मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने

रोयर्टस
रोयर्टस

भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन्। 

‘यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्’, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ। यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख नगरेको पनि आरआइए नोभोस्तले बताएको छ। 

गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताएका थिए। ‘एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ’, आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन्।

गत सेप्टेम्बर ९–१० मा नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भएका थिएनन्। उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्व गरेका थिए। 

पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्गठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो। सो क्रममा प्रधानमन्त्री मोदीले ‘मलाई थाहा छ आजको युग युद्धको होइन’ भन्दै युक्रेनसँगको रुसको जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए। 
 

प्रकाशित मिति: : 2023-10-12 18:20:00

प्रतिकृया दिनुहोस्