एक वर्ष अगाडि साउनकाे महिनामा मुगु जानेबेला घुच्चीकाे लेक काटेर ओरालाे झर्दै गर्दा एक वृद्ध पिठ्युँमा टालाे लपेटेकाे डालाे र बायाँ हातमा प्लास्टिककाे झाेला बाेकेर हिँडिरहेका थिए। उनी ५९ वर्षका रहेछन्। उनकाे नाम रहेछ, सार्के शाही। हाल उनी ६० वर्षका भए। उनकाे नामसँग जाेडिएकाे कहानी पनि कम्ता राेचक छैन।
सार्के शाहीका माैरी र महकाे कथा
बाइक राइडर प्रकाश उपाध्यायले ओरालाेमा गति कम गरिरहेका थिए। त्यही माैकामा हामीसँग नजर जुधाएका उनले भने, 'साप! मह खाँदा कि!' लाेभिएर ओर्लियाैँ, हामी। उनले मह निकालेर दिए। हामीले दुई-दुई पल्ट खायाैँ। उनले मह लिएर आएका रहेछन्। जंगलका भीरपाखामा घार राखेर माैरी हुल्याे भने माैरी र मह दुबै आउने रहेछ।
साना बाेक्न मिल्न घार माैरी आउन सक्ने सम्भाव्य ठाउँमा राखिन्छ। त्यसरी घारमा माैरी हुल्न सफल भएका उनले माैरीसहित मह पनि लिएर आएका रहेछन्। मह हालेकाे प्लास्टिकमा प्वाल परेछ। पाेखिएर खेर जानुभन्दा बाटाेमा हिँड्ने बटुवालाई दिनु जाति लागेछ। त्यही भएर उनले भनेछन्, 'साप मह खाँदा कि!'
०००
कुराकानीबाट थाहा भयाे उनी माैरी पाल्ने किसान रहेछन्। त्यसरी नै उनले ६० घार पुर्याएका छन्।
उनी हरेक वर्ष एक सयदेखि डेड सय माना मह उत्पादन गर्छन्। त्यसबाट उनकाे डेडदेखि दुई लाख कमाइ हुन्छ। हिमालमा पालेका माैरीबाट वर्षमा एकपल्ट मात्रै मह निकाल्न सकिन्छ। तर मुगुमा ताताे लाग्ने हुनाले असार र कार्तिक गरी दुईपल्ट मह निकाल्न सकिन्छ।
'असारमा मैले ३५ माना निकालेर बिक्री गरेँ। मानाकाे एक हजार रुपियाँ पर्छ,' उनले भने, 'हाम्राे मह असाध्यै राम्राे छ। हाम्रातिर जंगल बढी छ। माैरीले बीसदेखि जडीबुटीयुक्त फूलकाे रस चुसेकाे हुन्छ। त्यही भएर हाम्राे मह पेवर(प्याेर) हुन्छ।'
घरमै परम्परागत घारमा माैरी पालेका उनले अब फर्म दर्ता गरेर व्यवस्थित रुपमा माैरी पालन गर्ने साेचेका छन्। कृषि विकास कार्यालयमा माैरी पालनसम्बन्धी तालिम दिन गएकाे बेला उनलाई हाकिमले फर्म दर्ता गरे सरकारी अनुदान पाइने कुराकाे जानकारी दिए।
'पाना नम्बर लिएर सरकारले दिने अनुदान पनि लिने साेच बनाएकाे छु', प्लास्टिकबाट चुइरहेकाे मह हातमा थाप्दै हात चाट्दै गरिरहेका उनले भने, 'फर्म दर्ता गर्न जुम्ला जानुपर्ने रहेछ। अब फुर्सद मिल्ने बित्तिक जान्छु सर।'
उनलाई माैरीबारे राम्राे जानकारी छ। माैरीलाई नियन्त्रणमा लिन रानीकाे प्वाँख काटिदिने गरेकाे उनले बताए। 'त्यसाे गर्दा माैरी घारमै रहन्छ। रानी यताउता भएन भने माैरी त्यहीँ रहिरहन्छ। पाल्न कुनै गाह्रो हुँदैन,' उनले भने।
