त्यो बेला राजनीतिका एक ‘सुत्रधार’ यी डा. शर्माले अहिले भोगिरहेको नियति र राजनीतिको प्रतिशोधविरुद्ध लेखिरहेको राजनीतिक ‘प्रेस्क्रिप्सन’ले फेरि यसपालि फरक परिदृश्यका रेखाहरू कोरेका छन्।
सय किलो सुनमा गाँसिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतको राजीनामा माग्ने सांसद डा.सुनिल शर्माको चर्चा सेलाइसकेको थिएन।
धेरै समयपछि भेटिएका काँग्रेसभित्र उनकै समूहका दुई नेता डा. शेखर कोइराला र गगन थापको ‘युगल तस्बिर’ ओइलाउनै पाएको थिएन। पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएको खबर ताजै थिए।
आफ्नै घरमा बसिरहेका काँग्रेस सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गर्यो।
उनको गिरफ्तारी एउटा संयोगमात्रै थिएन, अदालतको आदेशले नै पुष्टि गरिसकेको छ, अपुरा प्रमाणका भरमा डा. शर्माको त्यो गिरफ्तारी राजनीतिक प्रतिशोध नै थियो।
२४ घण्टा नपुग्दै अदालतको आदेशबाट सिआइबीको थुनामुक्त भएका शर्माले केपी ओलीलाई ‘आफ्नै बुवा सरह’ भन्दै जिन्दावादको नारा लगाउनु ‘भावनाको त्यही उत्तेजना’ थियो।
आइएस्सीका शैक्षिक प्रमाणपत्रहरूमा ‘कीर्ते’ गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले घरबाटै गिरफ्तार गरेको थियो।
जबकि अदालतले ‘थुनामा राखिरहननपर्ने’ र ‘कतै भागिनजाने’ भन्दै तारेखमा बाहिरै राखेर अनुसन्धान गर्न भनेपछि २४ घण्टामै उनी बाहिर निस्के।
डा. शर्मा को थिए ? उनका ब्यापार के थियो वा उनले कसरी पैसा कमाइरहेका थिए, त्यो फरक कुरा हो। अदालतको आदेशको व्याख्य विश्लेषणको अर्को पाटो हो।
डा. शर्मामाथिको यो आरोप पुरानो भने थिएन।
यसअघि नै २०७२-२०७३ सालतिर पनि करिब ६० जना त्यस्ता नक्कली शैक्षिक प्रमाणका आधारमा डाक्टर बनेका करिब ६० जना पक्राउ परेका थिए।
तीमध्ये धेरै छुटिसकेका छन्। कतिपयले सफाइ पनि पाइसकेका अनि कति धरौटीमा छन्।
अनुसन्धानको त्यही सिलसिलामा छुटेका मध्ये एक हुन्, डा. शर्मा पनि। उनीसँगै पक्राउ परेका अरू ६ जनालाई भने अदालतले थुनामै राख्न भनेको छ।
सिआइबी स्रोतकाअनुसार यसपालि उसकाे अनुसन्धान ‘राडार’मा १५ जना त्यस्ता ‘नक्कली’ डाक्टरहरू थिए।
त्यो बेला यो अनुसन्धान बीचैमा रोकिएको थियो। कतिपयले त त्यसलाई अब ‘निश्क्रिय भइसकेको फाइल’ पनि भनेका छन्।
त्यो अपरेशन सिआइबीको भाषामा ‘अपरेशन क्वाक’ थियो। यसपालि ‘फोक्सट्रोट चार्ली’को नाम दिएर फेरि धरपकड सुरु गर्यो। सत्तापक्ष र राजनीतिक राततापका बीच अचानक ‘खुलेको’ त्यो फाइलले फेरि एकपटक राजनीतिलाई तताएको छ।
भारतको बीडीबीकेएस कलेजबाट १९९६ मै उनले आइएस्सी उत्तीर्ण गरेका थिए। त्यही प्रमाणपत्रका आधारमा उनले एमबिबिएस र मेडिकल काउन्सिलको परीक्षा पनि पास गरेर ‘रजिष्ट्रड’ डाक्टर भए।
