‘ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजिनीति गर्नुछ चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड’ गत जेठ १६ गते प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा कार्यक्रममा भनेका थिए।
त्यो दिन उनको पार्टी मुख्यालयमा उनका सल्लाहकार समिति र जेष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठक थियो। त्यसलाई सम्बोधन गर्ने क्रममा उनले गौर हत्याकाण्डको पनि कुरा उठाएका थिए।
र, भनेका थिए, ‘ती घटनाहरूमा के भएको हो भन्ने कुराको सत्यतथ्य केही आएको छैन। यी सबै कुराहरू लगेर अब जनतामा नयाँ विश्वास जगाउनुछ।’
नभन्दै त्यसको दुई महिनापछि उनले गौर हत्याकाण्डको फाइल खोले।
प्रचण्डलाई थाहा थियो, त्यो फाइलभित्र को छ?
चाल पाइसकेका थिए उनले त्यहाँ उपेन्द्र यादवको नाम छ।
सरकारमा मात्रै होइन, कम्युनिस्ट एकताको ‘ड्रिम प्रोजेक्ट’, समाजवादी मोर्चासम्मै पनि सँगै बोकेर लगेका उनका सहयात्री हुन्, यादव।
यो सब प्रचण्डलाई थाहा थियो।
र, पनि उनले ‘गौर हत्याकाण्डका पीडित’हरूसँग सहमति गरेर १७ वर्षपछि फेरि यादवहरूलाई तर्साए।
सिधा र सरल कुरा छ, यादव पक्राउ त पर्छन्। किनकि यो प्रधानमन्त्री प्रचण्ड आफैले खोलेको फाइल हो।
यादव त्यसमा दोषी हुने वा नहुने कुरा दोस्रो हो।
किन यस्तो गर्दैछन् प्रचण्ड?
उनकै भाषामा यो, प्रचण्ड जीवनको ‘लास्ट इनिङ’ हो।
जीवनका करिब ५० वर्षहरू राजनीतिको यात्रामा दगुरिरहेका प्रचण्ड आफैले भनिरहेका छन्, यो उनको वास्तविक जीवनको उत्तरार्द्ध हो।
र, अब जीवनको सुरक्षित अवरतण गर्नका लागि उनी यतिबेला आकष्मिक ‘रन-वे’ निर्माणको क्रममा छन्।
ओराली झर्दैझर्दै गइरहेको पार्टीबाट उनी आफूमात्रै एक्लै माथिमाथि उक्लिरहेका छन्, आउनेजतिलाई साथ लाएर।
संसदीय राजनीतिक यात्राका दौरान हराउँदै गएको माओवादीको ‘साख’ जोगाउन प्रचण्डलाई कम्ता चुनौतीहरू छैनन्।
पार्टीभित्र चरम असन्तुष्टी छ। संसदीय राजनीतिको सुरुवाती पाइलामा भेटिएका जनताको साथ अब हराइसकेको छ। माओवादी अनि प्रचण्ड आफै आफ्नै मूलबाटोबाट हराइरहेका छन्।
प्रचण्डले के गर्यो? भन्ने भन्दा पनि ‘केही गरेन’ भन्नेहरू धेरै छन्। उनकै कार्यकर्ताहरू छन्। उनकै सहयात्री अनि सहयोद्धाहरू असन्तुष्ट छन्। उनकै जनयुद्धमा ज्यान अर्पेका ‘लालसेना’हरू छन्। घाइते अनि अपाङ्ग भएकाहरू छन्। ‘सहिद’ले छोडेका परिवार छन्।
यी सबलाई प्रचण्डले अब जवाफ दिनुछ।
त्यसैले उनी यो सब गरिरहेछन्।
नक्कली भुटानी शरणार्थीको मुद्दा होस् वा सय किलो सुनका काण्डहरू।
प्रचण्डले आँखा चिम्लिरहेका छन्, जहाँ उनका सत्तायात्राका सहयात्री दलका मान्छेहरू पनि छन्। हरेक पाइला पाइलामा बिझाइरहने प्रतिपक्ष दलका आफ्नै मान्छेहरू पनि छन्।
त्यहाँ उनका जनयुद्धकालीन आफ्नै सहयात्रीहरू पनि छन्। प्रचण्ड जीवनका सबैभन्दा विश्वासिला पात्रहरू पनि छन्।
त्यसैको एक परिणाम हुन्- उपेन्द्र यादव पनि।
नत्र, माइतीघरमा महिनौदेखि धर्ना दिएर बसिरहेका ‘न्याय माग्ने’हरूको कमी त प्रचण्डले पक्कै देखेका थिएनन्।
जब कि माइतीघरको त्यही हुलमा मिसिन आएका ‘गौर हत्याकाण्ड पीडित’हरूलाई उनले क्षणभरमै सिंहदरबार भित्र्याएर एकपन्ने सहमति गरे।
