महोदय, नेपाल न बस्नै नसकिने छ, न हुन्छ

केही समययता 'नेपालमा कोही किन बसोस् ?' भनेर एजेण्डा सेटिङ गर्न थालिएको छ।त्यस्तो केही पनि हैन; बिटुलिएको राजनीति,भाँडिएको समाज, बढ्दो एनजीओ खेतीका कारण केही समस्या देखिएका छन् यद्यपि नेपाल अझैपनि अगणित सम्भावना बोकेको देश हो। 


यो निस्कर्ष हो। तर, यो निस्कर्षमा पुग्नुपहिले देशको वर्तमान अवस्थाको चिरफार गरौं। 

नेपालको राजनीति भद्रगोल स्थितिमा पुगेको छ। यही राजनीतिक स्थितिका कारण देशको अवस्था डाँवाडोल हुँदैछ। देशको संविधान र निर्वाचन प्रणाली मिश्रित छ। कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन। त्यस्तो अवस्थामा वैचारिक आधारमा गठबन्धन बन्नुपर्ने हो, त्यस्तो संस्कारको विकास र सम्भावना पनि टाढिदैछ।

देशका ठूला दलहरूको नेतृत्व पूरै असफल भएको छ। दलमा नीति निम्सरो भएको छ। ल्याकत नभएका र नियत खराब भएको नेतृत्वले आआफ्ना दल कब्जा गरेका छन्। प्राविधिक बहुमत जुटाएर एकलौटी गर्दा दलको आन्तरिक लोकतन्त्र नै मुर्छा परेको छ।

देशको ऐठन लाग्ने यो राजनीतिका कारण जनता विरक्तिएका छन्। उनीहरूमा बढ्दो चरम, कुण्ठा, निराशा र हतासाले नयाँ, स्वतन्त्र र निर्दलीय विकल्पको खोजी गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। तर, मुलुकको संविधान, राजनीतिक पद्धति र संयन्त्र बहुदलीय र गणतन्त्रको फ्रेममा भएकाले त्यस्तो उल्टो खोजी टाउको दुखेको दबाइ नाइटामा लगाई जस्तो अवस्थामा छ।

देशको मूल एजेण्डा नै युवा पाखुरी विदेश पठाएर तिनीहरूले पठाएको रेमिट्यान्सले देश चलाउने भन्ने छ। यसले गर्दा देशको उर्वरभूमी बाँझो हुदैछ। पहाड त लगभग बाँझो नै भैसक्यो भने पनि हुन्छ। खासगरी पहाडका गाउँमा खेताला, गोठाला, जन्ती र मलामी नपाउने स्थिति सिर्जना भैसकेको छ। तन्नेरीहरू विदेशीदा उनीहरूले छोडेका जवान श्रीमतीहरूमा उत्पन्न विभिन्न किसिमका मानवीय एवं जैविक चाहना सम्बोधन हुन नसक्दा सामाजिक विचलन बढ्दो छ।

देशको अर्थतन्त्रका सारा सूचांकहरू नकारात्मक मोडमा पुगेका छन्। सरकारसँग पर्याप्त मात्रामा तलव र पेन्सन खुवाउने पैसा पनि नभएको निराशलाग्दो समाचार बाहिरिएको छ। भ्रष्टाचार संस्थागत भएको छ। राजनीतिमा अपराधिकरण अनिवार्यजस्तै छ। सुशासन त धेरै टाढाको कुरा जनताले राज्यबाट पाउँनुपर्ने न्युनतम शासन पनि पाएका छैनन्।

केही समययता नेपालमा केही पनि हुँदैन, यहाँ भविष्य छैन भन्ने खालको एकहोरो रटान लगाउँदा यसले एजेण्डा सेटिङको काम गरेको छ। र, मानिसहरू यो वा त्यो वहानामा देश छोड्न हतार गरिरहेका छन्। कुनै पनि देशमा विद्यार्थी, कामदार, बुहारी, ज्वाईँ, धर्मपुत्र धर्मपुत्री जे जे भएर जान पाइन्छ, त्यही त्यही भएर जाने नेपालीको संख्या बढ्दो छ। यसले गर्दा मानव बेचबिखन र ओसारपसार पनि फलिफापको व्यवसाय भएको छ।

