बेलुदिदी निकि छौ ब!

उनको हातमा एउटा प्राचीन मोबाइल छ। ‘डायल’ र ‘रिसिभ’ अप्सनबाहेक सित्तिमित्ति उनलाई अरू ‘की’हरू दबाउनै पर्दैन।

उसै पनि धेरैलाई बेलु दिदीको मोबाइल नम्बर नै थाहा छैन। न उनी फेसबुकमा भेटिन्छन्, न ट्विटर। इमेल अनि इन्स्ट्राहरूको दुनियाँमा उनी कतै छैनन्।

घर-घर पुगेर बिरामीको सेवा गर्नु र साँझ बिहान फुर्सदको समयमा थोरै भए पनि घुमफिर गर्ने बानी उनको आदतजस्तै भइसकेको छ। यस्तैमा भेटिन्छन्, बेलु दिदी।

बाटोमा हिँड्दै गर्दा होस् वा कतै गौडेभेट हुँदा कहिलेकाहिँ परैबाट आवाज आउँछ, ‘बेलुदिदी निकि छौ ब?’

मुसुक्क मुस्काउँदै उनले जवाफ फर्काउँछिन्- ‘निकि छु, तमु छौ ब निका?’

कतिपय गाडीका चालक र स्टाफले उनलाई देखेपछि गाडी रोकेर भनिहाल्छन्, ‘ओ! बेलुदिदी काँ है आएकी हौ? काँ जानेइ हौ…?’

बाटोमा एक्लै पैदल यात्री बन्दा होस् वा पब्लिक गाडीमा यात्रा गर्दा चिन्ने जतिले बोलाइ हाल्छन् उनलाई।

बडो आत्मीयता, श्रद्धा र आदरका साथ बोलाउँछन् सबैले।

‘यसरी कसैले बोलाउँदा मलाई चिन्नेहरू पनि रैछन् जस्तो लाग्छ’ सायद बेलु दिदीले जिन्दगीमा कमाएको यही आत्मीयता र प्रेमील सम्मान हो।

व्यथा लाग्दा मरी पो हाल्छु कि ठानेर उनको मुखमा हेर्दै गहभरि आँसुका थोपा टल्काउने आमाहरू सुत्केरी भइसकेपछि हात जोडेर भन्छन्, ‘तमीले बचाइ दिया…।’

त्यो बेला बेलु दिदीका परेलीका डिलभित्र पनि बाटो खोजिरहेका हुन्छन् हर्षका आँसुले। तर उनी देखाउँदिनन्। मात्र मुस्काइ दिन्छिन्।

छोराको आशमा वर्षेनि गर्भवती बन्ने आमाहरूलाई सम्झाउन खोज्छिन् तर त्यति सजिलो छैन सम्झाउन पनि।

सम्झाउँदै जाँदा ती आमाहरूको जवाफ आउछ, ‘हुन त हो। तर, तमीले भनेजसो सजिलो काँ छ रे…! देउरानी जेठानी कुरा सुनाउँदिछन्। घरपरिवारका मान्स मान्दैनन्। समाज मान्दैन। इष्टमित्र सबै चेलो पाउनु पर्‍यो भन्दा म के गरुँ..?’

निकै अघिदेखि यो समाजको एउटा जिउँदो साक्षी हुन् बेलु दिदी।

खिइँदै गएको नटबोल्ड जस्तो जिन्दगीले पार गरिसक्यो ५३औं वसन्त। आमाले छोडेर गएको पनि एक दशक हुन थालिसक्यो। बेलु दिदीको मनका अन्तरकुन्तरमा जमेकै छ यादको पोखरी।

डडेल्धुरा पोखरास्थित टीम अस्पताल। बाल्यकालमा विदेशीका छोराछोरीहरूसँग खेलेको पल। जवानीका दिनमा त्यही अस्पतालमा रोगीको सेवा गरेर सन्तुष्ट हुन्थिन् उनी।

