शिक्षाले चेतनायुक्त प्रजा नेपालका बनून्
राज्य होस् रामकै जस्तो सुखी सब् दुःखी क्वै नहून्
– डा. लक्ष्मीकान्त पन्त
सुदूरपश्चिममा विगतमा अत्याधिक मात्रामा प्रयोगमा आउँथ्यो एउटा भनाइ– ‘एकलो कति टेकलो..’
अर्थात् एक्लो मान्छेको के भर !
त्यो एक्लो भनेको आमा बुवाको एक्लो सन्तान हो। सन्तान भन्नासाथ छोरालाई मात्र गणना गर्ने चलन अझैं छँदैछ सुदूरपश्चिममा।
९ वर्षको उमेरमा आमा र १४ वर्षको उमेरमा बुवा गुमाएका डा. लक्ष्मीकान्त पन्त पनि आमा बुवाका एक्ला छोरा थिए। जसले कैयौंका बिच सामाजिक अगुवाको भूमिका निर्वाह गरे। जसको नाम सुदूरपश्चिमको शैक्षिक इतिहासमा सुनौला अक्षरले दर्ज भएको छ।
समाजमा निकै कम मात्रामा भेटिन्छन् त्यस्ता सामाजिक अगुवाहरू। जसमध्येका एक हुन् डा.पन्त पनि। त्यस क्षेत्रका एक प्रखर सामाजिक व्यक्तित्व, शैक्षिक अभियन्ता। सकारात्मक सोच भएको, सर्वोपकार भावनाले ओतप्रोत भएको सन्तति एक्लो हुँदा (छोरा होस् वा छोरी) पनि घरपरिवार र समाजले पूर्णता पाउँछ भन्ने उदाहरण बने उनी।
शिक्षा नपाएकै कारण हाम्रा कैयौं लोककविहरू ओझेलमा परे। कैयौं कलापारखी, सुमधुर स्वरका धनी उतै हराए। कैयौं कलाकार जिन्दगीको सिँढी मजबुत पार्न असमर्थ नै रहे।
शिक्षाको उज्यालो प्रकाशबाट वञ्चित हुनुपर्दैन थियो भने लोककवि चल्ले साई, ठगी महरा, हरिमल विष्ट, गंगाराम बलायर, देउराम बलायर, लङ्गरी खड्कालगायतका कैयौँ स्रष्टा यो देशका अब्बल कविका रूपमा दर्ज भइसकेका हुन्थे।
कैयौं योद्धा देशका इमानदार अगुवा बनेर समयमै झुल्किसकेका हुन्थे। नीति निर्माता र योजनाविद्हरू देखापरिसकेका हुन्थे। समयमै त्यस क्षेत्रको विकास द्रुतगतिमा भइसकेको हुन्थ्यो।
सायद यस्तै कुरा खेले होलान् डा.पन्तको दिमागमा। मनमस्तिष्क रन्थनायो होला कलिलो उमेरमै भारतमा दरवानी गर्न हिँडेका पाइलाहरूले। र त सिर्जना गरे हुनन् सिरानीमा रिखिएका कविताका पंक्ति। त्यस्तै भावनाले गर्दा त जोगी रूप धारण गरेर गाँसे होलान् शैक्षिक योजनाका टपरीहरू।
२०१४ सालअघि पनि हुनेखानेका छोराछोरीले शिक्षा पाएकै थिए। कोही भारततिर गएर पढ्थे त कोही नैपाल (काठमाडौँ) गएर। तर, गरिब सर्वसाधारण परिवारका व्यक्तिले पाएका थिएनन् पढ्ने अवसर। बाजे, बुवा सबै चिकित्सक भएको परिवारमा जन्मिएका डा. पन्त स्वयम् पनि कुशल चिकित्सक थिए।
घरमा बुवासँग, सुसूरालमा ससूरासँग र डोटीको सदरमुकाम सिलगढीमा पण्डित सिद्धराज जोशीसँग प्रारम्भिक शिक्षा हासिल गरेका डा. पन्तले भारतको गोला गोकर्णबाट पूर्वमध्यमा उत्तीर्ण गरे। भारतको लखनउस्थित हीरी आयुर्वेद कलेजबाट पञ्चवर्षीय डिप्लोमा गरे।
