नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले भदौ २ गते स्थापनाको दुई वर्ष पूरा गरेको छ। यसबीचमा यो राष्ट्रिय पार्टी त बन्न सकेन, यसले एमालेभन्दा फरक पार्टी हो भन्ने एजेण्डा पनि स्थापित गर्न सकेन। मात्र ओली र उनका गुटको विरोधले र सत्तामा टाँसिरहनाले मात्र एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि हुने कुरै भएन। फलतः एसका नेता र कार्यकर्ता एमालेमै फर्किरहेका छन्, बाँकी भएकामा पनि निराशा, कुण्ठा र हतासा बढ्दो छ। यही गति कायम रहने हो भने यो पार्टीले २०८४ नै देख्न नपाउने हो कि भन्ने आशंका बढ्दो छ।
आखिर किन निकै ठूलो एमाले–चोइटो लिएर विद्रोह गरेको नेकपा एस यो अवस्थामा पुग्यो त ? यसका पछाडि मूलतः पाँच कारण छन्। एक, यो पार्टी वैचारिक र कार्यक्रमिक कोणबाट एमालेभन्दा फरक थिएन पनि र हो भन्ने स्थापित पनि गर्न सकेन। पार्टीका केही नेताले यो पार्टीलाई एमालेको आठौँ महाधिवेशनकै मार्गचित्रमा हिँडाउन खोजेका थिए। तर, केही परिस्थितजन्य अवस्था र केही मूल नेतृत्वको विशेषता र प्रवृत्तिका कारण त्यसो हुन सकेन। विचार र नीतिको कुरा त टाढै छोडौँ, पार्टी एजेण्डासमेत स्थापित गर्न नसकेर तन्नम हुँदै गयो।
तत्कालीन परिस्थितिको कुरा गर्दा, जतिसुकै माक्र्सवाद–समाजवादको सैद्धान्तिक जामा लगाए पनि कम्युनिष्ट पार्टी मुलतः व्यक्तिवादी पार्टी नै हुन्छ। नेताको व्यक्तिगत व्यवस्थापनकै लागि धेरै कम्युनिष्ट पार्टी बन्ने हो। नेकपा एस पनि त्यसैको निरन्तरता हो। र, समाजवादी पार्टीका लागि माधव नेपालको टाउको नै सबैभन्दा ठूलो ब्राण्ड पनि थियो। ओलीको जत्रै टाउको नेपालकै थियो। त्यत्रै टाउको देखाउनुपर्ने बाध्यताका कारण नेपालको टाउको देखाएर हिँड्नुपर्ने परिस्थिति बन्यो।
त्यसमा झलनाथ खनालको पनि टाउको जोडेर अलि ठूलो बनाउन खोजियो। तर ती दुवै टाउकाको शिरा र धमनी नै फरक भएकाले एउटै टाउकोजस्तो देखिएनन्, टाढैबाट दुईटै टाउको छुट्टिएको बेसाइजको टाउकोजस्तै देखियो। प्रकारान्तरमा नेपाल अरूलाई छोड्दै एक्लिदै सानो कोठरीमा सीमित हुन पुगे। भन्दा अलि बढी सुनिएला तर जे भए पनि एमालेमा ओलीकै जस्तै समाजवादीमा नेपालकै बोली अन्तिम हुन्छ।
दुई, एमालेमा ओली भर्सेज नेपालको स्वार्थ, व्यक्तित्व र जुँगाको लडाइँ थियो। त्यो लडाइँलाई पद्धतिको जामा लगाएर नेपाल बाहिरिएर नेकपा एस बनाएका थिए। तर, नेपाल एक पात्र मात्र हैन, प्रवृत्ति नै भएकाले उनीसँगै त्यो प्रवृत्ति पनि नेकपा एसमा स¥यो। उनले ओलीले गरेको गल्तीबाट पाठ सिकेनन्, उल्टै उस्तै प्रकृतिका गल्ती दोहो¥याए। पार्टी पद्धतिको कुरा गरेर ओलीलाई अर्ति दिन नथाक्ने नेपाल आफैँ अझ अग्ला ओली हुँदै पार्टी पद्धतिको उल्लंघन गर्न थाले। जसरी एमालेमा ओली नै पार्टी भन्ने थियो, यता नेकपा एसमा पनि नेपाल नै पार्टी भन्ने खालको परिस्थिति सिर्जना अनुभव नेता, कार्यकर्ताले गरेका छन्।
