मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवं यौनलगायत अन्य दुरव्यवहार नियन्त्रण गर्न भारतले गम्भीर भएर प्रतिकार्य नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन्। 

भारतको उत्तरपूर्वी राज्यमा जातीय द्वन्द्वका बीच यौन हिंसासहित मानवअधिकार उल्लङ्घनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तत्काल तदारुकता नदेखाएको तथा हिंसा रोक्न ढिलो प्रतिकार्य गरेको भन्दै राज्य र केन्द्र सरकारको उनीहरूले आलोचना गरेका हुन्। 

“हामीलाई मणिपुरमा शारीरिक र यौन हिंसा र घृणायुक्त भाषण रोक्नका लागि कानुन कार्यान्वयनमा भारत सरकारका कारबाही समयमा नभएका तथा पीडितले न्याय नपाएकामा हाम्रो गम्भीर चिन्ता र चासो छ,” उनीहरूले एक विज्ञप्तिमा भनेका छन्। 

मणिपुर हिंसालाई लिएर महिला तथा बालिकाविरुद्ध हिंसा र यातनासम्बन्धी २० जना विशेष प्रतिवेदकले मणिपुरमा मे महिनामा झडप सुरु भएदेखि एक सय ६० जनाले ज्यान गुमाएका, तीन सय जना घाइते भएका, दशौँ हजार विस्थापित हुनुपरेको, हजारौँ घर र सयौँ गिर्जाघर जलाएका तथा खेतीयोग्य जमिन ध्वस्त पारिएको बताएका छन्।

प्रकाशित मिति: : 2023-09-05 05:25:00

प्रतिकृया दिनुहोस्