कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत लिने तयारी गरेका छन्। उक्त प्रयोजनको लागि दिउँसो १ बजे प्रदेशसभा बैठक डाँकिएको छ।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ।

मुख्यमन्त्री थापाले आइतबार नै विश्वासका मत लिनेगरी शुक्रबार नै प्रदेशसभामा सूचना दर्ता गराएका थिए। तर, उपसभामुख सिर्जना दनुवारले मागिएको समय फेरबदल गरेर सोमबारको लागि सारेकी थिइन्।

मुख्यमन्त्री थापाले विश्वासको मत पाउने सहज वातावरण भने बनेको छैन।

कोशीमा प्रदेशसभा रिक्त छ। आजको बैठक उपसभामुख दनुवारले सञ्चालन गर्नुपर्नेमा उनले बिरामी बिदाको पत्र संसद सचिवालयमा पठाएकी छन्।

सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ।

सोही नियमअनुसार कोशी प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन्।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य विष्ट र एमालेका मालती कुमारी सुब्बाले पनि बिदा लिएका छन्।

अध्यक्ष मण्डलमा रहेका इस्राइलमन्सुरी गीता भन्दा ज्येष्ठ सदस्य हुन्।

उपसभामुख बिदामा बसेको बेला अब प्रदेशसभा मन्सुरीले सञ्चालन गर्नुपर्ने छ।

कोशी प्रदेशमा विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ। सत्ता गठबन्धसँग ४७ मत छ।

तर, मन्सुरी प्रदेशसभा सञ्चालन गर्ने अवस्था आएमा सत्ता गठबन्धको एक मत कम हुनेछ।

प्रकाशित मिति: : 2023-08-21 08:22:00

प्रतिकृया दिनुहोस्