पढाइ सकेर फर्केका उनले केही समय आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिए। २००८ सालमा सरकारी सेवामा प्रवेश गरी करिब चार वर्ष स्वास्थ्य सेवामा सेवारत रहे। मनमस्तिष्कमा शैक्षिक योजनाको खाका तयार गरेका डा. पन्तले बझाङमा सेवारत रहेकै बेला सरकारी जागिर राजिना गरी गाउँ फर्की शैक्षिक गोरेटोको नक्सा तयार पारे। उनैले खनेको शैक्षिक गोरेटोमा हजारौंको जिन्दगीको शैक्षिक यात्रा तय भयो।
नेपालको राजकीय स्वास्थ्य सेवामा डोटी, अछाम, बझाङ, डडेल्धुरामा सरकारी चिकित्सकका रूपमा सेवा गरेका डा. पन्त नियमित रूपमा ‘रामचरित मानस’को पाठ गर्दथे भन्नेकुरा सुन्नमा आउँछ।
‘गान्धीवाणी’ नामक पुस्तकको अध्ययनपश्चात् महात्मा गान्धीको विचारबाट निकै नै प्रभावित थिए उनी। २००९ सालमा बझाङमा सरकारी चिकित्सक बनेर काम गर्दा सत्यवादी प्राविलाई निमाविमा परिणत गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए उनले। जुन कुरा पूर्णप्रकाश नेपाल यात्रीद्वारा लिखित पुस्तक ‘सेती अञ्चल दिग्दर्शन’भित्र उल्लेख गरिएको छ।
सरकारी जागिर छोडर केही समय गाउँमै स्वायत्त चिकित्सा सञ्चालन गरी बसेका डा. पन्तको अगुवाइमा २०१४ सालमा महेश रामायणसभाको गठन भयो। भगवान् रामको जस्तो आदर्श र गान्धीको जस्तो सादा जीवन उच्च विचारलाई हृदयङ्गम गरी समाजसेवामा होमिन पुगे उनी।
महेश रामायणसभामा उनकै अगुवाइमा केही प्रबुद्ध व्यक्तिहरू थिए भन्ने कुरा प्रा.डा. यज्ञराज पन्त (देवाटवी, अङ्क ६, २०६७)को लेखबाट थाहा पाउन सकिन्छ। उक्त महेश रामायणसभाद्वारा सञ्चालनमा आएका थिए श्री सीताराम मन्दिर शिवालय, श्री सीताराम प्राथमिक स्कुल, श्री सीताराम संस्कृत माध्यामिक विद्यालय र श्री सीताराम हाईस्कुल।
डोटी उच्चाकोटस्थित हालको रामाश्रम बजार (खौला बजार) र मन्दिर रहेको स्थान वरपर साँझ परेपछि भूतले तर्साउँछ भन्ने मान्यता थियो त्यतिखेर। डोटीको सदरमुकामबाहेक जिल्लाभरि अन्यत्र कहीँ–कतै हाईस्कुल नभएको त्यो समय। चन्दा र श्रमदान शिवाय अन्य कुनै विकल्प नभएको परिवेश। अहिलेको जस्तो यातायातको सुविधा नभएको अवस्था। कम्ता चुनौतीपूर्ण थिएनन् होला ती दिनहरू।
२०१५ सालदेखि २०१९ सालसम्म चार वर्ष घरबार त्यागेर गेरु वस्त्र धारण गरी महेश रामायण सभाद्वारा सञ्चालित संस्थाहरूको सेवा गर्ने प्रतिज्ञा गरी रामाश्रम मन्दिरमै डेरा जमाएर बसेका थिए उनी।