अमेरिका, क्यानडा र युरोपेली मुलुकमा नेपाली शरणार्थीको संख्या बढ्दो छ। शरणार्थी हुँदै स्थायी बासिन्दा हुने र नागरिक हुने क्रम ह्वात्तै बढेको छ। गत वर्ष अमेरिकाको नागरिकता लिने नेपालीको संख्या मात्र पाँचहजार माथि रहेको थियो।

यही क्रममा नेपालका कर्पोरेट मिडियाका ठूला एजेण्डा सेटरहरूले ‘कोही किन देशमा बसोस् ?’ भन्ने पे–अफ लाइनमा बुद्धिबिलास सुरू गरेका छन्। एक किसिमको जन्ती जर्नालिज्मकै आकार लिएको यो एजेण्डा सेटिङले थप निशराशाको खेती गरेको छ। यसबाट प्रत्यक्ष÷ अप्रत्यक्ष रूपमा देश छोड्नुपर्ने रहेछ भन्ने खालको सन्देश ग्लोरिफाइ भैरहेको छ।

देशको राजनीति मात्र बिथोलिएको हैन, कर्मचारीतन्त्र पूरै बिचौलियाको हातमा पुगेको छ। न्यायालय विकाउ भएको छ। न्यायामूर्तिहरू बिचौलिया र ठूला कालाकोटेको सेटिङमा चलेका छन्। अपवाद बाहेक या त उनीहरू न्याय दिइरहेका छैनन्, या त सेटिङमा निर्णय नै नदिएर अन्याय गरिरहेका छन्। प्रहरीमा पुरै राजनीति हाबी हुँदा यसले शान्ति सुरक्षा दिन्छ भन्ने विश्वास नै उठेको छ। सेना कसरी आफ्नो जम्बो साइजको ओचित्य पुष्टी गर्ने भन्नेतिर लागेको छ। त्यसका लागि ठेक्कापट्टामा भिड्नु उसका लागि एक किसिमको बाध्यता बनेको छ।

नागरिक समाज पश्चिमाहरूको खेताला भएको छ। यो वा त्यो नाममा उसकै एजेण्डाको बन्सो छर्ने, उमार्ने, गोडमेल गर्ने र फलाउने काममा व्यस्त छ। यो सबै ‘ओपन–सिक्रेट’ हुँदा नेपालको नागरिक समाज इतिहासमै सबैभन्दा बढी अविश्वसनिय हुन पुगेको छ। परिणामतः सोसल अडिट नहुँदा राज्य असनको साँढेजस्तो भएको छ।

यो अराजक स्थितिमा मौलाउने भनेको समानान्तर अर्थतन्त्र नै हो। त्यो मौलाएर यस्तो खवस्था सिर्जना भएको छ कि अर्वौ रूपैया राष्ट्र बैकको लेखाजोखाबाटै बाहिरिएर गाडधन भएको छ। हुण्डी, क्रिप्टो, क्यासिनोको समानान्तर बैंकिङ चलेको छ। परिणामतः नेपाल प्रोक्सी उद्योग, व्यवसायको धन्दा चलाएर रातारात धनी हुनेहरूका लागि स्वर्गभूमी भएको छ।

प्रस्तुत पृष्ठभूमिमा नेपाल बनाना रिपब्लिक हुने दिशामा द्रुततर गतिमा अगाडि बढिरहेको छ। यो गति बढ्दै जाँदा अन्ततः नेपाल असफल राष्ट्र हुने हो।

देशलाई यो परिस्थितिमा पुर्याउन सबै जिम्मेवार छन्। फरक मात्राको मात्र हो। जोसँग ठूलो अधिकार र कार्यक्षेत्र थियो, उनीहरूले धेरै बिगारे, जोसँग कम थियो कम नै बिगारे। जोसँग अधिकार नै थिएन भनिन्छ नि जनता, उनीहरूसँग त झन ठूलो अधिकार थियो मतदानको। उनीहरुले पनि खराव दल र नेतालाई एकपटक हैन, पटकपटक चुनेर बिगारे। तर, दुर्भाग्य कोही पनि आफूलाई जिम्मेवार ठान्दैन। बाध्य भएर ठानीहाले पनि अरूलाई धेरै जिम्मेवार र आफूलाई कम जिम्मेवार ठान्छ।