चुनाव लडेर जनताको मत ल्याएर जितेपछि उनी एक सांसदको भूमिका थिए। देशकै एउटा ठुलो पार्टीका एक नेता थिए।
पार्टीका एक सांसदका हैसियतमा उनले संसदमा कुरा उठाएका थिए।
आफ्नै पार्टीकै सही अर्थमन्त्री र सत्ता साझेदारकै सही उनले गृहमन्त्रीको पनि राजीनामा मागे।
राजीनामा नआए संसदमै अनसन बस्ने चेतावनी पनि दिए।
तंरगित राजनीति
‘सिध्याउन खोजेको’ भाष्य नै सही, प्रधानमन्त्री प्रचण्डको भाषामा ‘भ्रष्टाचार विरोधी’ र ‘सुशासन’को यो अभियानबाट डा. शर्माजस्ता ‘धेरै’का मान्छेहरू जेलयात्रामा छन्। कसैको यात्रा तयारी अवस्थामा छ। त्यहाँ प्रचण्ड, केपी ओली अनि शेरबहादुर देउवाकै पार्टीका मान्छेहरू पनि छन्।
तीमध्येका एक डा. शर्मा थिए।
भुटानी शरणार्थी प्रकरणदेखि सय किलो सुन, ललिता निवास अनि गौरहत्याकाण्डको पुनर्ताजकी र त्यहीबीचमा अचानक जागेको ‘नक्कली शैक्षिक प्रमाणपत्र’का फाइलहरूले राजनीतिलाई पनि उत्तिकै तरंगित बनाइरहेका छन्।
थुनामुक्त हुँदै गर्दा डा. शर्माले भनेका छन् ‘यी आतंकारीहरूसँग गठबन्धन गरिरहने हो भने काँग्रेस सकिन्छ। यिनीहरूले एकएक गरेर सबै नेताहरूलाई धुलोपीठो पार्दैछन्।’
उत्तेजनाका यी अभिव्यक्तिहरू मात्रै डा. शर्माका भावुकतासँगमात्रै गाँसिएका छैनन्, बरू राजनीतिको अर्को किनाराको संकेत पनि गरेका छन्।
गौरहत्याकाण्डको अनुसन्धान १७ वर्षअघि रोकिएकै बिन्दुबाट फेरि सुरु गर्नेगरी ‘पीडित’हरूका नाममा प्रधानमन्त्री प्रचण्डले सहमति गरेसँग आत्तिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि ठ्याक्कै यही कुरा भनेका थिए।
त्यो सहमति बाहिरिएलगत्तै देउवालाई भेट्न गएका यादवले भनेका थिए ‘प्रचण्ड महाकाल हुन्, यिनले तपाईं हामी सबैलाई सिध्याउँछन्।’
अदालतको आदेश आउनुअघि ओलीले आफ्ना केही भाषणमा डा. शर्माका पक्षमा अभिव्यक्तिमात्रै दिएनन्, बरू ‘सय किलो सुनकाण्डका विरूद्धमा बोल्ने हो भने सुनिल शर्मा बनाइदिन्छन्’ भनेर काँग्रेस र माओवादीभित्र एकअर्कालाई सिध्याउन कसरी राजनीतिक प्रतिशाेध साँधिरहेका छन् भन्ने पनि छर्लङ्ग पारिदिएका छन्।
ओलीले त्यो बोलिरहँदा संसदभित्र एमालेकै सांसद ज्वालाकुमारी साहले पनि डा. शर्माकै बचाऊ गरिरहेकी थिइन्। सय किलो सुनको छानबिनको कुरा उठाउँदा पक्राउ परेका शर्मामाथि राजनीतिक प्रतिशाेध साँधिएको भन्दै उनले त्यसबाट सत्ताधारी दलकै मान्छेहरूको संलग्नता झल्काउने पनि बताइरहेकी थिइन्।
सुरुवातदेखि नै एमालेले गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको दाबी गर्दै आएको छ।
