आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ। उक्त कारोबार आर्थिक वर्ष २०७८/८९ भन्दा रु ७७ करोडले बढी हो।
कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो।
अघिल्लो आर्थिक वर्षको भन्दा ३३ दशमलव ६३ प्रतिशतले बढेर आव २०७९/८० मा रु तीन अर्ब सात करोडको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।
गत आर्थिक वर्षका लागि एशोसिएसनले रु तीन अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीको कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो।
विशेषगरी विवाह, व्रतबन्ध, सभा सम्मेलन, सेमिनारमा बढी प्रयोग हुने फूल पाँच वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीको समयमा अत्यन्तै कम कारोबार भएको थियो। उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ फूलहरू नष्ट भएको थियो।
कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक रु तीन अर्ब ३० करोडसम्मको कारोबार गर्ने गरेको थियो। यसमा वार्षिक रु १८ करोडको रातो गुलाफ फूलको मात्रै कारोबार हुने गरेको थियो।
विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन।
कोरोना महामारीअघि गुलाफको आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो सयय यसको उत्पादन घढ्दै गएका कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मात्रा र मूल्य बढ्दै गइरहेको बताइएको छ।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ।
रातो गुलाफ विशेषगरी काठमाडौँ उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरूपमा लगाउने गरिएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा लगभग पाँच सय पाँच नर्सरी विस्तार भएका छन्।
व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन। नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन। यस व्यवसायमा लगभग रु सात अर्ब बढीको लगानी रहेको बताइएको छ।
अहिले महामारीको त्रास छैन। मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन। विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पूर्ववत्नै हुन थालेको छ। गत आर्थिक वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन तथा मङ्सिरमा भएको आम निर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको अध्यक्ष तामाङ बताउँछन्।
रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण बारीमै खेर फल्न परेपछि महामारीको समयमा यस व्यवसायमा आबद्ध जनशक्ति अन्य पेशामा समेत पलायन भएको बताइएको छ। विगत चार वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ।
कामपाको निर्णयले कारोबार बढ्ने अनुमान
बढी मात्रामा प्लास्टिकको प्रयोगले वातावरणलाई बिगारेको र जसका कारण मानव स्वास्थ्यमा पनि ठूलो असर गरेको भन्दै कामपाले प्लास्टिक प्रयोगमा निषेध गरेको हो।
प्लास्टिक र प्लास्टिकबाट निर्मित सजावटका सामग्री प्रयोगको अवस्था के छ भन्नेबारे जानकारी लिन र त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गर्नका लागि अहिले कामपाले नियमित अनुगमनको काम पनि गरिरहेको छ।