आर्थिक सङ्कटबीच सिरियाली बालबालिका विद्यालय फर्कंदै

फाइल तस्बिर
फाइल तस्बिर

युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक सङ्कटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी विद्यालय फर्केका छन्। 

सिरियाको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई आवश्यक लगानी कम गर्न, ‘विद्यालय पोशाकका लागि कडा नियम लागू नगर्न आग्रह गरेको समाचार संस्था, सानाले जनाएको छ। 

सानाले भनेको छ, 'देशले सामना गरिरहेको कठिन आर्थिक अवस्थालाई ध्यानमा राख्दै र जनसङ्ख्यामा वित्तीय बोझ कम गर्ने प्रयासको एक भागको रूपमा यी उपायहरू प्रस्तुत गरिएको छ।'

संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको र ९० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देशमा धेरै बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ।

करिब ३७ लाखभन्दा बढी विद्यार्थीका लागि १४ हजार ५०५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र २०२३/२०२४ सुरू भएको छ। 

सिरियामा सन् २०११ पछि भएको रक्तपातपूर्ण द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ, लाखौं मानिस विस्थापित भएका छन्। देशलाई आर्थिक सङ्कटमा धकेलेको छ। 

युद्धले शैक्षिक पूर्वाधारको व्यापक विनाश गरेको छ। जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् र कैयौं आश्रयस्थलहरूमा परिणत भएका छन्। 

विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् करिब २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। 

वर्षौंको युद्ध र पश्चिमा प्रतिबन्धका कारण आफ्नो क्रयशक्तिमा आएको भारी कमीका कारण आफ्नो आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका आफ्ना परिवारलाई सहयोग गर्न धेरैले विद्यालय छोड्न बाध्य भएका छन्। 

सिरियाको सरकारी सेनाले वर्षौंको लडाइँपछि देशका अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरेको छ तर सिरियाका १४ मध्ये सात वटा प्रान्तका क्षेत्र दमास्कसको नियन्त्रणभन्दा बाहिर छन्। 

देशको उत्तरपूर्वी क्षेत्रमा अर्धस्वायत्त कुर्द प्रशासनद्वारा नियन्त्रित क्षेत्रहरूमा आइतबार पनि विद्यालय वर्षको सुरुवात भएको छ।

प्रकाशित मिति: : 2023-09-04 05:35:00

प्रतिकृया दिनुहोस्