उनीहरूको राजीनामा माग्दै उसले उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद पनि निरन्तर अवरुद्ध गरिरहेको छ।
तर, सरकारले भने त्यसको आवश्यकता छैन भन्दै सय किलो सुनको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागलाई बीचबाटोमै रोकेर त्यो मुद्दा सिआइबीलाई दियो।
फेरिएका दृश्यहरू
अदालतले डा. शर्मालाई थुनामुक्त गर्न आदेश दिइरहँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हतार हतार शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगे।
सरकारको प्रमुख साझेदार उनै देउवाकै पार्टी नेपाली काँग्रेसका सांसद पनि हुन्, जसले उनै गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर संसदमै अनसन बस्ने धम्की दिएका थिए।
त्यसको केही दिनमै उनी पक्राउ परे। अनि फेरि केही घन्टामै छुटे।
थुनामुक्त भएसँगै डा. शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको ‘जयजयकार’ गरिरहँदा गृहमन्त्री श्रेष्ठ भने देउवा निवास पुगिसकेका थिए।
त्यहाँ के कुरा भयो भनेर अहिलेसम्म कसैले केही भनेका छैनन्। यसबारे देउवाको सचिवालय पनि बोलेको छैन। गृहमन्त्री श्रेष्ठको सचिवालयले ‘समसायिक विषयमा कुराकानी भएको’ भनेको छ।
तर, त्यो समसायिक विषयमा कुरा गर्न गृहमन्त्री आफैं सत्ता साझेदार दलका नेतालाई भेट्न जाँदैन। त्यो कुरा त प्रधानमन्त्री आफैंले पनि गर्नसक्छन्। वा देउवा आफैंले प्रचण्डसँग गरिहाल्छन्।
सजिलोगरी बुझ्नुपर्ने कुरा के हो भने, त्यही दिन (शुक्रबार) काँग्रेस संसदीय दलको बैठकमा पनि गृहमन्त्रीको राजीनामा वा जिम्मेवारी परिवर्तनका लागि प्रचण्डलाई भन्न सांसदहरूले देउवालाई दबाब दिएका थिए।
यद्यपि, देउवा मौन छन्।
‘सिक्वेन्स’हरू
काँग्रेसभित्रै एउटा समूहका नेता डा.शेखर कोइराला भनिरहेछन् सांसद सुनिल शर्माको गिरफ्तारी राजनीतिक प्रतिशोधबाहेक केही थिएन।
‘उहाँका गल्ती कमजोरी होलान्। छानबिन र कारबाही हुनुपर्छ’ शनिबार भक्तपुरमा आयोजित काँग्रेसकै एउटा कार्यक्रममा कोइरालाले भनेका छन्, ‘तर राजनीतिमा जब प्रतिशोध साँधिन्छ अनि राजनीति राजनीति नै रहन्न, त्यसले व्यक्ति, दलहरू र देशलाई पनि ठुलै क्षति पुर्याउँछ।’
डा.शर्मा थुनामुक्त भएपछि काँग्रेसकै अर्का नेता रामहरि खतिवडाले भनेका छन्,‘पर्याप्त कारणबिना पक्राउ गर्नु सर्वथा गलत थियो, र गलत हुन्छ। सुनिल शर्मालाई अदालतले थुनामा राख्न अस्विकार गर्यो। नेपालमा न्यायपालिका सधैँ स्वतन्त्र र निष्पक्ष छ। सधैं रहिरहनेछ।’
सांसद शर्माको गिरफ्तारीलगत्तै काँग्रेस नेता अर्जुननरसिंह केसीले त्यसलाई एउटा संयोगका रुपमा मात्रै लिन नमिल्ने बताएका थिए। उनले संसदीय दलको बैठकमा पनि त्यही कुरा भनेका थिए।