देशको मूल नीति राजनीति हो। त्यसैले यो परिस्थिति निर्माणका लागि सबैभन्दा बढी जिम्मेवार कोही छ भने देशको राजनीति नै छ। मूलतः राजनीतिका दुई भाग हुन्छन्, राजनीतिक दल र तिनीहरूका नेता। त्यसैले नेपाललाई बनाना रिपब्लिक बनाउन राजनीतिक दल र तिनीहरूका नेता नै जिम्मेवार छन्।

त्यसमा पनि यो परिस्थिति निर्माण गर्न नेपालका कम्युनिष्टहरू सबैभन्दा बढी जिम्मेवार छन्। २०४६को ऐतिहासिक जनआन्दोलनपछि नेपालमा एकाध वर्षलाई छोडेर सधैभरी यो वा त्यो नामका कम्युनिष्ट पार्टी र तिनीहरूका नेताले सत्ताको बागडोर सम्हाल्दैआएका छन्। यस अविधमा अहिलेसम्म जिवित सरकार प्रमुख भनेका कम्युनिष्ट इतरका तीनजना शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मी मात्रै हुन्।

यी तीनजना सरकार प्रमुख पनि कम्युनिष्टहरूको सहकार्यमै बनेका हुन्। अपवादमा रहेका शेरबहादुरले एकपटक राजाको कृपामा र एकपटक एकमना सरकारको नेतृत्व गरेका थिए। तर, कम्युनिष्ट प्रधानमन्त्रीको सूची बनाउने भने लामै छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’, के पी शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई। त्यसैले अहिलेको परिस्थिति सिर्जना गर्नमा मूलतः नेपालका कम्युनिष्ट पार्टी र तिनका नेता नै जिम्मेवार छन्।

अहिलेका लागि नेपालको राजनीतिक कोर्स करेक्सन गर्ने एउटा अप्रिय र कठोर प्रेस्कृप्सन के हुन सक्छ भने कि त कम्युनिष्टहरूको चरम सत्तालिप्सा र अवसरबाद सकिनुपर्यो कित कम्युनिष्ट नै सकिनुपर्यो। त्यसपछि मात्र कोर्स करेक्सन भएर नेपालको राजनीति मूलबाटोमा आउँने छ। अनि, सुखद् सम्भावनाका ढोकाहरू क्रमश: खुल्दै जानेछन्।

नेपालमा अझै पनि गरीवी, पछौटेपन, अशिक्षा र विभेद कायमै छ। जबसम्म यी सबै भएको असमान समाज रहन्छ, तबसम्म कम्युनिष्ट पार्टीको नाममा खेती रहन्छ, तिनका नेताहरूका लागि खुदो पल्टिन्छ। यस्तो समाजमा यी सबै हटाउने बाचाको सपना बिक्छ, अहिलेसम्म नेपालमा कम्युनिष्टहरूले बेचेको त्यही सपनाको फुको सातु नै हो।

यसोभन्दा कसैका लागि अप्रिय होला तर, सत्य के हो भने नेपालका कम्युनिष्टहरूमा सत्ताको चरम आशक्ति देखिएको छ। सरकार चलाउने न्यूनतम योग्यतासमेत नभएको अवस्थामा यस किसिमको आशक्ति एक किसिमको चरम अवसरवादको भद्दा प्रदर्शन नै हो। यो वा त्यो नाममा सत्तामा जाने र त्यहाँ टिक्नका लागि सारा मूल्य, मान्यता, सिद्धान्तको तिलाञ्जली दिने एक किसिमको रोग नै लागेको छ कम्युनिष्ट नेताहरूलाई।

यो रोगले ती कम्युनिष्ट नेताको व्यक्तित्व त लिलिपुट भएको छ नै, नेपालमा कम्युनिष्ट पार्टीको आयु पनि तीब्र गतिमा छोटिदै छ। अरूको कुरै नगरौ, अहिलेका तीन ठूला कम्युनिष्ट नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालमा यो चरम अवसरबाद यही मात्रामा रहने हो र व्यक्तित्वको स्खलन पनि यही गतिमा हुने हो भने २०८४ सालको निर्वाचनमा नेपालमा कम्युनिष्ट पार्टी कहिलै सत्तामा नफर्कने स्थितिमा पुग्नेछ।