पोखरास्थित उग्रतारा मा.वि.मा पढ्दाका साथी सङ्गीहरू, आमाको काख थुप्रै छन् यादका कोसेढुङ्गाहरू, जो बेलामौकामा टुपुकुक्क आइदिन्छन् स्मृतिपटलमा।

सन् १९६९ मा क्रिश्चियन मिसिनरीअन्तर्गत खुलेको थियो टीम अस्पताल। बाटोघाटोको सुबिधा नहुँदाको समयमा झुलाघाटदेखि औषधिका भारी बोक्थे भरियाले र पुर्‍याउँथे अस्पतालमा।

कयौंको बिमारको उपचार गरी अकालमा मृत्यु हुनबाट जोगाएको यही अस्पताल हो। गाउँगाउँबाट डोकोमा, कार्पेटमा बोकेर लग्थे गम्भीर प्रकृतिका बिमारीलाई। उपचारमा खटिएका हुन्थे अमेरिकन, जापनीज, क्यानेडिएन डाक्टर अनि नर्सहरू।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा डडेलधुराको टीम अस्पतालले एउटा इतिहास रचेको थियो।

आमा र दिदीहरूसँगै त्यही अस्पतालको एउटा कोठा र त्यही अस्पतालको आँगनमा हुर्किइन् बेलु दिदी पनि।

पुर्ख्यौली थलो अछाम हो भन्ने थाहा छ बेलु दिदीलाई। तर, कुन गाउँ हो, कुन ठाउँ हो? कहाँ पर्छ? कति टाढा छ केही थाहा छैन। थाहा होस् पनि कसरी उनले त्यो ठाउँको बारेमा कहिल्यै जान्नै चाहिनन्। उनको नागरिकता बन्यो डडेल्धुराबाटै। जसमा गाउँको नाम लेखिएको छ- पोखरा।

आमाले सुनाएकी हुन् चलचित्रको पटकथा जस्तो आफ्नो विगत। त्यो विगतले दिएको पीडा। आमा राममायाले निकै आँसु खसालिन् त्यो ठाउँमा। दु:खैदु:खमा जिन्दगीका कैयौं दिनहरू उसैगरी बिताइन्।

सकुन्तला, बिन्द्रा र बेलुमती गरी तीनजना नानीलाई जन्म दिइन्। ती नानीहरू सानै थिए उनलाई कुष्ठरोगले अँगालिसकेको थियो। एकातिर बिस्तारै रोग बढ्न थाल्यो अर्कोतिर राममाया विधवा भइन्। त्यो बेला एउटी महिलामाथि त्यो विपद् आइलाग्नु भनेको मर्नु न बाँच्नुको दोसाँध थियो।

कुष्ठरोगीलाई समाजले छि:छि र दूरदूर गर्ने समय थियो। अधिकांशले एक्लै ओडारमा बस्नुपर्थ्यो। कोही कोहीलाई घरभन्दा टाढाको गोठमा पुर्‍याइन्थ्यो। कुष्ठरोगीका सन्तानहरूको बिहेसमेत हुन मुस्किल पर्थ्यो। त्यो अन्धविश्वासमा जकडिएको समय थियो। गाउँघरमा रुढीवादी चलन ब्यापक थियो। अन्धविश्वास, अशिक्षा र जनचेतनाको कमीले गर्दा कतिपयको अकालमै मृत्यु हुन्थ्यो। कतिपय घरवारविहीन हुन्थे। मानव स्वास्थ्यमा थुप्रै समस्या देखिन्थे भने समाज बिकृतिहरूले भरिपूर्ण थियो।

पितृसत्ताले च्यापेको त्यो समाजमा समस्याको आकाश खस्न थालेझैँ भएको हुनुपर्छ राममायालाई।

र त तीनवटै छोरीहरू बोकेर बडो साहसका साथ कैयौं दिन घिस्रिँदै अछामदेखि पुगिन् होला डडेल्धुराको टीम अस्पतालमा। जहाँ उनको उपचार भयो। उपचारपछि उनी पूर्णरुपेण स्वस्थ बनिन्।