त्यतिखेर पूर्वपट्टी डोटी तिजालीको पेलीगाडदेखि पश्चिममा पर्ने बन्लेकसम्मको भू-भाग दानकोट भनेर चिनिन्थ्यो। सम्पूर्ण दानकोटका समाजसेवी र अगुवाहरूलाई समेटेर, कन्भिन्स गरेर, उनीहरूको मन जितेर, सरसहयोग मागेर गरिएको उक्त कार्य सामान्य सोच वा उच्च बौद्धिक कुशलता नभएको मान्छेको अगुवाइमा सम्भवप्रायः थिएन नै।
पछिल्ला दिनहरूमा महेश रामायणसभासमेत पुनर्गठन भएको छ। मन्दिरमा पाठपूजा गर्ने एक जना पुजारी नियुक्त गर्ने चलन चलेकै छ। सीताराम हाईस्कुल विद्यालय व्यवस्थापन समितिको मातहतमा सञ्चालित छ।
नेपालमा दस जोड दुई कक्षा सञ्चालन गर्ने नीति लागु भएसँगै डा. पन्तकै पहलमा २०४९ सालमै नेपाल सरकारबाट पहिलोपटक कक्षा सञ्चालन गर्ने अनुमति पायो उक्त विद्यालयले। जुन विद्यालय नेपाल सरकारबाट सुदूरपश्चिमको नमुना विद्यालयको रूपमा समेत छनौट भइसकेको छ। त्यसै विद्यालयबाट एसएलसी पास गरेर हुन्, नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि। उक्त विद्यालयका पूर्वविद्यार्थीहरूमध्ये मन्त्री भैसकेकाहरू पनि थुप्रै छन्। साथै डा. इन्जिनियर, प्राध्यापकहरूको सूची निकै लामो बन्न जान्छ।
दस जोड दुईका कक्षा सञ्चालनका लागि वृद्धावस्थामा समेत उनी हातमा रसिदका ठेली बोकेर चन्दा माग्न तराई, पहाड र भारतका विभिन्न सहरमा दौडिरहे। बेलाबखत शिक्षक खोज्नका लागि भारतका विभिन्न स्थानमा यात्रारत रहे।
सीताराम मा.वि.मा अध्ययन गर्न सुदूरपश्चिमका नौवटै जिल्लाबाट आउँथे विद्यार्थी। २०५० सालसम्म सुगम र विकसित ठानिएका तराईका जिल्लाबाट समेत पढ्न आउँथे त्यहाँ। होस्टेलको व्यवस्था थियो, टाढाबाट पढ्न आउनेका लागि। पछिल्ला दिनमा दुई प्रकारका छात्रवास देखा परे। एकदमै कम शुल्क तिरेर आफ्नै खाना खाएर बस्नेका लागि। अर्को– अलि बढी नै शुल्क तिरेर त्यतै नै खानेहरूका लागि।
छात्रबासमा बस्नेहरूले साँझ ६ बजेभित्र खाना खाएर प्रार्थना गर्नका लागि पुगिसक्नुपर्थ्याे चौरमा। १० बजे राति बज्ने घण्टीले सूचित गर्थो सुत्नका लागि। त्यो बिचमा होस्टेल वार्डेनले चियो गरिरहेका हुन्थे को पढिरहेको छ र को सुतिसक्यो भनेर। निद्राले छोपेको चाल पाउनेबित्तिकै पठाइहाल्थे नजिकै रहेको धारामा मुख धुनका लागि। बिहान ४ बजे घण्टी बज्थ्यो। घण्टी बजेको ५ मिनेटभित्रै पुनः पुगिसक्नुपर्ने हुन्थ्यो चौरमा प्रार्थनाका निम्ति। ग्राउन्डमै हाजिर लगाउने चलन थियो। प्रार्थनामा उपस्थित नहुनेले सजाए भोग्नु पर्थ्यो।
