गैरआवासीय नेपाली संघको आयोजनामा हुन लागेको ‘तेस्रो विश्व ज्ञान सम्मेलन’ अक्टोबर १७ देखि १८ सम्म काठमाडाैँमा हुने भएको छ।
संघले विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन विगत ५ वर्षदेखि निरन्तर विश्व ज्ञान सम्मेलन आयोजना गर्दै आएको जनाउँदै यसलाई निरन्तरता दिँदै तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्न लागेको जनाएको छ।
नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यस सम्मेलनको आयोजना गर्न लागिएको संघको भनाई छ। विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघसंस्था, निजी तथा सरकारी, गैरसरकारी संस्थालगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिने संघले जानकारी दिएको छ।
‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको यो सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार, कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसनसहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको छ।
विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षालगायतका विषयमा बृहत छलफल गरिनेछ।
सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा राखेको संघको भनाई छ।
सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने तथा सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गरिने जनाउदै संघले यस्तो आदानप्रदानले आधुनिकीकरण तथा विकासको नेपाली जनताको आकांक्षालाई मूर्त रुप दिन सहयोग पुग्ने विश्वास लिएको बताएको छ।
सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको र सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५ ,२०८०) देखि कार्यपत्र आह्वान गरिएको संघले जानकारी दिएको छ। साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३ ( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिने तथा सम्मेलनको अन्य जानकारी www.knowledge.nrna.org बाट प्राप्त गर्न सकिने बताइएको छ।