नेपालका गाउँहरूमा स्कुल बनाउँदै हिँड्ने दाहाल एनआरएनमा चुनाव लड्दै

गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउँदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनुपर्ने बताउँदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफू सचिव पदका लागि अघि सरेको जनाए।

को हुन् लोक दाहाल?

केही वर्ष अगाडि नेपालको राउटे बस्तीको लागि वैदेशिक सहयोग जुटाएर लोक दाहालले स्वास्थ्य शिविर चलाएका थिए। विदेशी डाक्टरहरुलाई समेत लगेर उनी राउटे बस्ती पुगेका थिए। त्यसपछि अन्तराष्ट्रिय स्तरको स्वास्थ्य क्षेत्रमा उनको नाम परिचित छ।

त्यसयता दाहालले अफ्रिका, मध्यपूर्वलगायत कैयौँ देशका दुर्गम भेगहरुमा स्वास्थ्यको लागि काम गरिसकेका छन्। उनी आफैँ डाक्टर त हैनन् तर डाक्टर, औषधि र मेडिकल उपकरणहरु जुटाएर प्रभावित क्षेत्रमा पुराउने गरेका छन्।

हालसालै टर्कीको भूकम्पमा परी घाइते तथा बिरामी भएकाहरुको उपचारको लागि पनि दाहालको टिमले उल्लेखनीय भूमिका निभाएको थियो।

बेल्जियममा रहेको परोपकारी संस्था भि-मेडको कार्यसमिति सदस्यमा रहेका दाहालले नेपालको दुर्गम भेगहरुमा विद्यालय र स्वास्थ्यचौकी निर्माणमा सहयोग गर्दै आइरहेका छन्।

धादिङमा रहेको बद्री विशाल स्कुलको लागी भवन निर्माण उनकै पहलमा गरिएको थियो। बद्रि विशाल जस्ता दर्जनौ स्कुलहरुको स्तर उन्नतीको लागी दाहालले आर्थिक सहयोग जुटाएका छन्। 

‘कता कुन बिरामीलाई कसरी उपचार भयो म भन्न चाहन्न, स्कुलको कुरा पनि शिक्षामा सेवा गरेको कुरा हो। त्यो पनि प्रचार गरिरहनु परेन तर यति भन्छु, नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा हामीले लगानी गर्नैपर्छ। त्यसको लागि मैले त बाटो देखाउने काम मात्रै गरेको हो। गैरआवसीय नेपालीहरुले अब नाफा मात्रै हैन, सेवा पनि गर्नुपर्यो’, दाहाल भन्छन्, मातृभूमिको माया सबैलाई छ, तर सेवा कसरी गर्ने भन्ने अन्योल छ, त्यो अन्योलता अब हामी चिर्छौँ।’

नेपालमा भूकम्प जादा उनी एनसीसी बेल्जियमको महासचिव र अध्यक्षको रुपना कार्यरत थिए। त्यस बखत भुकुम्प पीडितका लागि कराेडौँ आर्थिक सहयोग संकलनका लागि उनले अभियान चलाएका थिए। बारपाकमा भूकम्प प्रतिरोधी घरहरु बनाउनला लागि दाहालको समेत सक्रियता रहेको थियो।

दाहालले कोषाध्यक्षका रुपमा काम गर्दा केन्द्रीय कार्यालयको खर्च तथा सभासम्मेलनहरुमा हुने अनाश्यक खर्च कटौती गरेका थिए। त्रैमासिक रुपमा संस्थाको आर्थिक विवरण प्रकाशनको थालनी पनि उनको कार्यकालमा भएको छ।

आर्थिक रुपमा अत्यन्तै पारदर्शी छवि बनाएका दाहालले यसअघिका कार्यसमितिहरुले भन्दा मितब्यी भएर काम गरेका थिए। कोषको पैसालाई शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्ने उनको धारणा छ।

लामो समयदेखि परिवारसहित बेल्जियममा बसेर होटल, रेष्टरेन्ट गर्दै आइरहेका दाहालले यसपालि आफूले सचिव पदमा चुनाव जिते गैरआवसीय नेपालीहरुको हितमा र नेपालको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

‘म विदेशमा भएका नेपालीहरुको मात्रै हैन स्वदेशमा रहेका नेपालीहरुको पनि चिन्ता गर्छु, देश आर्थिक रुपमा फड्को मारोस् भन्ने चाहन्छु, त्यसका लागि गैरआवसीय नेपाली नागरिकहरुलाई गोलबन्द गर्नु मेरो कर्तव्य हुनेछ।’ उम्मेदवारी घोषणापश्चात दाहालले भने, ‘राज्यसंग हाम्रो मुद्दाहरु यथावत छन्, तर जिम्मेवारीहरु पनि छन्, हामी दुबै कुरालाई संगसंगै मिलाएक अगाडि बढाउन चाहन्छौँ।’

नाफा मात्रै नहेरी सेवाको क्षेत्रामा पनि लगानी बढाउनुपर्छ भन्ने मान्यता राख्ने यिनै दाहालले यतिखेर गैरआवसीय नेपाली संघको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औँ महाधिवेशन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौँमा हुँदैछ।

‘चुनावी कार्यक्रम त एउटा प्रकिया मात्रै हो। यसअघि पनि चुनाव भएकै हुन्। देशका लागि केही गर्न सकियो कि सकिएन, गैरआवसीयहरुको सम्मान भयो कि भएन त्यो ठूलो कुरा हो’, दाहाल भन्छन्, ‘गैरआवसीय नेपालीहरुले मेरो काम हेरेकै होलन्, भोट पाउँछु भन्नेमा ढुक्क छु।’

प्रकाशित मिति: : 2023-09-29 14:46:00

प्रतिकृया दिनुहोस्