कोशी प्रदेशसभा बैठक अनिश्चित, उपसभामुख दनुवार सुटुक्क काठमाडौँ उडिन्

फाइल तस्विर
फाइल तस्विर

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनको लागि डाँकिएको कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ। बैठक डाँकेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौँ उडेपछि बैठक अनिश्चित बनेको हो।

उपसभामुख दनुवार यति एयरलायन्सको बिहान ८ बजेको फ्लाइटमार्फत् काठमाडौँ प्रस्थान गरेको विराटनगर विमानस्थ स्रोतले जनाएको छ।

उपसभामुख काठमाडौँ प्रस्थान गरेपछि कार्यपरामर्श समितिको बैठकमा सहभागी हुन आएका सांसदहरु अलमलमा परेका छन्।

आजको बैठकमार्फत् मुख्यमन्त्री थापाले विश्वासको मत लिने तय भएको थियो।

कोशी प्रदेशमा सभामुख पद रिक्त छ। सभामुख पद रिक्त भएको अवस्थामा सभा उपसभामुखले सञ्चालन गर्नुपर्ने हुन्छ।

सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ।

सोही नियमअनुसार कोशी प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन्।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य विष्ट र एमालेका मालती कुमारी सुब्बाले पनि बिदा लिएका छन्।

उपसभामुख बिदामा बसेको बेला अब प्रदेशसभा मन्सुरीले सञ्चालन गर्नुपर्ने छ।

यद्यपि, मन्सुरीले सभा सञ्चालन गर्दा विश्वासको मत प्राप्त गर्नको लागि आवश्यक पर्ने मत नपुग्ने भएपछि सत्ता गठबन्धन पनि सभा सञ्चालन गर्न तयार छैन।

काेशीमा विश्वासकाे मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाएर मत  ४७ सिट पुर्‍याएकाे छ।

सम्बन्धित समाचार :
प्रकाशित मिति: : 2023-08-21 09:48:00

प्रतिकृया दिनुहोस्