डाक्टर कुटिरहेको देश

मिनु गोले

काठमाडौं

बिहान पाँचै बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी गोमा घिमिरेलाई लागेको थियो, ‘आज त डाक्टर भेटिन्छन्।’

अपस्ताल छेउको एउटा कुनामा घामबाट ओतिएर बसिरहेकी गोमा त्यो बेला अचम्म परिन्- जब डाक्टरहरूको हुल नारा लगाउँदै सडकमा निस्किए।

अब उनीहरू आउलान् कि नआउलान्? अलमलिएका आँखाले ती डाक्टरहरूलाई हेरिरहेकी गोमा भन्दै थिइन् ‘१५ दिन भो काठमाडौँ आएको। डाक्टर भेट्न पाँचै बजे उठेर आएको।’

आफ्ना श्रीमान अनि बुहारीलाई साथ लाएर आएकी गोमा अल्सरबाट पीडित छिन्।

अस्पतालका डाक्टर किन निस्के? उनलाई केही थाहा छैन। फेरि फर्की आएर आफूलाई चेक/जाँच गरी औषधि लेखिदिन्छन् कि भन्ने आशमा उनको मन अस्पतालबाट जान मानिरहेको छैन।

‘औषधि सक्किन लाग्यो। अझै कतिदिन बस्नुपर्ने हो?’ गोमालाई थाहा छैन, ‘अब यी डाक्टर हामीलाई जाँच्न फर्किन्छन् कि फर्किन्नन्?’

दाङको तुलसीपुरबाट टिचिङ आएका ६१ वर्षीय काले दमाई अस्पतालबाट छिर्दै गर्दा उनलाई पनि ठलमठेल गरी डाक्टरहरू नारा लगाउँदै बाहिर निस्के।

पिसाबको थैलो झुन्ड्याएर उनी लौरो टेक्दै अस्पताल परिसरमा यताउति भौतारिइरहेका थिए।

‘अरूमा जाने त पैसा पनि छैन। अप्रेसन गर्नपर्छ भनेका हुन्। सरकारी अस्पतालमा केही होला भनेर आएको डाक्टरै छैनन्’, उनलाई पनि थाहा छैन, ‘कति दिनसम्म डाक्टर कुर्नुपर्ने हो?’

गोमा र काले दमाईजस्ता हजारौँ बिरामीहरू मंगलबारदेखि अस्पतालमै डाक्टर कुरिरहेका छन्।

डाक्टरका आफ्नै दु:ख

तर, सडकमा निस्केका डाक्टर फेरि अस्पतालका ओपिडी (बहिरङ्ग), इमर्जेन्सी र वार्डहरूमा कहिले ‘राउण्ड’ मार्छन् त्यो निश्चित छैन।

ठाउँ- ठाउँका अस्पतालमा डाक्टर कुटिन थालेपछि देशभरिका डाक्टरहरू अस्पतालमा बिरामी छोडेर सडकमा उत्रिएका छन्। बिरामीका ज्यान हेर्ने उनीहरू अहिले आफ्नै ज्यानको ‘ग्यारेन्टी’ मागिरहेका छन्।

तर, सरकारले त्यसलाई ‘अनदेखा’ गरिरहेको छ। स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकार हो र राज्यले नागरिकलाई दिने सबैभन्दा आधारभूत र संवेदनशील सेवा हो।

हरपल बिरामीले उपचार पाउनुपर्ने स्वास्थ्य संस्थाहरूमा ४८ घण्टा भयो, डाक्टर छैनन्। उनीहरूलाई अस्पताल फर्काउने सरकारी प्रयास मंगलबार रातिसम्म पनि सफल हुन सकेन र बुधबार पहिलो प्रहरमै डाक्टरहरू फेरि सडकभरि सेताम्य देखिए।

सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एक जना डाक्टर कुटिए। उनी त्यही अस्पतालका ‘रेजिडेन्ट’ अर्थात्, आवासीय डाक्टर हुन्।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका– ७ का २७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएको थियो।

त्यसपछि उनका आफन्तहरूले ‘डाक्टरको लापर्बाही’ भन्दै डाक्टरहरू अस्पतालमै थुनिदिए। भेटिएकालाई कुटपिट गरे र अस्पताल तोडफोड पनि गरे।

केही समयअगाडि हेटौडाको सञ्चो अस्पतालमा कार्यरत २ जना डाक्टरमाथि कुटपिट भएकाे थियो।

यसैगरी असोज २ गते राति कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेबमाथि कुटपिट भयो।