धेरै टाढा जानै पर्दैन, २०८४ कै चुनावमा कांग्रेस अन्तरपार्टी एकता मजबुत गरेर चुनाव लड्यो भने मात्र पनि एक्लाएक्लै चुनाव लड्ने अवस्थाका कम्युनिष्टहरूको बातो बसाउँछ। अझ अगाडि बढेर राप्रपा, रास्वपा, लोसपाजस्ता दक्षिणपन्थी शक्तिहरूको गठबन्धन बनायो भने कम्युनिष्टको दशा अर्कै हुन्छ। त्

यतिमा मात्र नअडेर, हिन्दूराष्ट्रसहितको संवैधानिक राजसंस्थाको नारा लिएर कम्युनिष्टविरूद्ध मोर्चाबन्दी नै गर्यो र कम्युनिष्टहरू एक्लाएक्लै चुनावमा गए भने त उनीहरूको सिलासाङ्लो नै खोज्नुपर्ने हुन्छ। मुलुकमा विकसित हुँदै गएको पछिल्लो स्थिति र भारतमा चलेको राजनीतिक हावा हेर्दा माथिका कुनै पनि सम्भावना यथार्थमा परिणत नहोलान् भन्न पनि सकिन्न।

अहिले देशमा एमालेविरोधी र एमालेसमर्थक गरी दुईथरि कित्ताकाँट छ। यो कुनै वैचारिक धरातलमा आधारित छैन। ओलीको चरम तानाशाहीबाट उत्पन्न अस्थिरता र संविधानलाई जोगाउन सुरू भएको यो उल्टो कित्ताकाँट हो। अझै पनि यो कायमै छ र छिट्टै सुल्टिने छाँटकाँट पनि देखिदैन।

यसलाई सुल्ट्याउन कम्युनिष्टहरूबीच वैचारिक गठबन्धन हुँदै पार्टी एकतासम्म पुग्नुपर्ने हुन्छ। तर, अझै पनि कम्युनिष्ट नेताहरूको शुद्धि फिरिसकेको छैन। त्यसमा पनि ओलीको सरफिरा प्रवृत्तिमा कुनै कमी आएको देखिँदैन। उनको निशानामा कमल थापाभन्दा पनि माधव नेपाल र राप्रपाभन्दा पनि नेकपा एकीकृत समाजवादी छ। नेपाल र एसलाई राजनीतिक रूपमा नामोनिशान बनाउन उनी जे गर्न पनि तयार छन्।

उनको दोस्रो निशानामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा माओवादी केन्द्र छन्। कम्युनिष्ट नामका यी दुई पार्टीलाई छाँसियो भने एमाले नामको आफ्नो कम्युनिष्ट पार्टी मात्र सत्ताको वरिपरि हुन्छ भन्ने उनको भ्रम छ। तर, यसो गर्दा अन्ततः उनको पार्टी पनि सकिन्छ भन्ने चेत उनमा आउन सकेको छैन। आयो भने पनि नेपाल र प्रचण्डलाई सक्ने शर्तमा उनी एमाललेलाई सक्न पनि तयार हुन्छन्। यो ओलीको ज्याद्रो प्रवृति हो।

सुरूमा नेकपा र त्यसपछि एमाले विभाजन भएपछि राजनीतिक रूपमा अत्यन्त खराब अवस्थामा पुगेका ओली अझै पनि चेतेका छैनन्। बीचमा माओवादीसँग सहकार्य गर्दा भएको फाइदा र टुट्दा भएको नोक्सानको परिघटनाबाट पनि उनले शिक्षा लिएका छैनन्। उनमा अझै पनि चरम भारत विरोधी राष्ट्रवादले सत्ताको बैतरणी तार्न सक्छ भन्ने अधिक विश्वास रहेको छ। तर, उनको यो म्याक्लोमेन चटक अब चल्नेवाला छैन।

नेपालमा भारतलाई हेर्ने परम्परावादी चस्माको पावरमा आनका तान फरक आइसकेको छ। यो फरक पार्नमा नेपाली कम्युनिष्टहरूको चरम सत्तालिप्सा र अवसरवादको अहम् भूमिका छ। त्यो भूमिकामा खासगरी एमाले र ओली कसरी प्रस्तुत भए, नेपाली जनताले त्यो भावभङ्गी ऐनामा राम्रैसँग देखिसकेका छन्।

