकाे पुच्छारतर्फकाे भाग हामीलाई दिन्थे। त्याे हामीले धाेएर खानुपर्ने। त्याे त हामीमाथि अपमान गरिएकाे हाे, धृणा गरिएकाे हाे।
त्यसपछि टीकाको दिन अब त रमाइलो गर्नुपर्छ भन्ने बेला हाम्रा बुबा-आमा वर्षभरि काम गरेबापत भाग माग्नु जानुपर्थ्याे। दसैँकाे भाग माग्न जाँदा हाम्राे घरकाे कुकुर बाहुनकाे घरभित्र ढुक्थ्याे तर मेरा बा-आमा बाहुनकाे दैलाेमा ढुक्थे। अनि, बाहुनले रक्सी दिन्थे। बुबाले सक्सी खाएपछि माथिबाट पानी खनाइदिन्थे, अनि बुबाले रक्सी खाएकाे गिलास पखालेर आउनुहुन्थ्याे। त्याे हाम्रा बुबा-आमामाथि गरिएकाे अपमान थियाे।
पहिला त म एकदम धर्म मान्थेँ। २००८ को अन्तिमतिर अक्फाेर्ड युनिभर्सिटीमा पढ्न जाँदा मैले मनकामना मन्दिरमा पञ्चवली बुझाएको हो।
जब म अक्फाेर्ड युनिभर्सिटी पुगेर मनुस्मृति पढेँ, त्यसकाे आधारमा बनाइएकाे १९१० काे मुलुकी ऐन हेरेँ अनि चिन्तित भएँ। ब्राह्मणवादी समाजमा हुर्किएको कारण काठमाडाैँकाे सेन्टजेभियर्स् र पाेखराकाे गण्डकी बोर्डिङ स्कुलमा पढे पनि मेरो चेत खुलेको रहिन्छ। धार्मिक परम्परा र धार्मिक शास्त्रको आधारमा हामीलाई त धुलोपिठो बनाइएको रहिछ। त्यो महसुस भइसकेपछि मैले हिन्दू धर्म सुधार हुनुपर्छ भनेर आवाज उठाउन थालेँ।
कानुनले बर्जित गरेकाे जातीय विभेदलाई पनि संस्थापक गर्ने चाडबाडहरु रहिछन्। जस्तै जनै पूर्णिमा र दसैँ। यो आवाज उठाउन मैले दसैँ बहिष्कार गरेको हो।
दसैँमा भेटघाट गर्ने, खानपिन गर्ने, सहरबाट गाउँ जाने, आफन्तहरु भेट्ने र सामाजिक सम्बन्धहरु पुन: स्थापित गर्ने काम राम्रो हो। दसैँ मान्नको लागि हिन्दू नै हुनुपर्छ भन्ने पनि छैन, जसरी क्रिसमस मनाउने क्रियश्चियनमात्र हुँदैनन्, संसारभरि मनाइन्छ। त्यस अर्थमा सामाजिक हिसाबमा दसैँ ठिक छ। तर, दसैँमा धार्मिक, सांस्कृतिक र टीक बहिष्कार गर्नुपर्छ।
मैले दसैँको टीक बहिष्कार गरेको सात वर्ष भयो। र, अरु दलितहरुलाई पनि म दसैँ बहिष्कार गर्न अनुरोध गर्छु। कुनै देवी–देउता नपुज्नुहोस्, कुनै टीका नलगाउनुहोस्।
तपाईं हामीले दसैँमा टीका माता–पिता वा मान्यजनको हातबाट लगाए पनि दुर्गा भवानीको प्रसाद भनेर लगाउने हो। अनि, त्यो दुर्गा भवानी फेरि पौराणिककालदेखि नै एउटा शक्तिशाली देवी, जसको मद्दतबिना विष्णुले पनि मधुकैठपजस्ता दानवमाथि विजयी हासिल गर्न नसक्ने। ब्रह्म, विष्णु, महेश्वर हिन्दू धर्मका प्रमुख देवता। उनीहरुले दुश्मनलाई पराजित गर्न पनि यिनै देवीको साहायता लिनपर्ने अरे? त्यहाँसम्म ठिक छ। हामीले पनि पूजा गर्न चाहन्छौँ। तर, त्यो बेलाको पौराणिककालको दानव भनेको हामी पो रहेछौँ क्यारे। किनभने, हामीले पूजा गर्न मन्दिरभित्र पस्न खोज्दा लात खान्छौँ।
कामीहरुले बत्ती बाल्ने पालादेखि शक्तिपीठहरुमा चाहिने हात-हतियारहरु बनाएको हुन्छ। तर, ऊ मन्दिरमा छिर्न पाउँदैन। त्यसैगरी दमाईले घटस्थापनादेखि मन्दिरको छेउमा बसेर दमाह ठाेक्नुपर्ने हुन्छ। भनेपछि दलितको सीप, साधना र संगीत नभइकन त्यो देवीको पूजा नहुने तर त्यही देवीलाई हामीले छुन नपाउने र चितवनमा भीम विकजस्तो ज्यानै जानुपर्ने? यो अन्याय र अत्याचार कहिलेसम्म सहने त?
धार्मिक र राजनीतिक सत्तालाई मेरो प्रश्न छ। हामीले छुँदा साँच्चै नै दुर्गा–देवी रिसाउने हो भने हामी देवी देउता पुज्दैनौँ अर्काै धर्ममा जान्छौँ। दुर्गा–देवी रिसाएको होइन मान्छेमात्र रिसाएको हो भने ती मानिसहरु परिवर्तन हुनुपर्छ कि पर्दैन? त्यही प्रश्न उठाउनको लागि नै मैले टीका बहिष्कार गरेको हुँ।
दसैँ बहिष्कार गर्दा समाज भाँडिन्छ भन्ने तर्क गर्छन्। भाँडिन त यो समाज पहिलै भाँडिएको हो। मलाई कहिलै हिन्दू बन्न दिइएकै छैन। मैले पनि अन्तरघुलन नै खोजेको हो। तर, आत्मसम्मान सहितको। एज् अ दमाई, म पनि बाहुनसरह हुन चाहन्छु। मेरो छोराले पनि जनै लगाउन पाउनु पर्यो। र, कुनै पनि दलितलाई मठमन्दिरमा निषेध गर्न भएन। दलितले पनि मन्दिर ढोग्न पाउनुपर्छ। समतावादी संस्कृति बन्यो भने दसैँ नमान्ने भन्ने कुरा छैन। मैले नमानौँ वा ध्वस्त पारौँ भनेको होइन। जति पनि जातीवादी, अमानवीय, विभेदकारी संस्कारहरु छन्, त्यो चाहिँ निमिट्यान्न पार्नुपर्छ। त्यसकाे लागि हामीले ठुलै धक्का नदिएसम्म राज्य सत्ता र धार्मिक सत्ताले सुधार गर्दैन।
त्यसैले अलिकति पनि आत्मसम्मानको ख्याल हुने सम्पूर्ण दलितलाई दसैँको टीका यो वर्षदेखि च्वाट्टै छाड्न र सांस्कृतिक विद्रोहका रुपमा उठ्न अनुरोध गर्छु। दसैँमा साथी–भाइ भेट्न सकिन्छ, घुम्फिर गर्न सकिन्छ, पुस्तक पढ्न सकिन्छ, म त खान्न तर खानेले रक्सी खाउन्, उफ्रिउन्, नाचुन्, खसी खाउन्, समस्या छैन।
(दलित अधिकारकर्मी परियारसँग बिएलकर्मी कमल विकले गरेकाे कुराकानीमा आधारित)
भिडियाे :