काम एउटा, परिचय अर्कै!

सुरुमै सबैसँग अनुरोध गर्न चाहन्छु कि यो आलेखको आशय कसैको पेशा वा कुनै व्यक्तिलाई मानमर्दन गर्नु होइन।


देश छोडेर हजारौँ माइल टाढा अर्काको देशमा आफ्नो सुखद भविष्यका लागि सङ्घर्ष गरिरहेका हामीहरूले आफूलाई परिचय गराउँदा जे काम गरेको हो, त्यो नै भनेर परिचय गर्नुपर्छ भन्ने हो। वा आफू जे पेशामा छौँ अर्थात् आफ्नो रोजीरोटीलाई इज्जत गर्नुपर्छ भन्ने हो।

हामी मुखले अमेरिकामा कामको महत्व हुन्छ, ठूलो सानो हुँदैन भन्छौँ तर अरुलाई आफ्नो परिचय दिँदा अर्कै पेशा भन्छौँ। यस्तो दोहाेरो मापदण्ड नराखौँ भन्ने हो।

यद्यपि, म काम ठूलो र सानो हुन्छ भन्ने कुरामा विश्वास गर्छु। सबैले आफ्नो योग्यता र क्षमताले दिएको काम गर्ने हो, त्यो चाहे अमेरिका होस् वा नेपाल। संसारको जुनसुकै स्थानमा नै किन नहोस्।

काम ठूलो-सानो नहुँदो हो त अमेरिकामा राष्ट्रपति र सामान्य मजदुर सँगै हिँड्नुपर्ने थियो, त्यो मैले देखेको छैन। सँगै हिँडेर पनि मैले नदेखेको वा थाहा नपाएको हुनसक्छु। त्यस्तो हो भने सम्बन्धित सबैसँग क्षमा याचना गर्दछु।

नेपालमा पत्रकारिता गरेका र पत्रकारिता गर्ने इच्छा हुँदाहुँदै पनि त्यो पेशा गर्ने मौका नपाएकाहरूले आफूलाई परिचय दिने भनेको पत्रकारको हो। 

वर्षामा च्याउ उम्रिएसरी अनलाइन पोर्टलहरूमा होस् वा ‘अनियमित’ मासिक पत्रिकामा ‘अमेरिका प्रतिनिधि’ फलानो भनेर लेखेको र कुनै सानोतिनो साप्ताहिक पत्रिकाको परिचयपत्र बोकेको भरमा पत्रकार हुने धेरै छन्।

कोही व्यक्तिले पत्रिका प्रकाशन पनि गर्छन् तर त्यो पत्रिका कसैले पैसा तिरेर खरिद गर्ने होइन। नेपाली समुदायको बढी उपस्थिति हुने ठाउँमा त्यसै असरल्ल राखिने त्यस्ता पत्रिकाहरू पढ्नुभन्दा पनि घरमा मासु खाएर निस्केको हड्डी पोको पारेर फाल्न लग्ने हो। हालत त्यस्तै हो।

नेपालमै अधिकांश सञ्चार माध्यमहरूमा पत्रकारले महिनौँदेखि तलब नपाएको कुरा सुनिन्छ भने अमेरिकामा पत्रिकाले तलबी पत्रकार राखेको होला भन्ने कुरामा मलाई विश्वास छैन।

पूर्णकालीन काम ट्याक्सी चलाउने तर आफूलाई पत्रकारको परिचय दिनु कति उचित हुन्छ? त्यो सम्बन्धित व्यक्तिले नै इमान्दारिपूर्वक सोच्दा राम्रो हुन्छ।

परिचय लुकाउने अर्को ठूलो समुह नेपाली कलाकारहरूको छ। प्राय: नेपालको दिलिप कुमार, नेपालको डेनीजस्ता उपमा दिएर भारतीय कलाकारहरूसँग तुलना गर्न रुचाउनेहरू पनि छन्।

नेपालमा कलाकारिता गरेर खान पुग्दैन भन्ने कलाकारहरूलाई अमेरिकामा भने गाएर, बजाएर र अभिनय गरेरै जीवन चलेको छ भन्ने कुरामा विश्वास गर्नुको कुनै तुक छैन।

मेरा मित्र किरणप्रताप कुनै समयमा नेपाली सिनेमामा अभिनय गर्थे। उनी राजेश हमालजस्तै ‘महानायक’ त थिएनन् तर उनको बजार ठिकठाकै थियो। शिक्षाले सिभिल इन्जिनियर उनी हाल अमेरिकामै छन्। र कलाकारितासँग उनको साइनो लगभग टुटिसकेको छ। उनले आफूलाई कलाकार भनेर पनि चिनाउँदैनन्।