समाजसेवाको भावनाले ओतप्रोत डा.पन्तको अगुवाइमा गठन गरिएको महेश रामायणसभाले गरेका कार्यहरू स्तुत्य छन्। समेट्न खोजेको भूगोल व्यापक छ।
कुनै जात वर्ग वर्ण कसैप्रति कुनै भेदभाव नराखी सर्वसाधारण सबैका छोराछोरीलाई शिक्षा दिने सोच राख्नु आफैँमा यौटा क्रान्तिकारी कार्य हो।
पं. परमानन्द पन्त डा.लक्ष्मीकान्त पन्तलगायतका थुप्रै ब्राह्मणहरूले त्यो समयमा हलो जोत्ने अभियान सुरु गर्नुलाई त्यही महेश रामायणसभामा संलग्न व्यक्तिहरूबीच मन्थन गरिएको विचारको प्रतिफल हो भन्दा कुनै अत्युक्ति नहोला। जसका अगुवा थिए तिनै डा. पन्त। जुन समाचार २०३१ साल मंसिर १७ गतेकाे गाेरखापत्रमा छापिएकाे थियाे ।
अहिले प्रत्येक गाउँमा विद्यालय सञ्चालनमा आएका छन्। सोही गाउँका बासिन्दा नै विद्यालय व्यवस्थापन समितिमा छनौट हुन्छन्। तर, विगतमा डा. लक्ष्मीकान्त पन्तको सोच वा परिकल्पनामुताविक नै श्री सीताराम माविको व्यवस्थापन समितिमा डोटीको तिजालीदेखि बन्लेकसम्मका (तात्कालीन पाँचवटा गाउँपञ्चायत) बासिन्दामध्येबाट विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि सदस्य चयन गर्ने परिपाटी चल्दै आएको छ। यसबाट सजिलै बुझ्न सकिन्छ कि शिक्षामा सामुदायिक सहभागिताको सोच त्यतिखेरै आइसकेको थियो।
समुदायमा प्रत्येक घरबाट प्रत्येक दिन एक मुठी चामल अलग छुट्ट्याउन लगाउने गरिन्थ्यो, जसलाई मुष्ठिकान्न भनिन्थ्यो। त्यसरी जम्मा गरिएको मुष्ठिकान्न महिनाको अन्तमा एकठाउँमा जम्मा पारिन्थ्यो। उक्त संकलित अन्न विद्यालय सञ्चालनका प्रयोगमा ल्याइन्थ्यो।
सामुदायिक विद्यालय सञ्चालनका लागि अपनाइएको त्यो योजनालाई मनन् गर्दा त्यतिखेरै अहिलेको खुत्रुकेदेखि सहकारीको अवधारणा तय भइसकेको देखिन्छ। दिनेलाई छाकको एक मुठी चामल छुट्याउनु सामान्य कुरा हो। लिनेलाई त्यस्ता एक–एक मुठी जम्मा गर्दा निकै राहत हुन्छ। फेरि ती मुठी छुट्ट्याउनेकै सन्तानलाई शिक्षा दिन त्यसलाई प्रयोगमा ल्याइन्थ्यो।
पछिल्ला दिनमा यो पंक्तिकारले पढ्दाताका प्रत्यक विद्यार्थीले वैशाखमा चार माना गहुँ र कात्तिकमा चार माना चामल विद्यालयमा बुझाउनु पर्दथ्यो। यस्तो खालको नीति अथवा योजनाले एकातिर विद्यालय सञ्चालनमा केही राहत पुग्थ्यो भने अर्कोतिर दातालाई त्यो संस्था मेरो पनि हो भन्ने सोचाइ पलाउँथ्यो।