‘संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकै कारण यो प्रकरण नक्कली शैक्षिक प्रमाणपत्र पुनः युद्धस्तरमा तातेको हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासो को विषय बनेको छ,’ उनले भनेका छन्।
यही बेला ब्यूँताइएका अनेक काण्ड र प्रकरणहरूमा धमाधम नेताहरू पक्राउ पर्न थालेका छन्। कसैमाथि छानबिन सुरु हुँदैछ।
स्वभाविकरुपमा देशीय राजनीतिका तरंग र दृश्यहरू फेरिन थालेका छन्।
गठबन्धनमाथि त्यही गठबन्धनकै दलहरूको दबाब छ। सरकारमाथि प्रतिपक्ष र सत्तापक्षले नै प्रश्नहरू उठाइरहेका छन्।
सत्तापक्ष अनि प्रतिपक्ष दलभित्र दलकै नेता कार्यकर्ताहरूले प्रश्न गरिरहेका छन्।
ललिता निवास प्रकरणमा अदालतको पछिल्लो आदेशले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिनको ढोका खोलिदिएको छ।
त्यही ढोकामै थिए, बाबुराम भट्टराई अनि माधव नेपालहरू पनि।
‘छानबिन‘का लागि आफूलाई तयार राख्दै पार्टीको अभियानका लागि देशभरि घुमिरहेका बाबुराम भट्टाराई जिल्ला जिल्लामा पुगेर थरिथरिका भाषण दिइरहेका छन्।
‘आवश्यक परेर आउँछु’ भनेर जेनेभा भ्रमणमा निस्किएका माधव नेपाल युरोपबाट भिडियो जारी गर्दै त्यसबारे प्रष्टिकरण दिइरहेका छन्।
भदौ १ गते उनै माधव नेपाल काठमाडौँ फर्किएपछि सरकार अनि गठबन्धनको अबको यात्रा र त्यसको भविष्यको एउटा मार्गचित्र आउनेछ।
थुनामुक्त भएसँगै डा. शर्माले आफूमाथि आफ्नै पार्टीको प्रतिशाेधको मात्रै कुरा गरेनन्, बरू कुनै बेला गुण लगाएका प्रधानमन्त्री प्रचण्डले पनि त्यो गुणको बदला ‘हतकडी’ लगाइदिएको आरोप लगाएका थिए।
कुनै बेला डा.शर्माको साइनो तत्कालीन काँग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालासँग पनि उत्तिकै गहिरो थियो। कोइरालाका विश्वासपात्र नेता कृष्णप्रसाद सिटौलासँगै मिलेर उनले जंगलबाट ‘अन्तिम युद्ध’ लडिरहेका प्रचण्ड र कोइरालाबीच सम्पर्कसूत्रको काम गरेका थिए।
त्यो बेला राजाको शासनविरूद्ध सडकमा (सात) दलहरूले अन्तिम संघर्ष गरिरहेका थिए। माओवादी अनि ‘अन्तिम र निर्णायक’ धक्का भन्दै सेनासँग लडिरहेको थियो।
डा.शर्माले त्यो बेला सिटौलाको सहयोगमा गिरिजा र प्रचण्डबीच टेलिफोन कुराकानी गराइदिएका थिए। त्यही फोनवार्तापछि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउने एउटा सुरुवाती बाटो बन्यो।
त्यो बेला राजनीतिका एक ‘सुत्रधार’ यी डा.शर्माले अहिले भोगिरहेको नियति र राजनीतिको प्रतिशोधविरुद्ध लेखिरहेको राजनीतिक ‘प्रेस्क्रिप्सन’ले फेरि यसपालि फरक परिदृश्यका रेखाहरू कोरेका छन्।