निरन्तरका यस्ता घटनाहरूले ‘कार्यस्थल’मा स्वास्थ्यकर्मी असुरक्षित भएको भन्दै अब डाक्टर अनि स्वास्थ्यकर्मीहरू आफ्नै ज्यानको सुरक्षा माग्न सडकमा निस्किएका छन्।

‘हामीले हाम्रो सुरक्षा मागेका हौं। हाम्रो ज्यानको ग्यारेन्टी हुनेगरी सरकारले प्रतिवद्धता नजनाएसम्म अब हामी काम फर्किन्नौं’ सरकारी चिकित्सक संघ(गोदान)का अध्यक्ष डा.समाज गौतम सरकारलाई प्रश्न गर्छन्, ‘बिरामीलाई उपचारबाट बञ्चित गर्नुहुन्न भन्ने हामीलाई पनि थाहा छ तर हाम्रो ज्यानको सुरक्षा कसले गर्ने?’

डाक्टर कुटिरहेको देश

एकपछि अर्को डाक्टरमाथि कुटपिट र स्वास्थ्य संस्थाहरूमा आक्रमण हुन थालेपछि अहिले देशभरिका डाक्टरहरूले ‘स्वास्थ्य क्षेत्रमा संकटकाल’को माग उठाउन थालेका छन्।

‘विदेश पलायन हुन बाध्य नपार सरकार’ भन्दै सडकमा ज्यानको सुरक्षा मागिरहेका स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यस्थलमा सुरक्षाका लागि हदैसम्मको कानुनी र नीतिगत व्यवस्थाका लागि उनीहरूले माग गरिरहेका छन्।

साता दिनमै देशभरि आधा दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट र त्यत्तिकै स्वास्थ्य संस्थाहरूमाथि आक्रमण पनि भइरहेको छ।

स्वास्थ्यकर्मीका हकहितका लागि गठन भएका संघ संस्थाहरूले निरन्तर विज्ञप्ति निकालेर घटनाहरूको विरोध गरिरहेका छन् र डाक्टरहरूको आन्दोलनलाई समर्थन गरिरहेका छन्।

सरकार यसबारे औपचारिक रुपमा त बोलेको छैन तर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मेवारी सरकारले नै लिने बताएका छन्।

बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए।

‘हामी यस्ता घटनाप्रति सचेत छौं। स्वास्थ्यकर्मी र उहाँले काम गर्ने ठाउँमा सुरक्षाको प्रत्याभूति गराउने विषयमा गृहमन्त्रालय पनि गम्भिर छ’, काठमाडौँका सडक डाक्टरहरूले ढाकिरहेका बेला चितवन गएका स्वास्थ्यमन्त्री बस्नेतले त्यहाँ पत्रकारहरूसँग भनेका छन्, ‘म सम्पूर्ण चिकित्सकहरूलाई आन्दोलन छोडेर काममा फर्किन आग्रह गर्दछु।’

उनले चिकित्सको सुरक्षा र कार्यस्थलमा काम गर्ने भयमुक्त वातावरणका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय र छलफल भइरहेको पनि बताएका छन्।

‘दिन प्रतिदिन दुःखद् घटना भएका छन्। यो खेदजनक छ। यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबीच छलफल भइरहेको छ’, उनले भनेका छन्, ‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो।’

यसअघि मन्त्री बस्नेतले मन्त्रालयलाई विज्ञप्ति निकाल्न लगाएर स्वास्थ्यकर्मीका माग सम्बोधन गर्ने प्रयास गरेका थिए।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चिकित्सक कुटपिटका घटनामाथि मन्त्रालयका तर्फबाट ‘खेद व्यक्त’ गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेका थिए।

मंगलबार नै सरकार र आन्दोलनरत स्वास्थ्यकर्मीहरूबीच वार्ता पनि भएको थियो। तर, त्यो वार्तामा कुनै सहमति हुन सकेन र बुधबार फेरि डाक्टरहरू आन्दोलनमा निस्किए।

साथै उनले ‘स्वास्थ्यकर्मी सुरक्षासम्बन्धि जानकारीमूलक बोर्ड राख्न’ पनि सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएका थिए।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६(पहिलो प्रशोधन २०७९) दफा ३ र दफा १५ को ‘कानुनी व्यवस्थालाई सेवाग्राही एवम सरोकारवाला सबैले देखिने गरी जनकारीमूलक सूचना पाटी (फ्लेक्स बोर्ड) बनाई अस्पताल परिसरमा राख्नुपर्छ’ उनले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित मिति: : 2023-09-27 14:39:00

प्रतिकृया दिनुहोस्