उनका अनुसार सामान्य माैरीभन्दा रानी माैरी फरक खालकाे हुन्छ। उसकाे आकार ठूलाे हुन्छ। रंग पहेँलाे हुन्छ। उसकाे टाउकाे पहेँलाे हुन्छ भने खुट्टा पनि पहेँलै हुन्छन्। कर्मी र भाले माैरीले मान्छेलाई टाेक्छ। तर रानी माैरीले टाेक्दैन।
जेठ-असारमा माैरीले चल्ला निकाल्छ। त्यसकाे एक साइडमा काेठी हुन्छ। त्यसमा नयाँ रानीकाे जन्म हुन्छ। नयाँ रानीकाे जन्म हुनु नयाँ शासक जन्मिनु हाे। एकै देशमा दुई राजा नभएझैँ एक घारमा पनि दुई रानी हुँदैनन्। त्यसैले उनी आफ्नाे नयाँ राज्य निर्माण गर्न निस्कन्छन्। उनीहरुकाे देश बनाइदिने काम गर्छन्, सार्के। उनले भने, 'त्यतिबेला भेर फाट्ने बित्तिकै छाेप्न सक्याे भने माैरी बढ्छ।'
हरेक मान्छे सबै विषयकाे विज्ञ हुँदैन। संसारमा पढेलेखेका मात्रै ज्ञानी छैनन्। आफ्नाे क्षेत्रमा भने धेरैले ज्ञान हासिल गरेका हुन्छन्। उनी आफ्नाे क्षेत्रमा दक्ष छन्। अघिल्लो वर्ष कृषि विकास कार्यालयका हाकिमलाई समेत माैरी पालनसम्बन्धी तालिम दिएका उनी गर्वसाथ भन्छन्, 'ज्ञान सिक्नु नै ठूलो कुरा हाे।'
उनले मान्छेले मेहनत गर्न माैरीबाटै सिक्नुपर्ने बताए। 'माैरी साह्रै मेहनती हुन्छ। पिनाका माैरी गुच्चीका लेख पुग्छन्। पाटनमा पुग्छन्। बीस लिएर आउँछन्,' उनले भने, 'जडीबुटीयुक्त फुलकाे रस चुसेर आउँछ। कहिलेकाहीँ एक घारबाट मात्रै १० देखि २० मानासम्म मह आउँछ। त्यति आयाे भने त भाग्य हाे।'
वनमा राख्ने घार साना बनाइएका हुन्छन्। बाेकेर तलमाथि गर्न सकियोस्। ती घारलाई उनी माैरी छाप्ने घार भन्छन्। घरमा राखिएका घार त ठूला हुन्छन्। जहाँबाट मस्तै मह निकाल्न सकियाेस्।
०००
सार्केकाे नामकाे कथा
उनीभन्दा अगाडि तीन जना दाइ जन्मिए। तीनैजना बिते। आफ्ना सन्तान लगातार मर्न थालेपछि उनका बाआमा, दर सन्तालाई ठूलो पिर पर्यो। उनीहरु धामीकहाँ गए। मान्नेगुन्ने देउताका थानथान धाए।
त्यहीँबाट निक्लियाे एक उपाय। धामीले अब बच्चा जन्मेपछि भियाल सार्कीलाई बिक्री गर्नु भने। धामीकाे मत थियाे, त्यसपछिका सन्तान बाँच्नेछन्।
उनले भने, 'म जन्मेपछि मेरी मामी मलाई सार्कीकन बेचिछन्। त्याेबेलामा दुई हजारमा बिक्री गरिछन्। सार्कीले आजदेखि मेराे भइस् भनेर काेला(काख) हालेछन्। पछि फेरि आमाले सार्कीलाई दुई हजारै दिएर मलाई किनिछन्। त्यइदेखि पछि भएका मेरा तीनै भाइ बाँचे।'
मुगुमा धेरै सन्तान मरे भने सार्की भियाल, चुफ्या जाड र जाेगीलाई बेच्दा त्यहाँभन्दा पछिका बच्चा बाँच्छन् भन्ने प्रथा कायम छ। धेरै ग्रह-दशा भएका बच्चाहरुलाई हातगाेडा नेल हाल्याे भने बाँच्छन् भन्ने मान्यता रहिरहेकाे उनले थपे। 'साप नामले त केही हुँदैन। काेही त माेकन भक्त बहादुर पनि भन्नाछन्। तर नागरिकतामा त सार्के शाही छ। यही नाम ठिक छ।'