सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

फाइल तस्बिर
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो।

दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा सङ्क्रमण देखिएको छ। उनले भने, 'अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ।'

पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा यस प्रदेशमा छ सय ८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाइमा ५८ र अगस्तमा ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ। प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा सङ्क्रमण देखिएको छ।

यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा सङ्क्रमण  पुष्टि भएको छ। सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन। गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो। 

अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको  जोशीको भनाइ छ। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढेको हो।  उनले भने, 'तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ। यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ।' डेङ्गुबाट सङ्क्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो।

प्रकाशित मिति: : 2023-09-06 09:37:00

प्रतिकृया दिनुहोस्