यही क्रममा पार्टीको लागि मोहोरा बन्न सक्ने सक्षमलाई किनारा लगाएर फेस भेल्यु नै नभएका ताबेदारहरूका लागि मैदान खाली गरियो। प्रकारान्तरमा नेपालको तानाशाही खप्नुभन्दा ओलीकै तानशाही खप्नु ठीक भन्दै धेरै नेता–कार्यकर्ता एमालेमै फर्किए। जो नेपालको कोपभाजनको शिकार बनेर पनि एमालेमा जान सकेनन्, उनीहरू या त पार्टी राजनीतिबाटै पलायन भए या त निस्क्रिय बसे।
तीन, यो पार्टी ओलीको एमालेविरूद्ध खह्रो उत्रेर स्थानीय र संघ तथा प्रदेशको चुनावमा ठूलो सफलताका साथ राष्ट्रिय पार्टी बन्छ भन्ने यो पार्टीमा लागेका धेरैको अपेक्षा थियो। त्यसो भएको भए नेताहरूको पद व्यवस्थापन त हुन्थ्यो नै, पार्टीप्रतिको आकर्षण पनि कायमै रहन्थ्यो। तर, त्यसो हुन सकेन। स्थानीय, प्रदेश र संघ कुनै पनि तहमा उत्साहजनक परिणाम आउन सकेन। ठूलो सत्तारूढ गठबन्धनको हिस्सा हुनुपर्दा पहिला त पार्टीले उम्मेदवारी नै थोरै पायो, पाएकामध्ये पनि धेरैले लज्जास्पद हार व्यहोर्नुप¥यो। गठबन्धनका कारण संघमा १० स्थान जित्यो। तर तीन प्रतिशत मतको थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको मान्यता पनि पाउन सकेन। यो आफैँमा एक लज्जाको विषय बन्यो।
चार, नेकपा एसले आफूलाई समाजवादी भने पनि त्यो एक किसिमको ताइँ न तुइँको फण्डा मात्र बन्यो, एजेण्डा बन्न सकेन। एकातिर एमालेमा विद्रोह गर्नुको औचित्य पुष्टि नहुनु अर्कोतिर पार्टीमा एजेण्डा नै स्थापित नहुनु, यस्तो तन्नम स्थितिमा पार्टी बन्न सक्ने कुरै भएन। त्यसमा पनि पार्टीको सारा बल संगठन निर्माण र विस्तारमा भन्दा पनि कसरी सरकारमा टाँसिरहने र अध्यक्ष नेपाललाई केही दिनका लागि भए पनि प्रधानमन्त्री बनाउने भन्ने ध्याउन्नमै केन्द्रित भयो। पार्टीको टाउको त देखिने भयो तर शरीर क्रमशः दुब्लाउँदै र खुट्टा सुक्दै गए। यसरी सुकेनासले समातेपछि पार्टीको हालत जे हुनु थियो, अहिले भएको त्यही हो।
यसको अर्थ नेकपा एस पूरै सकियो भन्ने हैन, अझै पनि यो एक महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा रहेकै छ। हो, पार्टी बन्न सकेन, एजेण्डा छैन, पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन। यद्यपि, अहिलेको त्रिशंकु राजनीतिक अवस्थामा योसँग भएको अंकगणितको ठूलो मूल्य छ। त्यही अंकगणितका आधारमा यो पार्टीले एक राजनीतिक शक्तिका रूपमा आफ्नो अस्तित्व कायम गरेको छ। तर, यो अवस्था २०८४ पछि पनि कायमै राख्न भने मुस्किल हुने किसिमको परिस्थिति बन्दैछ।
अब प्रश्न उठ्छ, के नेकपा एसले यस बीचमा केही नै गरेन त ? त्यस्तो पनि निस्कर्ष निकालिहाल्नु हुँदैन। यस बीचमा यसले मुलतः तीनवटा कार्यभार पूरा गरेको छ। पहिलो, ओली र उनको पार्टी एमालेलाई केही मात्रामा भए पनि साइजमा ल्याएको छ। यदि एमाले फुटेर नेकपा एस नबनेको भए अहिले ओलीको पार्टी सबैभन्दा ठूलो पार्टी त हुन्थ्यो नै, सम्भवतः ओली नै प्रधानमन्त्री भएर सत्ताको डंका पनि बजाइरहेका हुन्थे। तर, यो पार्टीले ओलीलाई सत्ताच्युत मात्र गरेन, उनको फूर्ति पनि नराम्ररी झारिदियो। यद्यपि अझै पनि ट्याउँट्याउँ गरिरहेका ओली सार्वजनिकरूपमा यो स्वीकार्न तयार भइसकेका छैनन्।
