वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ।

सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो। स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ।

यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ। विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख रावतले बताए। सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपालन गरी जीवनस्तर सुधारका लागि प्रयोग हुने उनको भनाइ थियो।

यस क्षेत्रका बासिन्दा जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यतालार्ई अन्त्य गरी गाउँघरमै उद्यमशीलता विकास गर्न यस सम्झौताले सहयोग पु-याउने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। यसैबीच यस नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापनाका लागि पहल भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले छिट्टै बैंकको शाखा सञ्चालन गरिने बताए। नगर क्षेत्रभित्र भेरी करिडोर र चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण भइरहेको र सोही क्षेत्रमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण भइरहेकाले उक्त शाखाको बारोबार बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2023-08-10 16:50:00

प्रतिकृया दिनुहोस्