बंगलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर फिरौती माग, सात जना पक्राउ

शनि शाक्य

काठमाडौं

नेपाल हुँदै युरोप पठाउने आश्वसन दिएर बंगलादेशी नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाई बंगलादेशमा रहेका परिवारसँग लाखौ रकम फिरौती मागेको आरोपमा सात जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले ८ जना बंगलादेशीलाई बन्धक बनाएर १० लाख फिरौती मागेको आरोपमा दुई नेपाली युवतीसहित ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीले गत शुक्रबार कालीमाटीडोलस्थित मेमोरियल गेष्ट हाउसमा चार बंगलादेशी नागरिकलाई बन्धक बनाएर राखेको आरोपमा सोही गेष्ट हाउसबाट अमिर हुसेनलाई पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले हुसेनको बयानको आधारमा प्रहरीले मोटिन मिया, रफू राइन, रिजो अह्मेड रे, मासियुर राहमन, सलिम मियालाई पक्राउ गरेको थियो।

प्रहरीले उनीहरुको बयानका आधारमा ललितपुरको हरिसिद्धिमा रहेको केदार श्रेष्ठको घरमा छापा मारेको थियो। जहाँबाट प्रहरीले बन्धक बनाइएका दुई बंगलादेशी नागरिकलाई उद्दार गरेको थियो।

त्यसपछि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले शुक्रबार नै नक्सालमा रोशनी राईले सञ्चालन गरेको केटिसी व्युटिपार्लर स्पामा बन्धक बनाइएका दुई बंगलादेशी नागरिकलाई उद्दार गरेको थियो।

स्पा सेन्टरमा बन्धक बनाएर राखेकाहरुलाई मसाजको नाममा यौनक्रिया गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यस कार्यक्रम संलग्न रहेको आरोपमा नेपालका रोशनी राई र सीता नेपालीलाई पक्राउ गरेको छ।

पक्राउ परेका सातै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धानको लागि आइतबार प्रहरी परिसर काठमाडौँलाई जिम्मा लगाइएको छ।

प्रकाशित मिति: : 2023-08-13 16:27:00

प्रतिकृया दिनुहोस्