नेपालका अर्का चटके कम्युनिष्ट नेता प्रचण्ड सत्ताका लागि चटक गर्दागर्दै आफैँले पार्टीको भविष्य खुम्च्याए। माओवादीसँग आन्दोलन, पार्टी, जनाधार, विश्वसनियता अब केही नै बाँकि छैन भने पनि हुन्छ। सत्तामा पुग्न र टिक्न भारतलाई रिझाउनुपर्ने अतिरिक्त प्रयासको जालोमा फसेका प्रचण्डले चीनसँग विश्वासको ठूलो खाडल बनाइसकेका छन्। उनका लागि बीआरआई पन्साउनै नसकिने काउसो बनिसकेको छ।

उता, शान्ति प्रक्रिया नटुंगिँदा सम्भावित युद्धअपराधको स्याङगी टाउकोमाथि झुण्डिएर एमसीसी अर्को पासो भएको छ। यस्तो अवस्थामा अब माओवादी पार्टीले मात्र प्रचण्डको सत्ताको वैतरणी तार्ने सम्भावना छैन।

रह्यो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एसको कुरा। अभागीलाई खाने बेलामा रिस उठ्छ भन्छन्, माधव नेपाल खाने बेलामा उठ्ने रिसैले सकिने भए। नेकपा एस पार्टी नबन्दै उनले यसलाई आफ्नो प्राइभेट कम्पनी बनाउन थालिसके। एमालेमा हुँदा विधिको कुरा गरेर नथाक्ने उनी अहिले सबैभन्दा बढी विधिमिचाहा देखिएका छन्।

पछिल्लोपटक उनले पार्टीका सारा आधिकारिक संरचना छलेर जुन किसिमको एकलौटी निर्णय गरे, त्यसलाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नै कोर्तपर्व भनिदिए। पार्टी अध्यक्ष नेपालमा यस्तो सरफिरा वुद्धि केही समय कायमै रहने हो भने यो पार्टी छिट्टै दुर्घटनामा पर्ने निश्चितप्राय छ।

एउटा कुरा के सत्य हो भने नेपालमा कम्युनिष्टहरूले आफूलाई आमूल रूपमा नसच्याउने हो भने नेपालको सत्ताले कम्युनिष्ट नदेख्ने दिन आउँन धेरै टाढा छैन।

रह्यो कांग्रेसको कुरा, कांग्रेस कुनै परिवर्तनकामी संस्था नै हैन। वीपीको सपना, चारतारे झण्डा र रूख अनि कम्युनिष्टको विरोधमा बाँचेको कांग्रेस अब ती सबैको इतिहासबाट क्रमशः टाढा हुदैछ। तर, उसका लागि एउटा सुखद पक्ष छ। त्यो के हो भने कम्युनिष्ट सकिएपछिको खालि ठाउँ उस्कै हो।

केही समययता केही मानिस भन्न थालेका छन्, नेपालमा किन बस्ने ?  के नेपाल बस्न नहुने देश भैसकेकै हो त? हो प्रश्न उठेका छन्। तर, त्यस्तो पटक्कै हैन। अझै पनि नेपाल अगणित सुखद् सम्भावना बोकेको देश हो। मूलसमस्या भनेको बाटो बिराएको नेपालको राजनीति र नेपालमा केही नै हुदैन भनेर बनाइएको संकथन हो। यी दुबै कुरा ठीक गर्न नसकिने हैनन्। ठीक गर्न सकिन्छन् तर त्यसका लागि सही प्रेस्कृप्सन र कार्यान्वयन चाहिन्छ।

अहिलेका लागि नेपालको राजनीतिक कोर्स करेक्सन गर्ने एउटा अप्रिय र कठोर प्रेस्कृप्सन के हुन सक्छ भने कि त कम्युनिष्टहरूको चरम सत्तालिप्सा र अवसरबाद सकिनुपर्यो कित कम्युनिष्ट नै सकिनुपर्यो। त्यसपछि मात्र कोर्स करेक्सन भएर नेपालको राजनीति मूलबाटोमा आउँने छ। अनि, सुखद् सम्भावनाका ढोकाहरू क्रमश: खुल्दै जानेछन्।

प्रकाशित मिति: : 2023-09-25 19:38:00

प्रतिकृया दिनुहोस्