धेरै वर्षको अमेरिकाको बसाइपछि अभिनेता सरोज खनाल केही वर्ष पहिले नेपाल फर्केका थिए। त्यसबेला आफूलाई एक नम्बरको दैनिक दाबी गर्ने तर महिनौँसम्म पत्रकारलाई तलब नदिने पत्रिकाले सरोज खनालले नेपाली दर्शकलाई धोका हुन्छ भनेर कुनै पनि हलिउड सिनेमामा अभिनय गरेनन् भन्ने समाचार प्रकाशित गरेको थियो। त्यस्तो हावादारी समाचार छाप्ने पत्रिका र पत्रकारको के कुरा गर्नु ?

त्यो समाचार पढेको भए स्वंय खनाल पनि लाजले पानीपानी हुन्थे होला। अभिनेता खनाल अमेरिकामा पूर्णकालीन कलाकारिता गर्दैन थिए। उनले मैले कलाकारिता गरेरै अमेरिकामा बाँचेको छु भनेर दाबी गरे कि गरेनन्, त्यो कुराको मलाई जानकारी छैन। तर त्यस्तो बकम्फुसे दाबी भने उनले पक्कै पनि गरेनन् होला।

नेपाली कलाकारिता गरेर अमेरिकामा आजका दिनसम्म जीवनयापन गर्ने वातावरण बनिसकेको छैन। कसैले आफ्नो सोखका लागि गर्छु भन्छ भने त्यो अर्कै कुरा हो।

सबैभन्दा हाँस्यास्पद अवस्था त राजनीतिक दलका कार्यकर्ताहरूको छ। अनेकौँ जातीय र क्षेत्रीय संघ-संगठन स्थापना गरेर त्यसको अध्यक्ष र महासचिव भएकाहरूको त्यो पद फगत एउटा आत्मरति मात्र हो। न त्यसको कुनै अर्थ छ, न त्यो पदको कुनै उपादेयता।

प्राय: सबैजसो राजनीतिक दलका विदेश विभाग छन्। त्यसबाट के फाइदा हुन्छ, त्यो त उनीहरूलाई मात्र थाहा होला।

मैले बुझ्न नसकेको कम्युनिस्टको ‘क’ सम्म सुन्न मन नपराउनेहरू छन्। अमेरिकाको भिसाको फारम भर्दा आजसम्म कुनै कम्युनिस्ट पार्टीको सदस्य नभएको र चन्दा नदिएको भनेर स्वीकार गरेकाहरू छन्।

अनि त्यतिविधि गरेर अमेरिका आइसकेपछि फेरि यहाँ त्यस्ता पार्टीका विदेश विभाग बनाउनु भनेको यहाँको कानुनको बर्खिलाप पनि हो।

नेपालमा छँदा चोर र भ्रष्ट भनेर गाली गरेका तिनै नेताहरू यहाँ आए भने तछाड-मछाड गरेर फोटो खिच्ने र त्यो फोटो सामाजिक सञ्जालमा अपलोड गरेर आफूलाई ती नेताको नजिक छु भनेर देखाउने होडबाजी हुन्छ। त्यस्तो किन? बुझिनसक्नु छ।

राजनीति नै गर्ने हो भने बरु अमेरिकाको राजनीति गर्दा भविष्यमा केही न केही त फाइदै होला। तर अमेरिकामा बसेर नेपालको राजनीति गर्दा के अर्थ हुन्छ?

विभिन्न संघसंगठनका नाममा, अनेक कुरामा सहयोग गर्नुपर्‍यो भनेर नेपाली समुदायसँग चन्दा माग्नुबाहेक यस्तो राजनीतिको कुनै तुक छैन र यो शतप्रतिशत निरर्थक छ।

आफू जुन देशमा बसेको छ, त्यो देशको नियम कानुनको परिधिभित्र बस्नुपर्छ भन्ने मेरो निजी मान्यता हो। र यो कुरामा कसैको दुई मत हुन सक्दैन सायद।

आफूले पहिले गरेको काम र उपलब्धिको बारेमा प्रसङ्गवस कुरा गर्नु अन्यथा होइन तर, आफूलाई गर्दै नगरेको कामबाट चिनाउनु भनेको त्यो आत्मरति मात्रै हो।

@twitter#naviinr

प्रकाशित मिति: : 2023-08-27 18:22:00

प्रतिकृया दिनुहोस्