दलितवर्गको आर्थिक अवस्थालाई मध्यनजर गरी उनीहरूबाट मुष्ठिकान्न वा चन्दा लिने कार्य गरिँदैनथ्यो। यसरी उठाइएको दान दातव्य र चन्दास्वरूपको रकमबाट शिक्षामा विपन्न र पिछडिएका परिवारको समेत सहभागिता गराउन सजिलो हुन्थ्यो। जुन कुरा राज्यले आजका मितिसम्म बुझ्न सकेको छैन। कैयौँ शिक्षाविद्हरू नीति निर्माताहरूले त्यस विषयमा सामान्य जानकारीसम्म पाउन सकेका छैनन्। अहिलेसम्म त्यो कुराको व्यापक रूपले जानकारी गराउन नसक्नु सबैको कमजोरी हो।
नेपालको शैक्षिक इतिहासमा दर्ज हुनुपर्ने शिक्षा क्षेत्रको एउटा सुन्दर गोरेटो हो दानकोट क्षेत्रको शैक्षिक गतिविधि। जुन गोरेटाका योजनाकार थिए उनै डा. पन्त।
अनि होस्टेमा हैसे गर्दै मन खोलेर सहयोगमा जुटेका थिए तिजाली, लाटामाडौँ, जिजोडामाडौँ र वन्लेकका बासिन्दाहरू। त्यो भेक राष्ट्रियस्तरमै चिनिनुपर्थ्यो, चिनिएन। जति चर्चा हुनुपर्थ्यो त्यति हुन सकेन। कारणहरूको खोजी गर्दै जाँदा धेरै कारण भेटिन सक्छन्।
जे होस् समयको महत्व बोध गराउँदै, आदर्शवान् नागरिक उत्पादनमा जोड दिँदै, नैतिकता स्वाभिमानी र इमानदारीको पाठ सिकाउने विगत र वर्तमानको सुन्दर आँगनको रूपमा प्रस्ट्याउन सकिन्छ रामाश्रम क्षेत्रलाई। महान् थिए र महान् बनिरहनेछन् ती पाइलाहरू जसले चेतनाको फूल फुलाउन सिकाए। सम्पूर्ण दानकोटवासी बुज्रुकहरू जो त्यस शैक्षिक फूलबारीको गोडमेलमा उदार हृदय लिएर हात दिन हौसिए। स्वच्छ सफा अनि पवित्र मन लिएर एकताको सूत्रमा बाँधिए।
आठ छोरा, चार छोरी र श्रीमतीसहितको ठूलो परिवार थियो डा. पन्तको। ती सबैलाई छोडेर लामो समयसम्म गेरु बस्त्र धारण गरी घरबाट झण्डै एक कि.मी. को दूरीमा रहेको सीताराम मन्दिरमा धुनि जगाएर बसे डा. पन्त। त्यो धुनि भावी पिढीको शैक्षिक उन्नतिका लागि थियो। अनि थियो सुदूरपश्चिममै शैक्षिक चेतनाको लहर फैलाउनका लागि। जहाँ परिकल्पना गरिएको थियो दलित र नारीलगाएर शिक्षामा पहुँच नपुगेका तमामको शैक्षिक हितको। डा. पन्तका यी सम्पूर्ण योजना र सफलताका बारेमा थाहा पाएर नै दिएका थिए तत्कालीन बडा हाकिमले उनलाई कदर पत्र।
आशाका त्यान्द्राहरू बोक्न सिक्नुपर्छ जिन्दगीमा। प्रा.डा.डिपी.भण्डारीका शब्द सापट लिएर भन्नु पर्दा– जीवनमा आशावादी हुन नसक्नेहरू मात्र जिन्दगी घिसारिरहेका हुन्छन्। ऊर्जापूर्वक बाँच्न जान्दैनन्। डोटी दानकोटस्थित शैक्षिक फूलबारीका माली डा.लक्ष्मीकान्त पन्तदेखि त्यस पुण्य कार्यमा संलग्न कैयौं मनहरू ऊर्जापूर्वक बाँच्नेहरूको सूचीभित्र समाविष्ट भएका सुन्दर सामाजिक विम्ब हुन्।
समाज परिवर्तनका अगुवा, शैक्षिक आन्दोलनका सुत्रधार आफ्नो कीर्ति छोडेर आजभन्दा १९ वर्ष अगाडि यस धर्तीबाट बिदा भएका डा.पन्तप्रति हार्दिक श्रद्धासुमन।