नदी उत्खनन् राेक्न खटिएका प्रहरीमाथि आक्रमण, दुई जना घाइते 

फाइल तस्बिर

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते भएका छन्। 

अवैध ढुङ्गा गिटी चोरी नियन्त्रणका लागि गए राति गिरुवारी खोलामा ड्युटीमा खटिएका नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्यूरो अस्पताल काठमाडौँ लगिएको छ। 

गिरुवारी खोलामा चार जना नगर प्रहरी खटिएका थिए। उनीहरुलाई देख्नासाथ तस्करले आक्रमण गरेको तिवारीले जानकारी दिए। उनले  तस्करको आक्रमणमा परी अर्का नगर प्रहरी सुजन महतो पनि घाइते भएका छन्। उनलाई भने सामान्य चोट लागेको छ। 

नगर प्रहरीलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेको छ। हुप्सेकोट गाउँपालिकाले गत जेठदेखि यममाया मल्लसहित सात जनालाई नगर प्रहरी नियुक्त गरेको थियो। 

प्रकाशित मिति: : 2023-09-05 20:24:00

प्रतिकृया दिनुहोस्