नेकपा एस पूरै सकियो भन्ने हैन, अझै पनि यो एक महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा रहेकै छ। हो, पार्टी बन्न सकेन, एजेण्डा छैन, पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन। यद्यपि, अहिलेको त्रिशंकु राजनीतिक अवस्थामा योसँग भएको अंकगणितको ठूलो मूल्य छ।
तर, यो निश्चित छ कि २०८४ को चुनावमा नेकपा एसको हैसियत एमालेलाई हराउने मात्रै हुन्छ। यो सत्य एसका नेताले पनि बुझ्छन् र एमाले पनि आफू जित्नका लागि त्यो अंकको चर्को मूल्य बुझ्छ। सत्ता नै सबैथोक भएको अहिलेको अवस्थामा सबैखाले लोभीपापीलाई भ¥याङ चढाउने भनेको अंकगणित नै हो, त्यसको जोहो गर्न पनि दुवै मिल्नुपर्ने हुन्छ। त्यसैले २०८४ को चुनावसम्ममा कुनै नाटकीय मोड आएर यी दुवै पार्टी पुरानै एमालेको ब्राण्डमा थान्को लाग्ने परिस्थिति हुन्छ। माधव नेपाल अर्को संस्करणको सीपी मैनाली बन्न तयार भए पनि यस पार्टीमा रहेका धेरै नेता कार्यकर्ता त्यस्तो पार्टीमा रहेर सति जान तयार हुँदैनन्।
दोस्रो, नेकपा एस सानै पार्टी भए पनि लगातारजसो सरकारमा रहेर मन्त्रीको पगरी भिर्ने नेताहरूको संख्या बढाइरहेकै छ। यति मात्र हैन, सत्ता गठबन्धनको बेला भएको बाचा बन्धनले काम ग¥यो भने पार्टी अध्यक्ष माधव नेपाल एक वर्षकै लागि भए पनि अर्को वर्ष प्रधानमन्त्री बन्नेछन्। प्रतिनिधिसभामा १० सांसद मात्र रहेको र राष्ट्रिय पार्टी पनि नभएको पार्टीका लागि यो विचित्रकै उपलब्धि हुनेछ।
तेस्रो, पार्टी गठनकै बेला धेरैले यो पार्टी केही समयपछि नै नेकपा माओवादीमा बिलिन हुन्छ भन्ने आँकलन पनि गरेका थिए। तर, दुई वर्षसम्म पनि यो अस्तित्वमै रहेर ती अड्कलबाजहरूलाई लोप्पा खुवाइदिएको छ। यो पनि एक किसिमको ठूलै उपलव्धि हो।
चौथो, नेकपा एसलाई नामेट पार्न यसबीचमा एमाले अध्यक्ष ओलीले जायज÷नाजायज सबै किसमिका हत्कण्डा अपनाए। नेताहरूलाई एमालेमै फर्काउन रातो कार्पेट ओछ्याए, नेकपा एससहितको सत्ता गठबन्धनबाट एक्ल्याउन न्वारानदेखिको बल लगाए, पार्टी नै हुन नदिन अदालत गुहारे, नेताहरूको सांसद पद सिध्याउन संसदमाथि धावा बोले। यी सबैका अतिरिक्त पनि नेकपा एस हिङ सकिदै गएको टालो मात्र भए पनि अगाडि बढिरहेकै छ। वाचाल ओलीका सारा कर्तुत चिर्दै यहाँसम्म पुग्नु आफैंमा ठूलो उपलव्धी हो।
यसैबीच नेकपा एसको छैटौँ केन्द्रीय समितिको बैठक भदौ ५, ६ र ७ गते सम्पन्न भएको छ। बैठकले माघमा पार्टीको १०औँ महाधिवेशन गर्नेदेखि त्यसअगाडि संगठन निर्माण र विस्तारको ६ महिने महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको छ। एमालेका वैचारिक नेता घनश्याम भुसाल आएर महासचिव सम्हालेपछि सम्पन्न यो बैठकले केही आशाका किरण देखाएको छ। पार्टी अध्यक्ष नेपालको नेतृत्व र कार्यशैलीलाई लिएर धमिलै भए पनि ऐना देखाउने काम भएको छ र उनले पनि ऐनामा ख्याउटे हुँदै गएको एसको अनुहार देखेर आत्मालोचना गरेको समाचार बाहिर आएको छ।