अस्पतालले उनलाई स्वीपर(सफाइकर्मी)को जागिर पनि दियो। त्यसपछि फर्केर अछाम गइनन्।

छोरीहरूलाई पढाउन थालिन्। आमा राममाया डडेल्धुरा पुग्दा ३ वर्षकी थिइन् बेलुमती। तिनै बेलुमतीलाई अचेल सबैले चिन्छन् बेलुदिदी भनेर।

अन्तरमुखी स्वभावकी बेलु दिदी चर्चाको दुनियाँबाट टाढै छिन्। मन पनि छैन, त्यतातिर लाग्न। उनले गरेको सेवाको प्रसंशा गर्दा समेत लजाउँछिन्।

आठ कक्षा पढ्नेबेला नै बेलु दिदीले देखिन अप्रेसन गरेको बिरामीलाई डाक्टरले काखमा बोकेर ल्याई बेडमा राखेको। तब उनले निकै प्रभावित भएर डाक्टरहरूसँग अस्पतालमा काम गर्ने इच्छा ब्यक्त गरिन्।

त्यतिखेर अधिकांश डाक्टरहरू विदेशी थिए। उनको चाहनाको कदर गरेर ती डाक्टरहरूले पनि आफ्नो टीममा उनलाई समावेश गरी ड्रेसिङ गर्ने, इन्जेक्सन लगाउनेजस्ता काम सिकाउन थाले।

दुई घन्टा बिहान र दुई घन्टा बेलुकीको समय उनी अस्पतालमा काम सिक्थिन्। दिउँसो विद्यालयमा अध्ययन गर्थिन्। यसरी काम गर्दै जाँदा उनले डाक्टरहरूको मन जितेकी थिइन्। प्राय: डाक्टरहरू उनको काम मन पराउँथे।

एसएलसी परीक्षा दिए लगत्तै एक दिन उनले तिनै डाक्टरहरूसँग अनमी पढ्ने इच्छा व्यक्त गरिन्। महेन्द्र नगरमा त्यसै वर्ष सुरु भएको थियो अनमीको पढाइ। त्यति बेलासम्म टीम अस्पतालमा न कोही अनमी थिए न त नेपाली नर्सहरू नै। बेलुको अनमी पढ्दाको सम्पूर्ण खर्च बेहोर्ने जिम्मा लियो अस्पताल ब्यवस्थापनले।

अनमी पढिसकेपछि उनले जागिर पनि त्यही अस्पताल पाइन्। नर्सिङ केयरिङको जिम्मा उनैको थियो। उनले स्टाफ नर्सको भूमिका निर्वाह गर्नुपर्थ्यो।

‘नेपाली नर्स थिएनन्। विदेशी नर्सहरू आउँथे। उनीहरूसँगै काम गर्नुपर्थ्यो’ विगत सम्झिदै उनी भन्छिन्।

यसरी काम गर्दै जाँदा उनी बेलु दिदीका नामले डडेल्धुराका डाँडापाखा चिनिन थालिन्।

पछिल्लो समय ‘ह्यूमन डेभिपमेन्ट कम्युनिटी सर्भिस (एचडिसीएल) नामक गैरसरकारी संस्थामार्फत् सञ्चालित अस्पतालको सञ्चालन अनुमति पत्र नवीकरण भएन। त्यस्तै प्रकृतिका तिनै विदेशीले सञ्चालनमा ल्याएका लमजुङ र रोल्पाका टीम अस्पताल सोही संस्थामार्फत् सञ्चालित छन्। तर, डडेलधुराको टीम अस्पताल २०७० साल वैशाखदेखि बन्द भयो। अस्पतालको ४४ वर्ष लामो इतिहास मिनेटभरमै सिद्धियो। गरीबहरूका लागि निकै सस्तोमा गुणस्तरीय सेवा दिइरहेको टीम अस्पतालको ढोका बन्द भयो।

बेलुदिदी जस्ता कैयौं अनुभवी स्वास्थ्यकर्मी र कर्मचारीहरूले जागिरबाट हात धुनुपर्‍यो।

