सीआईबीले बुझायो ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन, अमला रोका पनि प्रतिवादी

शनि शाक्य

काठमाडौं
तस्बिर : सिआइबीका अनुसन्धान अधिकृतहरू
तस्बिर : सिआइबीका अनुसन्धान अधिकृतहरू

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएकाे छ।

सिआइबीले बुधबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएकाे हाे।

उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ।

उक्त प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परेका छन्। त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेका छन्। ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ।

सिआइबीका अनुसार रोल्पा घर भएकी अमला रोकालाई पनि प्रतिवादी कायम गरेर प्रतिवेदन बुझाइएकाे छ। याे प्रकरणमा रोकासहित १८ जना फरार रहेका छन्।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभिन्न सातवटा कम्पनीबाट  तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

याे सुन प्रकरणमा ३ अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको बिगो कायम गरी मुद्दा अघि बढाउन रायसहित प्रतिवेदन बुझाइएकाे एआईजी बज्राचार्य बताइन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो। ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो।

प्रकाशित मिति: : 2023-09-13 16:54:00

प्रतिकृया दिनुहोस्