सहमतिको पहिलो बुँदामै थिए, उपेन्द्र यादव।
त्यसमा भनिएको थियो ‘गौर हत्याकाण्डको मुद्दा जहाँनेर रोकिएको हो त्यही विन्दुबाट अनुसन्धान सुरु गरेर दोषीहरूलाई कानुनी दायरामा ल्याउने।’
भावनाको आँधीमा प्रचण्डले मोलेको यो सबैभन्दा ठूलो जोखिम हो।
सय किलो सुनमा गाँसिएको एमाले साइनो अझ प्रस्टिरहेको छ। नेपाली काँग्रेसको कथा त्यही हो, बालकृष्ण खाणको राजनीतिक पतनलाई काँग्रेसले टुलुटुलु हेरीबस्न बाध्य छ।
वर्षौंअघि निस्क्रिय भइसकेको मुद्दामा बिहीबार पक्राउ परी हाँस्दै हाँस्दै ‘हिरासत’मा पुगेका काँग्रेस नेता सुनिल शर्माको कहानी त्यही हो।
र, उपेन्द्र यादवको यो अप्रत्याशित अत्यासको उपज पनि प्रचण्डै हुन्।
सरकार ढल्ला, प्रचण्डलाई डर छैन?
ढल्नसक्छ। प्रचण्डलाई थाहा छ। नढल्न पनि सक्छ, प्रचण्डसँग त्यो चतुर्याइँ पनि छ।
तर सिधा कुरा त के हो भने प्रचण्डले चाहेको पनि यही नै हो।
यही बेला गठबन्धन फेरियोस्, सरकार ढलोस्। प्रचण्ड यही चाहन्छन्।
ताकि भोलि देशभरि ‘जनता’लाई भन्दै हिँड्न पाइयोस् ‘भ्रष्टाचार अनि ठुल्ठूला काण्डका फाइल खोल्दा खोल्दै मलाई फालियो...’
यो कुरा त प्रचण्डले भर्खरै सकिएको उनको पार्टीको चौथो पूर्ण बैठकमै पनि भनेका थिए ‘सरकार छोड्नुपरे छोडिन्छ तर भ्रष्टाचारविरुद्ध र सुशासनको यो ब्याटल छोडिन्न…।’
अबको चुनावमा भोट माग्दा के भनेर जाने? चाहिएको त्यही त हो। प्रचण्ड अभीष्ट पनि यही नै हो।
उसै पनि प्रचण्डले राजनीतिमा खासै नरुचाएका पात्र हुन्, उपेन्द्र यादव। कुनै बेला कम्युनिस्ट आन्दोलनमा जोडिएका उनी एक बेला माओवादीसँग नजिकिएर ‘मधेस अभियान’ पनि चलाए। र, फेरि माओवादीसँग ‘दुश्मनी’ मोले।
माओवादी सम्मिलित अन्तरिम सरकारले २०६४ साल माघमा जारी गरेको अन्तरिम संविधान माइतीघरमा जलाइँदा यादव नै अघि लागेका थिए।
त्यही आगो ‘मधेस आन्दोलन’ बनेर दन्कियो र २०७२ सालमा मूल संविधान जारी हुँदा त्यो ‘भारतीय नाकाबन्दी’सम्मै पुग्यो।
२०६३ साल चैत २७ गतेको गौर हत्याकाण्ड त्यही दुश्मनीको परिणति थियो।
मधेसमा जहाँ, उपेन्द्र यादव ‘मधेसका मसिहा’ बनेर चम्किरहेका थिए, त्यहीँ पुगेर प्रचण्डले भर्खरै सकिएको जनयुद्धको ‘ताप’ पोख्न खोजे।
त्यही भुङ्ग्रोमा उनका २७ जना कार्यकर्ताले क्रुर मृत्यु भोग्नुपर्यो। उनीहरूको पाशविक हत्या भयो।
अहिले खुलेको त्यही अपराधको एउटा पाना हो, जहाँ उपेन्द्र यादवको नाम पनि नमेटिनेगरी लेखिएको छ।
संकेतहरू
‘ठुल्ठूला मान्छे’हरूलाई जेलको यात्रा पठाइरहेका बेला अहिले राजनीति भित्रभित्रै निकै तातिसकेको छ।
उम्लिएको यो राजनीति ‘गठबन्धन’को त्यो भाँडोबाट अब पोखिनमात्रै बाँकी छ। सके त गठबन्धनको अर्को ‘भाँडो’ नयाँ पनि हुनसक्ला।
गौर हत्याकाण्डको फाइल खोल्ने सहमति हुनासाथ उपेन्द्र यादवले प्रचण्डलाई भेट्न हतासिएका थिए। तर भेट हुनसकेन।
आत्तिएका यादव दगुर्दै देउवाकहाँ पुगे।
देउवासँग पनि प्रचण्डप्रतिका कुण्ठाहरू छन्। तर उनी बोलिरहेका छैनन्।
हत्तपत्त बोल्दै नबाल्ने देउवा नबोलेरै कतिबेला के निर्णय गर्छन्, त्यो आरजुलाई पनि थाहा हुन्न!