कहाँ गएर सेवा दिऊँ भइरहेको थियो बेलु दिदीलाई।

एक दिन उनकी दिदी बिन्द्राले फोन गरेर भनिन्, ‘डोटीको तिजाली स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर खोलेको छ। अनुभवी मान्छे खोजिरहेका छन्। दुई चार महिना त्यहाँ काम गर। चित्त बुझेन भने छोडे भै त हाल्यो।’

त्यसपछि उनी पुगिन् डोटीस्थित तिजाली भन्ने गाउँ। त्यहाँ पनि केही महिलाहरूले उनलाई देख्दा हात जोडेर भने, ‘तमीले मलाई डेलिभरी गराया हौ। मेरो बाबु टीम अस्पतालमै जन्म्याको हो।’

डोटीस्थित तिजाली स्वस्थ्य चौकीमा काम गर्न थालेको पनि एक दशक पूरा भयो। यता काम गर्न थालेपछि नै हो महेन्द्रनगरमा बसोबास गरिरहेकी आमा परलोक भएको खबर आएको।

त्यो क्षण अझै ताजा छन् उनीसँग ‘बर्थिङ सेन्टरमा एक्लै थिएँ। छोड्न सकिनँ। अन्तिम पल मुख देख्न पाए हुन्थ्यो जस्तो त लागेको थियो। माइली दिदी गएकी थिइन दुईचार दिन अघि नै। म यतै रोएर बसेँ।’

अहिले पनि बेलुदिदी डेलिभरीका बिरामी आउँदा रातभर नसुती बस्छिन्। बिरामीको सेवामा तल्लीन भैरहन्छिन्।

उनकी दिदीहरू सकुन्तला र बिन्द्राले बिहे गरेर नाती नातिना पाइसके। तर, उनले कहिल्यै सोचिनन् बिहेको बारेमा।

बिहेका कुरा आउँदा उनी भन्छिन् ‘अस्पतालमा काम गर्ने क्रममा थुप्रै अविवाहित विदेसीहरू देखेँ। बुढेसकालसम्म एक्लै बसेर सेवा गरिरहेका विदेशीहरू मेरो लागि प्रेरक बने। अर्कोतिर बिहे गरेकाहरूको झैझगडा मनमुटाव देखेँ। बिहेपछि दु:ख झेलिरहेका महिलाहरू पनि देखेँ। त्यसपछि बिहे भन्ने शब्दले कहिल्यै बास माग्न सकेन मन मस्तिष्कमा। बिहे नगरेकोमा रत्तिभर पछुतो छैन। टीममा छँदै जागिरको पैसा जम्मा गरेर डडेल्धुरा बजारमा सानो घर बनाएकी छु। यसैमा खुसी छु।’

जीवन गोरेटोमा झुल्केका केही कथाहरू छन्, केही व्यथाहरू। जो केवल सम्झनामै सीमित छन्। तिनलाई कहिल्यै कसैका अघि सुनाइन् उनले।

यादै यादका घडामा भरिएको मनको पीडा पनि पोखिनन् कसैसामु। उनलाई न कसैको आश छ, नत छ कसैको भरभरोसा नै। न भविष्यको योजना छ, न त कुनै पीर।

‘उपरवाला’का जो मर्जी, भन्यो आफ्नो काममा सक्रिय भइरह्यो। यही हो उनको दिनचर्या।

कसैले सोधिहाले मुसुक्क हाँसिदिन्छिन् अनि भन्छिन्-, ‘गुजारा चलेकै छ। लोभ, तृष्णा, मोह र दम्भ पालेर बस्नेहरूले पनि एक दिन बिदा हुनैपर्छ धर्तीबाट। जन्मिदाँ एक्लै आउनुपर्छ। मर्दा एक्लै जानुपर्छ। आफूले जानेको कुरा दिनुपर्छ। सास छउन्जेल बिरामीको सेवा गर्न पाएँ हुन्थ्यो भन्ने लाग्छ। बाँकी त उपरवालाकी जो मर्जी!’

प्रकाशित मिति: : 2023-09-15 19:10:00

प्रतिकृया दिनुहोस्