सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ। विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय।

समुदायको सक्रियतामा २०५८ सालमा बाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको थियो। पाठकहरूलाई लक्षित गरी पुस्तकालयलाई समयसापेक्ष थप व्यवस्थित बनाइएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए।

उनका अनुसार पुस्तकालयमा विभिन्न कक्षाहरू तयार गरिएको छ। ती कक्षहरूमा दिनानुदिन विद्यार्थी तथा पाठकहरू आउने गरेका छन्। पुस्तकालयमा प्रवेश गर्नासाथ भित्तामा झुन्ड्याइएका पोखरा र आसपासका तालतलैयाका तस्वीर, यस आसपासका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका तस्वीर तथा वेषभूषा आदिले जो कोहीलाई यस क्षेत्रको मौलिकता बुझ्न सहयोग पुर्याउने गरेको छ।

पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौनालगायतका सामान राखिएका छन्। यसका अतिरिक्त पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आएको भण्डारीले जानकारी दिए। पुस्तकालयमा आएर बालबालिकाले आफ्ना रुचिअनुसारका पुस्तक पढ्नुका साथै खेल्ने र विभिन्न मौलिक सिर्जनासमेत गर्ने गरेको उनले बताए।

पुस्तकालयको महिला कक्षमा महिलासम्बन्धी बैठक, तालिम, गोष्ठी गरिनुका साथै त्यहाँ महिला अधिकार, महिला स्वास्थ्य, शिशु स्वास्थ्यजस्ता पत्रपत्रिका, पाठ्यसामग्री आदि राखिएको छ। उक्त कक्षबाटै हरेक महिना महिला तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ। पुस्तकालयकै सक्रियतामा दीपशिखा महिला कृषि सहकारीसमेत सञ्चालनमा आएको र सहकारीमा हाल चार सय ५० जना महिला आबद्ध रहेको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिए। सहकारीले कृषिसम्बन्धी तालिम साथै आलुको बीउ उत्पादन गर्दै बिक्री–वितरणसमेत गर्दै आएको छ। यस वर्षमात्रै सहकारीले आफ्ना सदस्यलाई वितरण गरी ५० किलोग्राम तौलका एक सय १४ बोरा आलुको बीउ बिक्री गरेको थियो।

पुस्तकालयले रिड नेपालसँगको सहकार्यमा ५५ जना किरोशीलाई प्रविधि, नेतृत्व विकास, सशक्तीकरण एवं जीवनोपयोगी तालिमसमेत सञ्चालन गर्दै आएको छ। उक्त तालिमले उनीहरूमा सशक्तीकरण एवं विभिन्न क्षमता अभिवृद्धि गराएको पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले बताए।

पुस्तकालयमा रहेको श्रव्यदृश्य कक्षमा कृषि, वातावरणजस्ता उपयोगी श्रव्यदृश्य सामग्री देखाइने र निरक्षर व्यक्तिसमेत यसबाट लाभान्वित बन्ने गरेका छन्। पुस्तकालयमा श्रव्यदृश्यसमेत देखाउन मिल्ने सुविधा सम्पन्न ८० जना व्यक्ति बस्न सक्ने किसिमको तालिम कक्षको व्यवस्था गरिएको छ। तालिम कक्षमा विभिन्न सङ्घसंस्थाले बैठक तथा सेमिनार गर्ने गरेका छन्। बैठक तथा सेमिनार कक्ष प्रयोग गरेवापत सेवा शुल्क रु दुई हजार ५०० लिने गरिएको र उक्त रकमले पुस्तकालयको सञ्चालनमा राहत पुग्ने गरेको छ।

खेलकुद तथा सङ्गीत कक्षमा युवाहरूलाई लक्षित गरी विभिन्न खेलकुद र वाद्यवादनका सामग्री राखिएका छन्। पुस्तकालय क्षेत्रका बाल क्लब तथा युवा क्लबहरू यस कक्षबाट लाभान्वित भएका छन्। पुस्तकालयको कम्प्युटर कक्षबाट इमेल, इन्टरनेट, कम्प्युटर शिक्षा उपलब्ध गराइएको छ। यस कक्षमा महिला, शिक्षक, बालबालिका र युवाहरूलाई कम्प्युटर शिक्षा तथा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उहाँले बताउनुुभयो। पुस्तकालयमा आएर आधारभूत कम्प्युटर तालिमसमेत निःशुल्क उपलब्ध गराइने गरिएको र त्यसबाट धेरै व्यक्तिहरू स्वरोजगार बन्न सफल बनेका छन्।

पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार पाँच सयभन्दा बढी पुस्तक रहेका छन्। पुस्तकालयमा एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको बताउँदै कार्यालय प्रमुख पहारीले विभिन्न विधाका पुस्तकका अतिरिक्त विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध रहेको जानकारी दिए।

पुस्तकालयमा समाजमा प्राचीनकालदेखि दैनिक जीवनमा प्रयोगमा आउने गरेका सामग्रीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ सङ्कलन गरी राखिएको छ। 'पुस्तकालयमा पाठक सदस्यता निःशुल्क व्यवस्था गरिएको छ, परिचयपत्रवापत रु एक सयमात्र लिने गरेका छौँ', उनले भने, 'विद्यार्थी तथा पाठकका लागि पुस्तक घरमा लान सकिने व्यवस्था मिलाइएको छ।'

पुस्तकालयले अघिल्लो वर्ष देशकै नमूना सामुदायिक पुस्तकालयको कदरपत्र  नेपाल  सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट पाएको थियो। नगर विकास कोष, तत्कालीन लेखनाथ नगरपालिका र स्थानीय जनसहयोगबाट पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भएसँगै यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुगेको हो। विभिन्न दाताबाट प्राप्त सहयोगसँगै भवनमा रहेका सटरलाई भाडामा लगाएर पुस्तकालयको सञ्चालनमा आर्थिक स्रोत जुटाउने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

'सानो–सानो सहयोगबाट बचत गर्दै पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि रु १८ लाखको अक्षकोष स्थापना गरेका छौँ', उनले भने, 'पुस्तकालयको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नका लागि करार सेवामा एक र स्थायी सेवामा दुई जना कर्मचारीको व्यवस्था गरिएको छ।'

पुस्तकालयमा हालसम्म एक सय ५२ जना आजीवन सदस्य रहेका छन् भने २५ वटा संस्था संस्थागतरूपमा आजीवन सदस्य रहेका छन्। हाल साधारण सदस्यको सङ्ख्या दुई सय रहेको छ भने दैनिक पुस्तकालयमा आउने पाठकको सङ्ख्या ४० देखि ५० जना रहेको छ। पुस्तकालयले वार्षिकपमा पाठकको रुचिअनुसारका नयाँ–नयाँ पाठ्पुस्तक नियमित किन्दै आएको छ।

नवीनतम् प्रविधिको प्रयोग गरिएको पुस्तकालयले प्रत्येक वर्ष पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ, हिज्जे, निबन्ध, वक्तृत्वकला, वादविवाद प्रतियोगिताका साथै निरन्तर शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ। पुस्तकायलकै सक्रियतामा युवाका लागि जीवनोपयोगी सीपमूलक तालिम, मोबाइल मर्मत, हाउसवायरिङ, ब्यूटीपार्लर, सिलाइकटाइ, गुडिया बनाउने मौरीपालनजस्ता थुपै तालिम प्रदान गरिसकिएको छ।

प्रकाशित मिति: : 2023-09-01 09:06:00

प्रतिकृया दिनुहोस्