काँग्रेसका अरू नेताहरूलाई त देउवाको त्यो निर्णयलाई परिभाषित गर्नमै ठिक्क हुन्छ।
यादवले देउवासँग प्रचण्डसँगका गुनासाहरू पनि सुनाएनन्। आफ्ना पीर,ब्यथाहरू पनि पोखे।
सरकारका कुरा गरे। प्रधानमन्त्रीका चालका कुरा गरे। गठबन्धनका कुरा गरे। समाजवादी मोर्चाका अन्तर्यका कुरा गरे।
‘प्रचण्ड त पल्किएका काल हुन्। सबलाई सक्दैछन्। तपाईंका नेताहरूलाई जेल हाले। अझै हाल्छन्। एमालेलाई सके। अझै सक्दैछन्’ अनि आफ्ना कुरा राख्दै देउवालाई यादवले भनेका थिए ‘आज मेरो पालो भो। भोलि अरूका पनि आउलान्। अब हामी गठबन्धन छोड्छौं।’
खासमा त्यो कुरा उनले प्रचण्डलाई देउवाले सुनाऊन् भनेर भनेका थिए।
देउवाले पनि यादवलाई सम्झाएका थिए, ‘केही समय पर्खिनुस्। अहिल्यै क्यै नगर्नुस् म कुरा गर्छु…’
गौर हत्याकाण्डका पीडितहरूसँग सरकारले सहमति गरेलगत्तै यादवले पार्टीको विशेष बैठक बोलाएका थिए। तर देउवाले तत्कालै बैठक नबोलाउन पनि यादवलाई सुझाव दिएका थिए।
यादवसँगै साथमा रहेका एकजना नेताले बिहीबार अबेरसम्मै बिएलसँग कुराकानी गरेका थिए।
उनका अनुसार त्यसपछि देउवाले यादवको त्यो कुरा प्रचण्डलाई सुनाए।
तर प्रचण्डले देवालाई सिधा जवाफ दिए, ‘१२ गए १४ आउँछ। चिन्ता नगर्नुस्…।’
यो भनेको उपेन्द्रको पार्टी गए, राप्रपालाई सरकारमा भित्र्याउने प्रचण्डको भरलाग्दो जवाफ थियो। जसपासँग १२ सांसद छन् र राप्रपासँग १४।
राप्रपाभित्र पनि सरकारमा जानुपर्छ र अहिले नै जानुहुन्न भन्ने दुई धार प्रष्ट विभाजन भइसकेका छन्।
राप्रपामा दुई प्रष्ट धार छन्। एउटा राजेन्द्र लिङ्देनलाई पछ्याउनेहरूको, अर्को ‘बुढापाका’ नेताहरूको धार- जहाँ पशुपति समशेर जबरा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द अनि ध्रुबहादुर प्रधानहरू छन्।
लिङ्देनले नेतृत्व सम्हालेपछि २०७९ सालको चुनावबाट अप्रत्याशितरुपमा उदाएको राप्रपा राष्ट्रिय राजनीतिक धार बदल्ने एक शक्तिका रूपमा छ।
प्रचण्डले यी सम्भावनाहरू पनि देखेका छन्। त्यसैले राप्रपाभन्दा पनि थोरै सांसद भएको जसपासँग प्रचण्डको खासै मोह छैन। उसै पनि प्रचण्ड घरिघरि उपेन्द्रलाई झेल्न चाहिरहेका छैनन्।
‘अन्तिममा हुने भनेकै काँग्रेस र एमालेको गठबन्धन हो’ जसपाका एकजना केन्द्रीय नेता भन्छन् ‘अकस्मात कसैलाई न्याय दिने नाउँमा गरिने सहमति र भद्र सहमतिलाई कुल्चिएर अघि बढ्नेहरूले गर्ने भनेकै यही हो। प्रचण्डको आफ्नै नियतिले पनि उनी सफल हुँदैनन्।’
राजनीतिक प्रतिशोधपुर्ण लेख।