अबको ६ महिना नेकपा एसको जीवनमा चुनौतीपूर्ण हने देखिन्छ। केन्द्रीय समितिले अगाडि सारेका योजनाअनुसार नै अगाडि बढ्यो भने यो पार्टीले विस्तारै एमालेबाट विद्रोह गर्नुको औचित्य मात्र पुष्टि गर्दैन, वास्तविक पार्टी बनाउन पनि सुरू गर्छ। अन्ततः एमाले र एस मिल्ने नै हुन्। त्यसका लागि नेकपा एस शक्तिशाली भइरहनु पर्छ जसले यी दुई पार्टीलाई मिलाउने दबाब सिर्जना गर्छ। यदि त्यसो भएन र यो पार्टी सकियो भने एमालेमा ओली अरू बलियो हुनेछन्। ओली बलियो हुनु भनेको एमाले कमजोर हुनु हो, नेपालको वामपन्थीधार भुत्ते हुनु हो। यसले प्रकारान्तरमा नेपालको वैचारिक धारमा दुईदलीय ध्रुवीकरणमा जाने बाटो अवरूद्ध गर्छ।
यसअर्थ पनि नेकपा एसको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठक पानीढलो बन्न सक्नुपर्छ। तर, त्यसका लागि मुलतः पार्टीको मूल नेतृत्व नै सच्चिन तयार हुनुपर्छ। यसोभन्दा यस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र उनका खास मान्छेहरूलाई चित्त नबुझ्न सक्छ, बुझ्दैन।
नेपाल समसामयिक नेताहरूमा तुलनात्मकरूपमा कम आडम्बर पाल्ने र सादगी नेता हुन्। यो उनको सकारात्मक पाटो हो। तर, उनी कहिलै आफ्नो राजनीतिक अनुहार ऐनामा हेर्न नसक्ने मुटु भएका कमजोर नेता पनि हुन्। उनलाई ऐना देखाउने धेरैलाई सक्दा ठेगान लगाएका छन्, नसक्दा आफैँ मुर्मुरिएका छन्। आलोचना सुन्न नसक्ने उनी सानो चित्त बनाएर इख पाल्ने नेताका रूपमा बदनाम छन्।
विदेश जान भनेपछि सधैँ खुट्टा उचालेर तयार हुने उनका लागि विमानको टिकट र बस्ने होटल व्यवस्था गरिदिए हुन्छ। एकजना मन्त्री कि दुईजना राजदूत भन्यो भने उनी राजदूत नै छान्छन् किनभने, मन्त्री हुन कम्तीमा सांसद हुनैपर्छ तर राजदूत त बहिनी ज्वाइँलाई बनाउन पनि सकिन्छ। अस्ट्रेलियाका रादूत कैलाश पोखरेल उनका साख्खे बहिनी ज्वाइँ हुन्। नेपालको बहिनी ज्वाइँ भएकै कारण वासिङ्टन डिसीस्थित नेपाली दूतवासामा इकोनोमिक काउन्सिलर पद सिर्जना गरेर कूटनीति क्षेत्रमा पुर्याएका पोखरेल त्यसअघि अर्थमन्त्रालयमा उपसचिव थिए। ५८ वर्ष पुगेर अवकाश भएको केही समय नबित्दै फेरि जेठानको कोटामा अष्ट्रेलियाको राजदूत भए।
यो एक प्रतिनिधि ऐना हो नेपालको अनुहार देखाउने। तर, उनी यस्तो ऐना देखाउनेलाई सहदैन थिए, अब के गर्छन् त्यो हेर्नु छ। आशा छ, यसपालि भने यो स्तम्भकारलाई धन्यवाद नै देलान्। किनकि, यो पंक्तिकार उनको शुभचिन्तक हो, निन्दक हैन।
बिट मार्दै गर्दा यतिचाहिँ भन्नैपर्छ कि तमाम कमजोरी हुँदाहुँदै पनि नेकपा एसका मोहरा भनेका नेपाल नै हुन्। यो पार्टीका लागि अभिषाप भए पनि वरदान भए पनि उनै हुने हुन्। बाँकी त समयको ऐनाले देखाइहाल्छ, चाहे पनि नचाहे पनि समयक्रममा हेर्नैपर्ने हुन्छ, हेरौला।